+
+

यसरी हुँदैछ प्रदेश १ मा माओवादी र एमालेवीच भागवण्डा

माओवादीको दाबी केन्द्रमा ८, प्रदेशमा १९

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३१ गते २०:३०

३१ असोज, काठमाडौं । प्रदेश नम्बर १ अन्तरगत पर्ने १४ जिल्लामा चुनावी तालमेलबारे एमाले र माओवादी सहमति नजिक पुगेका छन् । माओवादीले प्रतिनिधिसभामा ८ सीट मागेकोमा ५ वटामा सहमति भएको छ भने २ वटामा हुन बाँकी छ । प्रदेशतर्फ पनि केही सीटमा सहमति हुन बाँकी छ ।

प्रदेश नम्बर १ अन्तरगत प्रतिनिधिसभामा २८ सीट छन् भने प्रदेश सभामा ५६ सीट छन् । यीमध्ये माओवादी केन्द्रले केन्द्रमा ८ सीट र प्रदेशमा १९ सीटमा मागदाबी गरेको छ ।

झापा क्षेत्र नम्बर २ मा पूर्वसञ्चारमन्त्री राम कार्कीलाई छाड्नुपर्ने माओवादीको मागमा एमाले अझै सहमत भएको छैन

मंगलबार बिहानसम्म भएको छलफलमा माओवादीलाई प्रदेशसभामा १६ सीट दिन एमाले तयार भएको छ भने केन्द्रमा ५ सीट दिन एमाले तयार देखिएको छ । तर, माओवादीले केन्द्रमा ८ र प्रदेशमा १९ सीटको दाबी छाडेको छैन ।

कहाँ मिल्यो, कहाँ मिलेन ?

झापाः अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार झापा क्षेत्र नम्बर ४ माओवादी नेतृ धर्मशीला चापागाईलाई छाड्न एमाले तयार भएको छ । तर, झापा क्षेत्र नम्बर २ मा पूर्वसञ्चारमन्त्री राम कार्कीलाई छाड्नुपर्ने माओवादीको मागमा एमाले अझै सहमत भएको छैन ।

प्रदेशसभा अन्तरगत झापा क्षेत्र नम्बर १ को क र २ नम्बर क्षेत्रको ख माओवादीले पाउने भएको छ । बाँकी दुई प्रदेशसभामा माओवादीको दाबी छ ।

मोरङः कुल ६ वटा निर्वाचन क्षेत्रहरु रहेको मोरङमा माओवादीले सुरुमा ३ वटा क्षेत्र आफूले पाउनुपर्ने दाबी गरेको थियो । तर, अन्ततः उसले १ नम्बर क्षेत्रबाट पछि हट्ने संकेत दिएको छ ।

मोरङको क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डललाई सधाउन एमाले तयार भएको छ ।

माओवादीले मोरङको क्षेत्र नम्बर ३ मा पनि आफ्नो दाबी प्रस्तुत गरेको छ । त्यहाँ माओवादीका तर्फबाट शावित्रीकुमार काफ्ले उम्मेदवार बन्दैछन् । तर, एमालेले ३ नम्बर क्षेत्र माओवादीलाई छाड्न मानेको छैन । यो क्षेत्रबाट एमाले नेता भानुभक्त ढकाल लगायत धेरैजनाको दाबी रहेकाले माओवादीलाई छाड्न एमाले नेताहरु अन्कनाएका हुन् ।

मोरङको १ नम्बर क्षेत्रमा माओवादीका कुशल लिम्बु उठ्ने चर्चा थियो । तर, यो क्षेत्रमा पनि कुरो मिलिसकेको छैन । ३ नम्बरमा शावित्रीले पाए एक नम्बर एमालेले पाउने स्रोतले बतायो । तर, एमाले अझैसम्म ३ नम्बर छाड्ने पक्षमा छैन ।

प्रदेश अन्तरगत मोरङका १२ वटा क्षेत्रमध्ये माओवादीले १ (क), ४ (क) र ५ (ख) पाउने भएको छ भने अर्को एउटा प्रदेशसभा सीटमा कुरो मिल्न बाँकी छ ।

सुनसरीः कुल ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा एउटा अर्थात् ४ नम्बर क्षेत्र माओवादीलाई दिन एमाले सहमत भएको छ । प्रदेशसभाका ८ सीटमध्ये माओवादीले प्रदेश १ (क) र २ (क) पाउने भएको छ ।

उदयपुरः दुईवटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा माओवादीले एउटा पाएको छ । क्षेत्र नम्बर १ माओवादीले पाएको छ भने क्षेत्र नम्बर २ मा उसले एमालेलाई सघाउने संयुक्त कार्यदलमा सहमति भएको छ ।

प्रदेशसभातर्फ २ (ख) माओवादीले पाउने सहमति भएको छ भने १ (क) र २ (क) मा कुरा मिल्न बाँकी छ ।

प्रतिनिधि सभामा एक/एकवटा मात्रै सीट रहेका जिल्लाहरु ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा र खोटाङमा माओवादीले एमालेलाई सघाउने सहमति बनेको स्रोतले अनलाइनखबरलाई बतायो । ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईलाई माओवादीले सघाउने भएको छ ।

त्यसैगरी एक सीट मात्रै रहेको भोजपुरको प्रतिनिधिसभाको सीट माओवादीले पाएको छ । सोलुखुम्बुको एक सीट पनि आफूले पाउनुपर्ने माओवादीले बताएको छ । तर, त्यहाँ अझैसम्म कुरा मिलिसकेको छैन । सोलुखुम्बु आफूले नपाएओखलढुंगा पाउनुपर्ने माओवादीको माग छ ।

प्रदेशसभा अन्तरगत माओवादीले ताप्लेजुङ १ (क) र पाँचथर १(ख) पाएको छ । त्यसैगरी इलामका ४ वटा प्रदेश सीटमध्ये माओवादीले २ (ख) पाएको छ । संखुवासभाको १(क) र भोजपुरको १(क) माओवादीले पाएको छ । त्यस्तै खोटाङको २ (ख) र सोलुखुम्बुको १(क) माओवादीको भागमा परेको छ ।

ओखलढुंगाको १(ख) र तेह्रथुमको १(ख) पनि माओवादीले पाएको छ । धनकुटामा भने प्रदेशसभाको १(क) आफूले पाउनुपर्ने माओवादीको मागलाई एमालेले स्वीकार गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?