Comments Add Comment

युवा निर्देशकलाई ज्यानले बेइमान गरेपछि…

काठमाडौं । साथीहरु भन्थे, ‘डाइरेक्टरजस्तो मान्छे, अलि सोभर देखिनुपर्‍यो !’

सुझाव मनासिव लाग्यो, दिवाकर भट्टराईलाई ।

युवा पुस्तामाझ रुझेका निर्देशक । उमेर पनि कच्चा । स्टुपिड मन, ड्रिम्स, ऐश्वर्यका निर्देशकलाई आफ्नो हुलिया त्यति ‘म्याचोर्ड’ लागेन ।

अन्ततः उनले जिन्स र टी-सर्ट थन्क्याएर कपडाको पाइन्ट, सर्ट लगाए ।

‘ल यस्तो पो गेटअप ठीक । प्रफेक्ट लुक्स,’ साथीहरुले फुक्र्याए ।

उनीसँग केही थान सुट जगेडा थियो । सर्ट पाइन्टमा कोटको कम्बिनेसन मिलाइहेरे । ऐनामा ठिंग उभिएर आफ्नै सग्लो रुप नियाले ।

तर, ह्याङ्गरमा कोट झुन्ड्याएजस्तो देखियो ।

उनले कति पनि ढिला नगरी कोट उतारे । क्याजुअल ड्रेस नै उपयुक्त लाग्यो, आफ्नो ज्यानका खातिर । जिन्स र टी-सर्टले तैबिसेक सुहाउँछ । तर, यस्तो गेटअपले बढी केटौलो देखिने । अब ज्यानअनुसारको लुगा खोज्ने कि ज्यान बनाउने ?

उनले दोस्रो विकल्प रोजे ।

पाँच फिट नौ इन्च अग्लो ज्यानलाई सोहीअनुसारको मोटाइ आवश्यक थियो । उनी तौल बढाउने टुंगोमा पुगे । जिम धाउन थाले । ५२ किलोको ज्यानमा १४ किलो थप्न केही पाथी पसिना बगाउनुपर्‍यो । खानपान तालिका फलो गर्नुपर्‍यो । ब्रेकफास्टदेखि डिनरसम्मको खान्कीमा सन्तुलन मिलाउनु पर्‍यो ।

सबैकुरा उनले निःशर्त पालना गरे । ज्यान केही फुक्यो । लगाएका पहिरन सुहाउन थाल्यो । २८ इन्चको कम्मरले ३२ इन्चको पाइन्ट ‘डिमान्ड’ गर्न थाल्यो ।

पाँच जोर सुट थन्किए

फिल्म ‘ऐश्वर्य’ रिलिज हुनुअघिको कुरा । साथीहरुकै सुझाव शिरोधार्य गर्दै दिवाकरले केही थान सुट सिलाए । आफ्नो शरीर सुहाउँदो सुट-पाइन्ट चटक्क मिलाएर राखे । तर, सुट-पाइन्ट लगाउने साइत कहिल्यै जुरेन ।

कारण के थियो भने उनले जिम जानुअघि ती सुट सिलाएका थिए । त्यसबेला उनको तौल ५२ किलो थियो । उचाइअनुसार तौल मिल्दो थिएन । ज्यान औसतभन्दा सानोझैं देखिने । जिम गए । मांशपेसी फुक्यो । तौल बढ्यो ।

यसको साइड इफेक्टचाहीं पुराना लुगाजति सबै थन्क्याउनुपर्ने भयो । कुनै पनि लुगा मिलेनन् । २८ इन्च कम्मरको पाइन्ट तन्किने कुरै भएन । एक पटक पनि नलगाएका पाँच थान सुट पनि उसैगरी थन्किए ।

खान्कीमा जोड

शहरीया तन्नेरीलाई भद्दा ज्यान घटाउनुछ । मोटोपन घटाउने बताउँदै कोही व्यायाम गरिरहेका छन्, कोही खानेकुरा कटौती गरिरहेका छन् । दिवाकरको दौड भने उल्टो दिशामा छ । अर्थात्, उनले खानेकुरामा कटौती गर्नुपरेको छैन । बरु, साविकको भन्दा थप खानुपरेको छ, त्यो पनि टाइम टेबलमा ।

‘अहिले त मेरो खान्की बढेको छ,’ दिवाकरले थपे, ‘दिनमा ४/५ पटक खाइन्छ ।’

बिहान उसिनेको अण्डाबाट सुरु हुने उनको दैनिक खानपानमा माछा, मासु, साग-सब्जी समावेश हुन्छन् ।

आफैं भान्से

अविवाहित दिवाकर कोटेश्वरको फ्ल्याटमा दुई भाइ र दुई बहिनीका साथ बस्छन् । उनी खानाका सौखिन हुन्, खुब स्वादिलो खानेकुरा चाहिन्छ । मीठो-मसिनो चाहिन्छ ।

यही कारण अरुले बनाएको खानेकुरामा गुनासो गरेकै हुन्छन् । भाइबहिनीले अब त गुनासो सुन्न पनि छाडिसके । हरेक छाकमा उनी टिप्पणी गरिहाल्छन् ।

आफ्नो जिब्रोले डिमान्ड गर्ने खाना बनाउन आफैं तम्सिन्छन् । दिवाकरलाई खाना पकाउन कत्ति पनि अल्छि लाग्दैन ।

‘भ्याएसम्म आफैं खाना तयार गर्छु,’ उनी भन्छन्, ‘आफ्नै हातले बनाएको खानामा गुनासो गर्ने कुरा पनि आएन ।’

उनी थरिथरिका खानेकुरा पकाउन रुचाउँछन् । साग, तरकारी, मासु, अचार सबैथोक चाहिन्छ, उनलाई । अलिकति आलु भुटेको, मासु, साग, अचार । बस्, यति भएपछि उनको मन अघाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment