Comments Add Comment

‘एमालेले माओवादीलाई निल्न खोजेको होइन’

‘अब नेपालमा एउटै कम्युनिस्ट पार्टी बन्छ, कांग्रेसले आफ्नो व्यवस्था गरे हुन्छ’

२० असोज, काठमाडौं । एमाले र माओवादी एकताका एक सूत्रधार हुन् विष्णु पौडेल । लो प्रोफाइलमा बसेर पार्टी नेतृत्वको विश्वासमा काम गर्ने स्वभावका एमाले उपमहासचिव पौडेल वामदेव गौतमसँग मिलेर निरन्तर १० वर्षदेखि यो अभियानमा थिए ।

एकताका मुख्य सूत्रधार भएकै कारण दुवै पार्टीको कार्यदलमा उनलाई पनि सदस्य राखिएको छ । पौडेलकै पहलमा हृदयेश त्रिपाठीसहित प्रदेश ५ का राजपाका नेताहरु पनि सूर्य चिन्ह लिएर उम्मेदवार बन्न तयार भइसकेका छन् । पछिल्लो गठबन्धनका एक खेलाडी पौडेलसँग अनलाइनखबरले गरेको कुराकानीः

पहिले माओवादी ठूलो पार्टी हुँदा उसले एमालेलाई सके निल्ने नसके मिल्ने रणनीति बनाएको थियो, अहिले एमाले ठूला भएको बेला माओवादीलाई निल्न खोजेको चर्चा भइरहेको छ, वास्तवमा निलेको हो कि मिलेको हो ?

यो निल्ने र मिल्ने प्रश्नै होइन । एमालेले कहिल्यै कसैलाई निल्न खोजेको थिएन । अहिले हामी पर्याप्त छलफलपछि पार्टी एकता गर्ने निर्णयमा पुगेका छौं । त्यसैले एमालेले माओवादीलाई निल्न खोज्यो भन्ने कुरा गलत हो । एमाले र माओवादीबीच बिगत १० वर्षदेखि पार्टी एकताका प्रयास भइरहेको थियो, त्यो प्रयास अहिले सार्थक भएको छ । हामी अहिले चुनावी तालमेलबाट एकीकरणको आरम्भ गर्दैछौं ।

चुनावी तालमेललाई सहज बनाउनका लागि मात्र पार्टी एकीकरणको कुरा गरेर पार्टी पंक्तिलाई आश्वस्त पार्न खोजिएको आशंका पनि छ नि ?

यो त झनै केटाकेटी कुरा भयो । पार्टी एकीकरण संयोजन समिति समेत गठन भइसकेको छ । दुवै पार्टी एउटै घोषणापत्र लिएर चुनावमा जाँदैछन् । पार्टीको विधान र घोषणापत्र मस्यौदा समिति बनिसकेको छ । हामी यही चुनावमा एउटै नेपाल कम्युनिस्ट पार्टीको नाममा सूर्य चिन्ह लिएर चुनाव लड्ने निष्कर्षमा पुगेका हौं । तर, कानुनी र प्राविधिक कारणले अहिले एउटै चिन्ह लिएर लड्न नमिलेका कारण मात्र चुनावपछि पार्टी एकीकरण हुने भएको हो ।

पार्टी एकीकरणपछि पार्टीको नेतृत्व कसले गर्छ अनि प्रधानमन्त्री को बन्छ ? यो पनि त सहमति भएको होला नि ?

अहिले हामीले पार्टी एकता संयोजन समिति बनाएका छौं । केपी ओली र प्रचण्ड दुवै प्रमुख नेता हुनुहुन्छ । एकीकरणपछि को अध्यक्ष बन्ने भन्ने कुरा अहिले तय भएको छैन ।

तर, यति बुझ्नुस् नेतृत्वको विवाद हुने छैन । ओली र प्रचण्ड दुई पार्टीका अध्यक्ष हुनुहुन्छ । एमाले, माओवादी र नयाँशक्ति पार्टी मिल्दा हाम्रो पार्टीमा पाँच जना त भूतपूर्व प्रधानमन्त्री नै हुनुहुनेछ । भविष्यका प्रधानमन्त्रीको बारेमा हामीलाई कुनै समस्या नै छैन ।

कांग्रेसले माओवादीसँग तालमेल गर्ने देखेर एमाले आत्तिएर ६०/४० को प्रस्तावमा पुग्यो, खासमा ०७० को संविधानसभा चुनाव र ०७४ को स्थानीय तहको चुनावी परिणामअनुसार माओवादीको हैसियत ४० प्रतिशत होइन भन्ने टिप्पणी पनि भइरहेका छन् नि ?

त्यस्ता टिप्पणी हाम्रो पार्टीभित्रबाट होइन, एकता भाँड्न चाहनेहरुबाट भएका होलान् । एमाले कार्यकर्ताले भन्थे भने तपाईंलाई भन्दा पहिले मलाई भन्थे । चुनावी तालमेलका सन्दर्भमा हामीले लामो छलफलपछि टुंगो लगाएको विषय हो ।

हामी पश्चदर्शी भएर चल्दैनौं । अगाडिका सम्भावना र चुनौति हेरेर अघि बढ्छौं । हामी ०७० को चुनावमा कसले कति प्रतिशत जित्यो ? ०६४ मा कसले जित्यो भन्दै ०१५ को चुनावमा पुग्न चाहदैनौं ।

यो चुनावी तालमेल मंसिर ०७४ को निर्वाचनका लागि हो । हामी सामान्य बहुमत होइन दुई तिहाई बहुमतका लागि काम गरिरहेका छौं ।

बाबुराम भट्टराई र हृदयेश त्रिपाठीहरुले पाउने सिट पनि एमालेको ६० प्रतिशतबाटै हो ?

यसबारेमा हामीले ठोस मोडालिटी बनाउनेछौं । हाम्रा नेताहरुले अस्ति पनि भनिसक्नुभएको छ । यो गठबन्धनमा वामपन्थी, देशभक्त शक्ति र समूहहरु आउन सक्छन् । उनीहरुलाई पनि सामेल गराउँदै बाँकी रहेका सिटमा ६०/४० गर्ने भनेको हो ।

तालमेलमा माओवादीले बढी पायो भन्ने कुराले एमालेमा असन्तुष्टि नै छैन त ? जबकि, एकताको कुराले माओवादीमा कतिपय नेताले विद्रोह गर्ने भनिसके होइन र ?

एमालेमा यो चुनावी तालमेल र पार्टी एकीकरणबारे कुनै असन्तुष्टि वा विवाद पटक्कै छैन । १५ असोजको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षले उहाँ र प्रचण्डबीच भएको सम्झौता पढेर सुनाउँदा बैठकले अत्यन्त उत्साहका साथ त्यसलाई अनुमोदन गरेको छ । केन्द्रीय कमिटी बैठकले नै अहिलेको सत्ता गठबन्धन मुलुकका लागि अनुपयुक्त र घातक भएकाले माओवादीसँग छलफल गर्न म्यान्डेट दिएको हो ।

स्थानीय तहको चुनावमा कांग्रेस माओवादी तालमेलका कारण कतिपय ठाउँमा तपाईंहरु पराजित भएकाले पनि यसपटक माओवादीलाई कांग्रेसबाट खोस्न खोज्नुभयो, होइन ?

यो खोस्ने वा तान्ने भन्ने कुरै होइन । तपार्इंहरुले यति हल्का रुपमा लिइदिनुभएन । यो भनेको सामान्य चुनावी तालमेल मात्र होइन । यो त नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने कुरा हो । ०६३ सालदेखिको निरन्तर छलफल र प्रयासबाट आज हामी एउटै पार्टी बनाउने विन्दुमा पुगेका छौं ।

जहाँसम्म कांग्रेस–माओवादी तालमेलको कुरा छ, त्यो कति सफल, असफल भयो उहाँहरुले मूल्यांकन गर्ने कुरा हो । कांग्रेससँगको तालमेल माओवादीका लागि कति लाभदायी भयो यो अलग कुरा हो । तर, अब हामी तालमेल हुँदै एकीकरणको बाटोमा बढेका छौं । कांग्रेससँगको तालमेल अप्राकृतिक थियो, हामीले माओवादीलाई भनेका थियौं ।

तपाईंहरुले त कांग्रेस–माओवादी तालमेल हुँदा पनि आम रुपमा देशभरिको स्थानीय तह निर्वाचनमा पहिलो बन्नुभएकै थियो, अहिले किन डराउनुभयो ?

यो एकता डराएर भएको होइन । समय र मुलुकको आवश्यकताका आधारमा भएको हो । अब नेपाल आर्थिक समृद्धिको बाटोमा जानुपर्छ, त्यसको नेतृत्व एकीकृत कम्युनिस्ट पार्टीले गर्छ ।

जहाँसम्म स्थानीय चुनावको कुरा छ, नेपालको इतिहासमा २०४७ पछिको अवस्था हेर्दा स्थानीय चुनावमा जुन पार्टी सरकारमा छ, त्यसले जित्ने गरेको छ । मदन भण्डारीजस्तो लोकिप्रय नेताको नेतृत्वमा चुनावमा जाँदा पनि ०४९ को स्थानीय चुनावमा हामी पराजित भयौं । कांग्रेसले करिब–करिब स्विप गरेको हो ।

२०५४ सालमा एमाले सरकारमा थियो, उपप्रपधानमन्त्री भए पनि वामदेव गौतम प्रधानमन्त्रीकै हैसियतमा हुनुहुन्थ्यो । हामीले स्थानीय चुनावमा क्लिन स्विप नै गरेका हौं । तर, यसपटक विल्कुल फरक देखियो । कांग्रेस र माओवादी सरकारमा छन् । उनीहरुले एमालेविरुद्ध तालमेल पनि गरेका छन् । एमाले प्रतिपक्षमा छ ।

चुनावमा एमालेले जित्यो, पहिलो दल भयो । वास्तवमा यो चिजको अहिलेसम्म नेपालमा व्याख्या विश्लेषण भएको छैन ।

यसको मतलव माओवादी र एमाले मिलेर जाँदा त कांग्रेसलाई निकै तल पार्न सकिन्छ भन्ने हो ?

हामीले यो गठबन्धन वा एकता कांग्रेसविरुद्ध गरेको होइन । मुलुकको पक्षमा गरेको हो । स्थानीय चुनावमा त कांग्रेसले एमालेविरुद्ध गठबन्धन गर्न कुनै पनि दल बाँकी राखेन ।

तर पनि, उसले जित्न नसकेपछि माओवादीले एक खालको समीक्षा गरेको हुनुपर्छ । कांग्रेसले कतिपय जिल्ला माओवादीसँग वा एक वा दुई दलसँग मात्र होइन, आठ वटा दलसँग मिलेर एमाले हराउन खोजेको हो । महागठबन्धनको प्रयास नै गरेको हो । तर, कांग्रेसको महागठबन्धनलाई स्थानीय चुनावले नै परास्त गरिसकेको छ ।

कांग्रेसले बनाउन लागेको लोकतान्त्रिक गठबन्धनलाई इंगित गर्नुभएको हो ?

मैले त्यसो भनेको छैन । विचार मिल्ने दलहरु मिल्नु राम्रो हो । त्यसमा हाम्रो कुनै टिप्पणी छैन । तर, कांग्रेसको महागठबन्धन यसअघि नै एमालेसँग पराजित भइसकेको अनुभवका आधारमा मैले भनेको हो ।

कांग्रेसले इतिहासका विरलै पोलिसी डिपार्चर गरेको छ । पुष्पलाल र बीपी कोइराला बनारसमा एउटै टोलमा बस्थे, चिया सँगै खान्थे । तर, बीपीले कम्युनिस्टसँग मिलेर पञ्चायतविरुद्ध संघर्ष गर्न कहिल्यै मानेनन् । पछि ०४६ मा गणेशमानले हिम्मत गरेर कम्युनिस्टसँग मिलेर आन्दोलन गर्दा सफल भयो । कांग्रेसमा यो पहिलो पोलिसी डिपार्चर थियो ।

दोस्रो डिपार्चर गिरिजाप्रसाद कोइरालाले एमालेको दबावमा गरे, कांग्रेसलाई गणतन्त्रमा लगेर । तेस्रो डिपार्चरचाहिँ शेरबहादुर देउवाले गरेका हुन्, यसपटक । कांग्रेसको इतिहास हेर्ने हो भने आम रुपमा ऊ सधैं एक्लै चुनाव लड्ने गरेको हो ।

कांग्रेसले कसैसँग तालमेल गर्नु हुँदैन भन्थ्यो । तर, यसपटक उसले कम्युनिस्टसित पनि चुनावी तालमेल गरेर लड्यो । केन्द्रबाट नीति नै बनाएर तालमेल गरेको भनेको पोलिसी डिपार्चर नै हो । त्यसैले कांग्रेसले अब कोसँग गठबन्धन गर्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । हामी कम्युनिस्टहरु अब मिल्यौं, कांग्रेसले पनि आफ्नो व्यवस्था गरे हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment