+
+
Shares

पोखराका मेयर भन्छन्- मलाई असफल बनाउन खोजियो

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ कात्तिक ९ गते १३:२८

९ कात्तिक, पोखरा । पोखरा-लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फेवाताल किनारमा निर्माण गरिएका फुट ट्रयाकमा गरिने बन्द व्यापार हटाउने उद्घोष गरेका छन् ।

नागरिक समाज पोखराले विहीबार महानगरपालिका कार्यालयको सभाहलमा आयोजना गरेको ‘महानगरका प्रमुखसँग साक्षात्कार’ कार्यक्रममा बोल्दै उनले फेवातालको किनारमा ब्यापार गर्दा फेवाताल फोहोर भएकाले त्यहाँ शील नै गर्नुपर्ने धारणा राखे ।

प्रमुख जिसीले भने, ‘ताल किनारमा चटपट, पानीपुरी, बदाम बेच्नेको भीड हुने गरेको छ, त्यसले फेवाताललाई फोहोर बनाएको छ ।’ ब्यापारलाई शील गरेपनि फुट ट्रयाकमा मान्छे भने हिंड्न दिइने उनले प्रष्ट्याए ।

मेयर जिसीले केहि व्यक्ति र शक्तिहरुले आफूलाई असफल बनाउने प्रयास गरिरहेको गुनासो गरेका छन् ।

नियतवश नै मानिसहरुले सफा ठाउँमा पनि फोहोर थुपार्ने, भइसकेको कामपनि बिगार्नेलगायतका काम गर्ने गरेको र त्यो आफूलाई असफल पार्ने प्रयास स्वरुप भइरहेको उनको भनाई थियो ।

महानगर प्रमुख जिसीले ढुवानीका सामान ओसारपसार गर्ने सवारी साधन पार्किङ गर्नका लागि बसपार्क र सडक नबनाउने बताए ।

उनले भने,’कसैका सामान ढुवानी गर्ने सवारी साधन पार्किङ गर्नका लागि बसपार्क र सडक बनाएको होइन र बनाइन्न पनि, त्यस्ता सवारीसाधनका धनीले आफ्नै घर र भवनमा पार्किङ स्थल बनाउनुपर्छ, राज्यले गर्दिने हैन ।’

मेयर जिसीले महानगरमा जनसंख्या बढ्दा फोहोरको मात्रा पनि बढेको र तर फोहोर उठाउने जनशक्ति र श्रोतसाधन उही हुँदा व्यवस्थापनमा समस्या हुनेगरेको बताए ।

मेयर जिसीले फोहोरलाई मोहरमा बदल्न रिसाक्लिङ प्रविधि अपनाउनुपर्नेमा जोड दिए । उनले दीर्घकालिन समाधान, ब्यबस्थापन र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

जिसीले महानगरमा भएका घट्नाको सबै जिम्मेवारी महानगरपालिका कार्यालयले लिन नसक्ने बताए । केहि दिनअघि लामाचौर भन्दा केहि तल सुन्दरफिडस्थित नालीमा ज्यान गएको कुरा उप्काउँदै उनले भने, ‘५/मिटर रगडिदै नालीमा खसेको देखिन्छ, बाइक चलाउनेको आफ्नो बाइक पनि हैन, लाइसेन्स पनि छैन, महानगरमा भीर पनि पर्छ, भोलि भीरबाट झरेर कोहि मर्ला, ती सबैको जिम्मेवारी महानगरले लिन सक्दैन ।’

प्रमुख जिसीले हप्ता उठाउने टोले गुण्डाहरुलाई आफूले तह लगाउने बताए । उनले टोले गुण्डाहरुले हप्ता उठाउने गरेको गुनासो सुनेको भन्दै त्यस्तो भए किटानी जाहेरी दिन आग्रह गरे ।

जिसीले न्यूरोडलाई नमूना क्षेत्र घोषणा गरेर त्यहाँ हरियाली बनाउने योजना बनिरहेको जानकारी गराए । कम्तिमा ७/८ फुटको विरुवा रोपेर त्यसको संरक्षण गर्ने योजना बनिरहेको उनको भनाई थियो । त्यसपछि अन्य क्षेत्रमा बिस्तार गरिने उनले बताए ।

कार्यक्रममा नागरिक समाज पोखराले पोखरामा बढ्दै गएको फोहोर र विकृति विसंगतिले पोखरा कुरुप बन्दै गएको भन्दै त्यसप्रति महानगरलाई जिम्मेवार बन्न आग्रह गरेको थियो । समाजका संयोजक रामबहादुर पौडेलले सरसफाई अभियान चलिरहेपनि महानगरबासीमा चेतनाको अभाव हुँदा पुनः जस्ताको तस्तै फोहोर बन्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?