३१ असोज, काठमाडौं । सरकारबारे छलफल गर्न मंगलबार बिहान बालुवाटार पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय मन्त्री खाएर सरकारमा बस्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाको यस्तो चेतावनीपूर्ण आग्रहपछि प्रचण्ड आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निश्कर्षमा पुगेका हुन् ।
यसअघि माओवादीले सरकार नछाड्ने निर्णय गरेको थियो । तर, देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएर विना विभागीय बनाइदिने धम्की दिएपछि माओवादी केन्द्र सरकारबाट बाहिरिने निश्कर्षमा पुगेको हो ।
देउवासँगको छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग आन्तरिक छलफल गरेका छन् ।
उता बालुवाटारबाट बाहिरिएका प्रचण्डले कस्तो निर्णय गर्लान् भनेर प्रधानमन्त्री देउवा जिज्ञासु बनेको स्रोतले बतायो । माओवादी मन्त्रीहरु सरकारबाट हटेको खण्डमा कमल थापालाई गृहमन्त्री बनाएर अन्य मन्त्रीलाई पनि जिम्मेवारी तोक्ने हतारोमा छन् प्रधानमन्त्री देउवा । माओवादी सरकारबाट नहटेको खण्डमा देउवालाई अप्ठ्यारो पर्ने देखिन्छ ।
अब माओवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो कि हैन ? यसबारेमा जिज्ञासा राख्दा एक माओवादी नेताले भने- ‘मन्त्रीहरुलाई फिर्ता बोलाइएको विज्ञप्ति तयार हुँदैछ ।’
प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरुलाई विना विभागीय घोषणा नगर्दै सरकार छाड्न लागेको माओवादी नेताले बताए ।
अल्मलियो माओवादी
सरकारमा रहने वा छाड्ने भन्नेबारे माओवादी केन्द्रका नेताहरुले एक साताभित्र विभिन्नखाले अभिव्यक्ति दिएका छन् । सुरुमा माओवादीले चुनाव गराउनका लागि सरकार नछाड्ने अडान राखेको थियो ।
यो अवस्थामा प्रधानमन्त्रीले विनाविभागीय बनाउने त्रासले उसले सरकार छाड्ने निर्णय गरेको छ ।
तर, माओवादी नेताहरु बारम्बार भनिरहेका छन् कि यो सरकारलाई आफूहरुको समर्थन यथावत छ ।
प्रधानमन्त्रीले राप्रपालाई सरकारमा ल्याएर आफूहरुलाई प्रतिस्थापन गरिसक्दा पनि माओवादी नेताहरुले सरकारलाई समर्थन जारी छ भनेका छन् । जबकि संसद विघटन भएको अवस्थामा देउवा सरकारलाई अब कुनै दलको समर्थन जरुरी छैन ।
तथापि सत्तापक्षसँग गठबन्धन गरिरहेका बेला प्रतिपक्षीसँग तालमेल र गठबन्धन गर्न पुगेको माओवादीका लागि सरकारमा बसिरहनु नैतिक विषय बन्न पुगेको छ ।
प्रतिक्रिया 4