२८ कात्तिक, भोजपुर । भोजपुर प्रदेशसभाका उम्मेद्वार एवम् नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।
गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो ।
सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए ।
पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ ।
यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । यो आक्रमणमा विप्लव निकट नेकपाका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।
‘सिध्याउने हिसाबले बम प्रहार भयो’
घटनापछि अनलाइनखबरसँग कुरा गर्दै उनले आफूमाथि सोझै ताकेर बम प्रहार भएको बताए ।
‘सिधै सिध्याउने हिसाबले बम प्रहार भयो’, राईले अनलाइनखबरसँग भने, ‘धन्न सामान्य चोट मात्र लाग्यो । असई सा’ब घाइते हुनु भा’छ ।’
ट्याम्केमैयु गाउँपालिकामा मंगबार दिउँसो १२ बजे आमसभा राखिएको थियो । त्यसलाई सम्बोधन गर्न जाँदै गर्दा उनीमाथि बम प्रहार भएको हो ।
बम प्रहारबाट आफू सामान्य घाइते भएको उनले बताए । पूर्व सञ्चारमन्त्री समेत रहेका राई प्रदेश नं. १ मा मुख्य मन्त्रीको दाबेदार हुन् ।
प्रतिक्रिया 4