Comments Add Comment

कांग्रेसको लक्ष्यः चुनाव रोक्ने कि कम्युनिस्टको बहुमत छेक्ने ?

चुनावबाट कांग्रेस नभाग्ने यी हुन् ४ प्रमुख कारण

काठमाडौं । शनिबार बिहान कांग्रेसका एक प्रभावशाली नेताको घरमै चिया पिउने निम्तो मान्न पुगियो । उनले लामो कुराकानीका क्रममा भने- कांग्रेसले चुनाव सार्न खोज्दैछ भन्ने कम्युनिस्टहरुको स्यालहुँइया मात्र हो, चुनाव सारेर वा टारेर सबैभन्दा घाटा हामीलाई नै हुन्छ, त्यो आत्मघाती बाटोमा हामी किन जान्छौं ?

सर्वोच्च अदालतको एउटा आदेशबाट आत्तिएर दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल अल्फा हाउसको पत्रकार सम्मेलनमार्फत धम्कीपूर्ण शैलीमा प्रस्तुत भएकोमा कांग्रेस नेता भित्रभित्रै मुर्मुरिएका रहेछन् ।

कुराकानीकै सिलसिलामा उनले भने- कम्युनिस्ट अधिनायकवादको धुँवा त्यही पत्रकार सम्मेलनबाट पुत्पुतायो । तर, पनि हामी तराईमा मधेसवादी दललाई धेरै सिट दिएर भए पनि कम्युनिस्टको बहुमत रोक्न जोसँग पनि सम्झौता गर्न तयार भइसकेका छौं ।

प्रचण्ड कृतज्ञ भए कि कृतघ्न ?

कांग्रेस नेताले यसो भनिरहँदा सुनसरी १ मा अशोक राईलाई छाडेर बाँकी सिट सुरक्षित गर्ने कांग्रेसको रणनीति चुहिँदै थियो । सरकारले छठको विदामा एक दिन थप्दा समेत चुनाव सार्ने षडयन्त्रको आशंका गर्ने वाम जनमतलाई रोक्न कांग्रेसले उदारतापूर्वक सानातिना दलहरुलाई पनि सिट छाड्ने तर कम्युनिस्टलाई जित्न नदिने रणनीति बनाएको प्रष्टै बुझ्न सकिन्छ ।

कांग्रेसको निर्णय तहमा रहेका ती नेताले भनेको अर्को कुरा पनि मननयोग्य छ । उनले भने- नेपाली राजनीतिमा माओवादीको यो अन्तिम एपिसोड हो । स्थानीय चुनावमा हामीले प्रयोग गर्न खोज्यौं । शेरवहादुर दाइले भरतपुरमा रेणुलाई जिताउन राज्यका अंगहरु पनि प्रयोग गर्नुभयो । यो गुनबाट प्रचण्ड आउने चुनावसम्मै मिल्छन् भन्ने उहाँको अनुमान फेल खायो । भरतपुर प्रकरणबाट चोट व्यहोरेको एमालेले माओवादीलाई यस्तो गरी हामीबाट खोस्यो कि, त्यो झड्काले अहिलेसम्म हाम्रो नेतृत्व फर्ममा आउन सकेको छैन । हिसाब-किताब गरेर प्रचण्डले साथ छाडे ।

वास्तवमा भरतपुर प्रकरणले नेपालमा वामपन्थी गठबन्धनका लागि आधार तयार गरेको थियो । छोरीलाई मेयर जिताइदिन जायज/नाजायज सबै हतकण्डा प्रयोग गरेका देउवाले त्यसपछि प्रचण्ड आफूप्रति सधैं कृतज्ञ हुने विश्वास लिएका थिए होलान् ।

तर, त्यही काण्डमा आफू अदालत र निर्वाचन आयोगबाट समेत पेलिनु परेको एमालेले कांग्रेस माओवादी गठबन्धन टुटाउने खेल शुरु गर्‍यो ।

मध्य दशैंमा कांग्रेस नेताहरु मस्त रहेका बेला जुन सरप्राइज ओली र प्रचण्डले दिए, त्यसपछि देउवाले भनेछन्- प्रचण्ड मान्छे कृतघ्न हुन् । र, त्यही दिनबाट शुरु भएको हो, कांग्रेस चुनावबाट भाग्छ भन्ने आशंका र हल्ला ।

कांग्रेस चुनावबाट नभाग्ने ४ आधार

मतदानको लाइनमा बसिसक्दा समेत चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका गरिरहनुपर्ने मुलुक नेपाल नै भएकाले मंसिर १० को चुनावका बारेमा आशंका कायम रहनु स्वाभाविक कुरा हो । तर, केही यस्ता कारण र तर्क छन्, जसको बलमा भन्न सकिन्छ कि कांग्रेसले चुनाव सार्ने आत्मघाती खेल खेल्दैन ।

कारण १

वामपन्थी गठबन्धनबाट जसरी कांग्रेस आत्तिएको छ, त्यो स्केलमा आत्तिन जरुरी छैन । पहाडका ८७ सिटमा वाम गठबन्धन जति हावी हुन सक्छ, तराईका ७८ सिटमा लोकतान्त्रिक गठबन्धन त्यति नै हावी हुन सक्छ । त्यसका लागि कांग्रेस, फोरम र राजपाबीच तालमेल जरुरी छ ।

यदि यो गठबन्धन बन्यो भने कांग्रेसले प्रदेश नम्बर २ का कम्तिमा २५ सिट जित्न सक्छ । प्रदेश १ को सुनसरी र मोरङमा अधिकांश सिट जित्न सक्छ भने प्रदेश ५ मा पनि राम्रो परिणाम ल्याउन सक्छ । प्रदेश ७ मा बिजय गच्छदारको कांग्रेस फिर्तीले कैलालीमा २ सिट बोनस दिँदैछ । लोकतान्त्रिक गठबन्धनले तराईमा ७८ मध्ये कम्तिमा ४० सिट जित्ने आँकलन कांग्रेसभित्रै भइरहेको छ ।

हिमाल र पहाडबाट पनि कांग्रेस गठबन्धनले वाम गठबन्धनभित्रको अशन्तुष्टिमा खेलेर थप सिट आर्जन गर्दा कम्युनिस्टहरुको बहुमत रोक्न सकिन्छ कि भन्ने आशा कांग्रेसमा जिवितै छ । त्यसैले पनि कांग्रेसले यो चुनावबाट भागेर होइन, सामना गरेरै जित्न सक्छ ।

कारण २

एमाले र माओवादी एक महिनाअघिसम्म देशका सबैभन्दा दुश्मन शक्ति थिए । रातारात बनेको वामपन्थी गठबन्धनलाई एउटै कम्युनिस्ट केन्द्रको लेपन लगाइए पनि वास्तवमा दुई पार्टीबीचको एकताको जग बसेको छैन । तालमेलप्रति कार्यकर्तालाई इमान्दार बनाउन पार्टी एकताको सितन खुवाइएको चर्चा चलिरहेकै छ ।

एमालेको बलमा माओवादीले ‘साइजेबल’ सिट ल्यायो भने यो गठबन्धन कायमै रहन्छ भन्ने छैन । एक वर्षको बीचमा कांग्रेस र एमाले दुवैलाई नचाउन सफल प्रचण्डले चुनावपछि नयाँ आधारमा नयाँ शक्ति सन्तुलनको सूत्र प्रतिवादन गर्ने आशा कांग्रेस नेताहरुले मारिसकेका छैनन् ।

किनकि प्रचण्डको किचनमा बिमलेन्द्र निधीका अति मिल्ने साथीहरुले डाडू पुन्यु चलाइरहेकै छन् । कांग्रेसले वामपन्थी गठबन्धनको बहुमत आउँदैमा ५ वर्ष सत्ता बाहिर बस्नुपर्ने डर पाल्नु जरुरी छैन । राजनीतिमा जस्तोसुकै चमत्कार गर्ने क्षमता प्रचण्डसँग हुञ्जेल, बहुमत प्राप्त वामपन्थी गठबन्धन नै ५ वर्ष चलिरहन्छ भन्ने पूर्वानुमान लगाउनु ‘प्रचण्डपथ’लाई नबुझ्नु हो ।

कारण ३

कांग्रेस नेताको बुझाइमा अहिले वामपन्थी गठबन्धनले सबैतिर चुनाव जित्नै लाग्यो भनेर डिजिटल प्रचारबाजी भइरहेको छ । मूलतः स्थानीय तहको चुनावमा दलका उम्मेदवारले पाएको मतलाई क्याल्कुलेटरबाट जोडेर अधिकांश निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धन अगाडि देखाइएको कांग्रेस नेताको गुनासो छ ।

तर, स्थानीय तहको चुनावमा स्थानीय उम्मेदवारले एक भोटका लागि रातदिन खटेर कति मेहनत गरेको हुन्छ । उसले नातागोता, इष्टमित्र, तल्लो घर माथ्लो घरको अन्तरबिरोधमा खेलेर पाएको मतलाई सम्बन्धित राजनीतिक दलको खातामा जम्मा भएको भोट मानियो भने त्यो मनको लड्डूमात्र हो । स्थानीय तहका उम्मेदवारले पाएको मतको कम्तिमा २० प्रतिशत तलमाथि हुन्छ ।

जनताको मन र मत भनेको जुनसुकै बेला फेरिने चलायमान वस्तु हो । त्यसैले स्थानीय चुनावको मत जोडेर को जित्ने र को हार्ने भन्ने सामान्य आधार बनाउन सकिएला, तर त्यो मत जस्ताको तस्तै वैंक खाताबाट ट्रान्सफर भएजस्तो हुँदैन । कांग्रेस पार्टी र त्यसका उम्मेदवार हुनेहरुले यति कुरा बुझेका छन् ।
कहाँ खेल्नुपर्छ र कसरी चुनाव जित्नुपर्छ भन्ने कुरा कम्युनिस्टहरुले भन्दा कांग्रेसले अलि बढी नै बुझेको छ । किनकि चुनावी खेलमा कांग्रेसले कम्युनिस्टको भन्दा धेरै जुत्ता फटाएको छ । यसकारण पनि कांग्रेस चुनाव सार्ने वा टार्ने खेलमा लाग्दैन र लाग्न सक्दैन ।

कारण ४

चौथो र अझ बलियो आधार चाहिँ यो हो कि,अहिलेको अवस्थामा चुनाव नगराउँदा सबैभन्दा क्षति कांग्रेसले भोग्छ । कथम् चुनाव भएन भने त्यसपछि के हुन्छ ? संविधानतः व्यवस्थापिका संसद सदस्य नरहेपछि प्रधानमन्त्री पदमुक्त भएसरह हुन् । अर्को सरकार नआउन्जेल काम चलाउमात्र ।

यदि चुनाव बिथोलियो भने प्रचण्डले व्यवस्थापिका संसद ब्युँतिने तर्क गरिसकेका छन् । यद्यपि उम्मेदवारी मनोनयनपछि स्वतः भंग भइसकेको संसद व्युँतिने संवैधानिक आधार छैन । प्रधानमन्त्री पदमा रहने संवैधानिक आधार पनि सकिने र मुलुक झन् ठूलो संवैधानिक र राजनीतिक संकटमा फस्नेछ ।

त्यो अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीतिर सबैको नजर जान सक्छ । बिगतमा बाबुराम भट्टराईले संविधानसभा बिघटन गरेपछि खिलराज रेग्मी जन्माइएजस्तै नयाँ अवतार जन्माउने कुरा कांग्रेसको लागि झनै प्रत्युत्पादक हुनेछ । अर्कोतिर राष्ट्रपति पनि कांग्रेसको लागि अनुकुल नहुने अवस्थामा संविधान नै असफल पार्ने खेलमा कांग्रेस लाग्दैन र लाग्न सक्दैन ।

चुनाव रोक्ने कि कम्युनिस्टको बहुमत रोक्ने ?

