Comments Add Comment

‘म जित्दैछु, स्थानीय चुनावको फिगर काम लाग्दैन’

'वीचैमा किन हाप्ने ? विगतमा मैले हार्दा जनताले दुःख पाए'

२७ कात्तिक, बाँसखर्क (सिन्धुपाल्चोक) । अनलाइनखबरको टिम उत्तरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको बरुवा गाउँमा पुग्दा झमक्कै साँझ परिसकेको थियो । मेलम्ची बजारबाट करीव ५ घण्टामाथि विकट तामाङ वस्तीमा भोट माग्दै गरेको अवस्थामा भेटिए राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमसेर जबरा ।

८०/९० वटा मोटरसाइकल र करीव एक दर्जन गाडीको लावालस्करसहित गाउँ-गाउँमा भोट माग्दै हिडेँका वयोवृद्ध नेता राणाको अनुहारमा चमक भने यथावतै थियो । स्थानीय जनतासँग एकछिन अन्तरक्रिया गरेपछि राणा अनलाइनखबरसँग कुरा गर्न तयार भए ।

वामपन्थी गठबन्धनका साझा उम्मेदवार एमाले नेता शेरबहादुर तामाङसँग निकै कठिन प्रतिस्पर्धामा रहेका राणाले आफू राम्रो मार्जिनले चुनाव जित्ने दाबी गरे ।

आफूले लगातार २ पटक हारेपछि सिन्धुपाल्चोकको यस क्षेत्रको विकासको गति रोकिएको भन्दै राणाले चुनावी एजेण्डा वामपन्थीले जितेपछि विकास हुँदैन भनेर चर्काएका रहेछन् । संयोग नै मान्नुपर्छ, राणालाई पहिलोपटक हराउने दावा तामाङ पनि अहिले वामपन्थी गठबन्धनबाट प्रदेशसभा उम्मेदवार बनेका छन् भने दोस्रो पटक हराउने शेरवहादुर तामाङ प्रतिनिधिसभामा राणाका प्रतिस्पर्धी छन् ।

दुवै तामाङले जितेर विकास नभएकाले अब पशुपति शमसेर नै चाहियो भन्ने जनताको माग अनुसार आफू प्रतिस्पर्धामा उत्रिएको उनले बताए ।
प्रस्तुत छ, राणासँग गरिएको चुनाव केन्दि्रत कुराकानीः

यो उमेरमा विकट गाउँबस्तीमा भोट माग्दै हिँड्नुभएको छ, कस्तो पाउनुभएको छ जनताको प्रतिक्रिया ?

मलाई साबिकको दुई नम्बर क्षेत्रका जनताले त्यहाँ आएर उठ भनेको चार/पाँच चुनाव भइसक्यो । म आफ्नै साबिक ३ नम्बर क्षेत्रबाटै चुनाव लडिरहेको थिएँ । तर, यसपटक क्षेत्र विभाजनका क्रममा साबिक २ नम्बरका गाउँहरु पनि यो क्षत्रमा थपिए । अन्ततः म यहाँ आएँ, जनता धेरै खुसी छन् ।

अर्कोतिर, मेरो साबिक क्षेत्रमा मैले चुनाव हारेपछि जितेका प्रतिनिधिले ठोस काम गर्न सकेनन् । जनप्रतिनिधिले कुनै काम गर्न नसकेपछि मेरो दरकार जनतालाई परेको छ । जनताले पशुपतिसमशेर फेरि चाहियो भनेका छन् ।

तर, हामीले पनि तपाईको क्षेत्रका केही गाउँहरुमा दुई/तीन दिन घुमेर जनताको प्रतिक्रिया बुझ्ने प्रयास गर्‍यौं, यहाँ तपाईलाई वर्षौंदेखि भोट हालेको पुरानो पुस्ता अस्ताउँदै गएको र नयाँ पुस्तासँग तपाईको पर्याप्त पहिचान नभएको देखियो नि ? यसले चुनावमा असर गर्दैैन ?

होइन, म युवाहरुसँग पनि सम्पर्कमै छु । मुख्य कुरा साबिकको ३ नम्बरमा विकास नभएको कुरा सबैलाई खड्केको छ । म हुँदा ठूला ठूला काम विकासका काम भएका थिए । तर मैले हारेपछि यहाँ केही भएन । बिजुली, खानेपानी, कुलो सबै मैले गरेको विकास हो । मेरा पालामा एउटै गाउँमा सातवटा कुलोसम्म बने । तर, अहिले त त्यस्तो भएको छैन । त्यसैले युवादेखि बुढासम्म सबैलाई मेरो अभाव खड्केको छ ।

दुईटा गठबन्धनको चुनाव छ, वामपन्थीसँग भिड्न सजिलो होला र ?

नेपालमा साम्यवादी सोच टिक्दै टिक्दैन, साम्यवादीहरु हार्छन् । लोकतान्त्रिक गणतन्त्रले मुलुकमा स्थिर सरकार परिकल्पना गरेको छ । मन्द गतिमा आर्थिक विकास भइरहेको छ, यसको फड्को मार्न लोकतान्त्रिक गठबन्नधले जित्नुपर्छ । मलाई विश्वास छ, सिन्धुपाल्चोकका जनताले लोकतान्त्रिक गठबन्धनलाई साथ दिनेछन् ।

तपाईले मलाई अन्तिम पटक हो, जिताएर पठानुस् भन्दै भोट माग्नुभएको हो ?

मैले अन्तिमपटक भोट देऊ भनेर मागेकै छैन । यो मेरो अन्तिम पालि हो, मलाई भोट देऊ भनेको छैन । मैले जनताको सेवा गर्ने रहर बोकेँ । भूकम्पका बेला जनप्रतिनिधिबाट जुन काम गर्नुपर्ने थियो, भएन ।

मैले आपूर्ति मन्त्रालयबाट ट्रकका ट्रक खाद्यान्न पठाएँ । राहत पठाएँ । कयौं ठाउँमा अस्थायी स्कूल बनाइदिएको छु । कुनै ठाउँमा हामीले शौचालाय बनाइदिएका छौं । आपत विपतमा त पशुपति शमसेर नै चाहिने रहेछ भन्ने परेको छ । त्यसैले म फेरि चुनावी मैदानमा आएको छु ।

तपाईका प्रतिस्पिर्धी एमालेका नेता शेरबहादुर तामाङका बारेमा जनतालाई के भनिरहनुभएको छ ?

व्यक्तिगत रुपमा शेरवहादुर तामाङले चुनाव जितेर विकासको काम गरेनन् भन्ने बाहेक मैले अरु कुनै आरोप लगाएको छैन र लगाउने पक्षमा पनि छैन ।

तर, तामाङले त बामपन्थी गठबन्धनको मत धेरै अगाडि रहेकाले पशुपति शमसेरले बीचमै चुनाव हापेर हिँड्ने सम्भावना छ भने नि ?

म चुनाव जित्दैछु, किन हाप्ने ? स्थानीय चुनावको मत गनेर उनीहरु यस्ता कुरा गरिरहेका छन् । स्थानीय चुनावको फिगरले यो राष्ट्रिय चुनावलाई म्याटर गर्दैन ।

स्थानीय चुनावमा त्यहाँ अरु व्यक्ति उभिएका थिए, अहिले त पशुपतिसमशेर मैदानमा आएको छ । स्थानीय चुनावमा हाम्रा उम्मेदवार हार्नुमा अरु पनि धेरै कारण छन्, तर अहिले त जनताले पशुपति शमसेर नभई नहुने रहेछ भनेर बुझिसकेका छन् । म राम्रो मार्जिनले चुनाव जित्छु ।

तपाईहरुको यो लोकतान्त्रिक गठबन्धन चाहिँ कत्तिको फलदायी हुँदैछ ?

सिन्धुपाल्चोकमा लोकतान्त्रिक गठबन्धनको अवस्था राम्रो छ । मैले पूरै कांग्रेसको भोट पाउँछु । कांग्रेसले हाम्रो भोट पूरै पाउँछ । मलाई लाग्छ, केन्द्रमा पनि यो गठबन्धन धेरै वर्षसम्म कायम रहन्छ ।

यसपटक तपाईले मन फुकाएर धन खर्च गर्दै हुनुहुन्छ भन्ने पनि सुनियो, चुनाव जित्न पैसा त धेरै खर्च होला नि ?

यस्तो कहीँ भएको छ ? हामीले यस्तो खर्च गरेका छैनौं । मैले खर्च गर्नुपर्ने स्थिति नै छैन । तर, उनीहरुले चाहिँ पशुपति शमसेरसँग धेरै पैसा छ, उसले खर्च गर्छ भनिरहेका छन् । यो भनेको मविरुद्धको प्रचार हो ।

तपाईले लगातार ४० वर्षभन्दा लामो समयदेखि यहाँ चुनाव लड्नुभयो र धेरैपटक जित्नुभयो, अब तपाईलाई फेरि पनि यहाँका जनताले किन चुन्नुपर्ने ?

म ०२९ सालमा सिन्धुपाल्चोक प्रवेश गरेको हुँ । मेरो मतदाता नामावली पनि थुम्पाखर र अहिले बाँसखर्कमा छ । मैले जे जति काम गरेँ,सिन्धुपाल्चोकमा अरु कसैले गर्न सकेका छैनन् ।

म सिन्धुपाल्चोक पहिले आउँदा दुईवटा हाइस्कूल थिए । कसैले कालो पोलिथिन पाइप देखेकै थिएनन् । पाँचखालबाट हिँडेर आउनुपथ्र्यो । अहिले अरु पहाडी जिल्लाको तुलनामा सिन्धुपाल्चोक धेरै माथि छ । अत्यन्तै अल्पविकसित ठाउँलाई मैले विकसित बनाए ।

तर, तपाई चुनावमा बाहेक जिल्ला आउनुहुन्न भन्ने गुनासो पनि रहेछ नि ?

होइन, मैले काम गरेको छु नि । भूकम्प गएप्छि मैले जति काम यहाँबाट जितेका जनप्रतिनिधिले पनि गरेनन् ।

तपाईले भोट के भनेर माग्नुभएको छ ? प्रधानमन्त्री बन्ने भनेर कि ? नत्र मन्त्री त दर्जनौंपटक भइसक्नुभयो….

प्रधानमन्त्री हुन त जनताले जिताएर मात्र हुँदैन, पार्टीले जित्नुपर्छ । अहिले प्रधानमन्त्री हुने पोजिसनमा राप्रपा प्रजातान्त्रिक छैन । तर, अरु पदहरु छन् नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment