+
+
Shares

नारायणगढ भरतपुर क्षेत्रमा चारपांग्रे ‘नो पार्किङ’, तीन पांग्रेलाई ‘अंकुश’

सुवास पण्डित सुवास पण्डित
२०७४ असोज १ गते १८:०५

१ असोज, चितवन । अस्तव्यस्त रहेको भरतपुर र नारायणगढ क्षेत्रको पार्किङ व्यवस्थापनलाई सुधार गर्ने काम आजबाट अघि बढाइएको छ । यो काम चितवनमा जेठ पछाडि भित्रिएका तीन पांग्रे सवारी साधनलाई रिङरोडमा निषेध गरेर सुरु गरिएको छ । यसैगरी जेठ अगाडिका तीन पांग्रे गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

भरतपुर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको पहलमा राजमार्ग केन्दि्रत पार्किङलाई केही व्यवस्थापन गरेर सवारीको चापलाई समेत घटाउने प्रयास थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

भरतपुर महानगरपालिकामा बजार व्यवस्थापनसम्बन्धी सर्वपक्षीय बैठकले ६ स्थानमा पार्किङ व्यवस्था मिलाउने निर्णय गरेको थियो । नारायणगढको पुल्चोक क्षेत्रका लागि नारायणी किनारमा, लायन्स चोक आसपासका लागि गणेश चलचित्र हल पछाडिको खाली चौर, भरतपुर आरालोको खाली जमिन, भरतपुर चौविसकोठीका सवारीलाई चितवन माविको खाली जग्गा र जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा पार्किङको व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ ।

भरतपुर महानगरपालिकाले पार्किङ व्यवस्थापनका लागि जग्गा भाडामा खोजेपनि नपाएपछि ‘सार्वजनिक निजी साझेदारी’ मा पार्किङ व्यवस्थापन गर्न लागेको हो ।

झण्डै १ हजार ५ सय सवारी व्यवस्थापन गर्न मिल्ने गरी अस्थायी पार्किङ क्षेत्र तोकेको छ । अहिले नारायणगढको राजमार्ग क्षेत्र बजार नै अस्तव्यस्त हुने गरी सवारी पार्किङ हुँदै आएको छ ।

आजदेखि चार पांग्रे सवारीले चौबिसकोठीबाट भित्र अस्पताल रोड र नारायणगढ बजार क्षेत्रमा रनवेमा पार्किङ गर्न पाउने छैनन् । मोटरसाइकल भने बजारको फुटपाथमा रोड मार्किङ भित्र नै पार्किङ गरिनेछन् ।

महानगरपालिकाले असोज १ गतेदेखि नै तोकिएका स्थानमा पार्किङ नभए कारबाही गर्ने जनाएको छ ।

महानगरपालिकाले ३० दिने र १५ दिने सार्वजनिक सूचनामार्फत जग्गा खोजी गरेपनि एउटा पनि संस्था वा व्यक्तिले आवेदन नदिएपछि महानगरपालिका निजी साझेदारी मोडलमा गएको हो । रिङरोड आसपास करिब ५ सय मिटर भित्रसम्म महनगरपालिकाले तीन स्थानमा गरी १३ कठ्ठासम्म जग्गा खोजी गरेको थियो ।

यो महानगरको अस्थायी व्यवस्थापनको प्रयास भएको महानगरका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

स्थानीय व्यवसायी दिनेशकुमार चुकेले अस्तव्यस्त पार्किङ समाधानका लागि निजी क्षेत्रसँग महानगरले सहकार्य गरेको बताए ।

भरतपुर महानगरपालिका मेयर रेणु दाहालले बजार व्यवस्थापन गर्न चूनौती भएकाले सुरुमै ट्राफिक व्यवस्थापनको काम सुरु गर्न लागेको बताइन् ।

तीन पांग्रे माथि अंकुश

भरतपुर महानगरपालिकाले जेठयता भित्रिएका तीन पांग्रे सवारीलाई चक्रपथमा क्षेत्रमा गुड्न आजबाट निषेध गरेको छ । यस्ता सवारी साधनहरु महानगरको चक्रपथ क्षेत्रमा गुड्न पाउने छैनन् । यसमा अधिकांश अटोरिक्सा छन् ।

वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति लिई गएको जेठदेखि चितवनमा सञ्चालनमा आएको तीन पांग्रे सवारीलाई आगामी असोज १ गतेदेखि लागू हुने गरी रिङरोडमा निषेध गर्ने निर्णय भएको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

निर्णय अटेर गर्नेलाई सामान जफत गरी कारबाही गर्ने चेतावनीसमेत महानगरले दिएको छ । यसको अटोरिक्सा चालकहरुले विरोध गरेका छन् । तीन पांग्रेलाई जोरविजोर प्रणाली लागू गरेको बिरोधमा आज नारायणगढ बजार क्षेत्रमा त्यसका चालकहरुले प्रदर्शन गरेका छन् ।

आफूहरुको रोजीरोटी खोस्न महानगरपालिका लागेको भन्दै त्यसको अवज्ञा गर्ने उनीहरुले चेतावनी दिएर र्‍याली समेत निकालेका छन् । जेठयता आएका तीन पाङग्रेलाई चक्रपथमा प्रवेश नदिने र त्यसअघि आएका तीन पांग्रेलाई जोर बिजोर प्रणालीमा चलाउन दिने ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए । ‘आज पहिलो दिन भएकाले कारार्वाही नगराई सचेतना मात्रै दिइयो,’ ट्राफिक प्रहरी प्रमुख पन्तले भने, ‘यसलाई कडाई गर्दै लगिनेछ ।’

नारायणगढ भरतपुर क्षेत्रमा अधिकांश सवारी दुर्घटना यिनै तीन पांग्रे सवारीका कारण भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख पन्तका अनुसार पटक-पटक पत्राचार गरेर तीन पांग्रेलाई नपठाउन आग्रह गर्दा पनि जेठपछि धमाधम ती सवारी आएकाले यस्तो निर्णय गरिएको हो ।

चितवनको भरतपुर बसपार्क, बाइपास रोड, आँपटारी, नारायणगढ, चौविसकोठी, हाकिमचोक हुँदै चल्ने सवारीलाई चक्रपथमा चल्ने भनिन्छ । भरतपुर-नारायणगढ क्षेत्रमा झण्डै १ हजार ५ सय अटोरिक्सा, १ हजार विद्युतीय रिक्सा सञ्चालनमा छन् । तत्कालिन अवस्थामा सञ्चालनमा रहेका ३ वटा पैडल रिक्सा बराबर १ विद्युतिय रिक्सा सञ्चालन गर्ने सहमति अनुसार विद्युतीय रिक्सा भित्रिएका थिए ।

नाकाबन्दी पछि अटोरिक्साको संख्या हृवात्तै बढेको थियो । महानगरपालिकाले जेठ ५ गते नै वीरगञ्ज यातायात कार्यालय र भरतपुर कार्यालयमा आवश्यकता भन्दी बढी तीन पांग्रे सवारी भित्रिएको भन्दै बाटो इजाजत नदिन अनुरोध गर्दै पत्राचार गरेको थियो ।

महानगरपालिकाले बजार क्षेत्रको निश्चित स्थानमा पार्किङको व्यवस्था गर्ने, चक्रपथभित्र जोर बिजोर प्रणालीमा तीनपांग्रे सवारी सञ्चालन गर्ने, अर्काे व्यवस्था नभएसम्म ठेला व्यवसायलाई कालोपत्र सडक क्षेत्रमा राख्न नदिने, व्यापारीलाई आफ्नो पसलभन्दा बाहिर सामान राखेर व्यवसाय गर्न नदिने भएको छ ।

चितवनको भरतपुर नारायणगढ क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा अस्तव्यस्त बनेको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?