यति तर्क र कारणहरु उल्लेख गरेपछि फेरि पनि ती कांग्रेस नेताको भनाइ यहाँ उल्लेख्य छ । उनले चिया गफमै भने-इतिहासमा पटक पटक चुनाव गर्न नसकेर असक्षमताको मेडल थप्न शेरबहादुर देउवा चाँहदैनन् । यो चुनावमा दुई/चार सीट गुमाइएला । तर, लोकतन्त्रले जित्नुपर्छ । त्यसका लागि चुनावको विकल्प छैन ।

कांग्रेसका लागि चुनावको हार र जित नयाँ होइन । दुई तिहाई बहुमतदेखि सामान्य बहुमतको स्वाद चाखिसकेको कांग्रेसले दोस्रो दलको अनुभव पनि दुई पटक लिइसकेको छ । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा पनि कांग्रेस दोस्रो भएकै हो । तर कांग्रेसको ‘आदर्श’ हारेको छैन ।

नेपालको राजनीतिक इतिहासमा बहुदलीय प्रतिस्पर्धाबाट दुई तिहाई बहुमत ल्याउने र दुईपटक सामान्य बहुमत ल्याउने पार्टी कांग्रेसमात्र हो । यसपटक कम्युनिस्ट गठबन्धनले बहुमत नै ल्याएछ भने पनि कांग्रेसका लागि त्यो आकाशको फल होइन । दुई तिहाई बहुमत नै ल्याए पनि कांग्रेसका लागि त्यो नयाँ होइन,उसले प्राप्त गरिसकेको विरासत हो ।

कम्युनिस्ट गठबन्धनले २ तिहाई ल्याउँदैन भन्ने प्रष्टै छ, बरु सामान्य बहुमत पनि रोक्न कांग्रेसले आफ्नो सम्पूर्ण बल प्रयोग गर्नलाई तराईको मैदानी जमिन खाली नै छ । त्यसैले कुनै पनि बहानामा मंसिरको चुनाव रोक्नु भन्दा कम्युनिस्ट गठबन्धनको बहुमत रोक्नु कांग्रेस र उसले भन्ने गरेको लोकतन्त्रका लागि फाइदाजनक हुनेछ ।

अधिनायकवादको हौवा, बृद्धबृद्धालाई गोली हान्ने नाराजस्तै

जहाँसम्म एमाले र माओवादी मिल्दा कम्युनिस्ट अधिनायकवाद आउने कुरा छ, यो चाहिँ अब नेपाली समाजले पचाउने मसला रहेन । ०४८ तिर कम्युनिस्ट सरकार आए ६० वर्ष कटेका बुढाबुढीलाई मार्छन् भनेर भोट मागेको कांग्रेस ०५१ मा पराजित भयो । त्यही साल बनेको कम्युनिस्ट सरकारले ७० कटेका वृद्धबृद्धालाई भत्ता दिएर कांग्रेसको आरोप खारेज गरेको इतिहास साक्षी छ ।

एमाले र माओवादी मिल्नुको उद्देश्य बहुमतको सरकार बनाउने र समयक्रममा एउटै कम्युनिस्ट पार्टी बनाउनेमात्र हो । उनीहरुको दस्तावेजबाटै अश्वीकार गरिएको एकदलीय कम्युनिस्ट अधिनायकवादलाई कांग्रेसले ब्युँताउनु पराजित मानसिकताको द्योतक हो ।

बीसौं शताव्दीको मध्यतिर तत्कालीन राजा महेन्द्रले चीनसँग सडक सञ्जाल जोडेपछि भारतको चासो सम्बोधन गर्दै भनेका थिए रे-कम्युनिज्म गाडी चढेर आउँदैन ।

त्यसैले कांग्रेस नेताहरुले बुझ्नैपर्छ-केरुङको रेलमा कम्युनिज्म होइन, कन्जुमर सामान आउनेछन् । ढुक्क भए हुन्छ, एमाले र माओवादी मिल्दा नेपालको कम्युनिस्ट आन्दोलन थप लोकतान्त्रीकरण हुनेछ, बरु कांग्रेसले आन्तरिक जीवनमा लोकतान्त्रीकरणको अभ्यास अहिल्यैदेखि थाले हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment