Comments Add Comment

सरकारमाथि ओलीको आरोप-भनेजति चन्दा नपाएपछि बुढीगण्डकीको सम्झौता रद्द गरियो

सरकार र विप्लव कनेक्सनः एउटाले चन्दा नपाए लुटपाट गर्छ, अर्कोले ठेक्का खोस्छ

२८ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेजति चन्दा नपाएपछि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भएको ठेक्का सम्झौता रद्द गर्न खोजिएको बताएका छन् ।

बुढीगण्डकीको ठेक्का रद्द र वामपन्थी गठबन्धनका उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लव समूहको साँठगाँठ रहेको उनको दाबी छ । सरकार फाँसिवादी ढंगले चलेको भन्दै ओलीले यसबीचमा गरेका निर्णयहरु नयाँ सरकारले खारेज गर्ने चेतावनी समेत दिएका छन् ।

वाम गठबन्धनका काठमाडौंका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘यही सरकारले सम्झौता गर्‍यो, यहि सरकार खारेज गर्न खोज्दैछ । कुरा प्रष्टै छ, चन्दा धेरै चाहियो !’

सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण र बम हमला गर्ने सन्दर्भमा पनि सरकार र विप्लव समूहबीच साँठगाँठ रहेको आरोप लगाए ।

उनले अघि भने, यो सरकार र विप्लवमा के फरक छ ? एउटा चन्दाका लागि कब्जा गर्छ, लुट्छ, अर्कोले चन्दा नपाए आफैंले दिएको ठेक्का खोस्छ ।’

मन्त्रीनै बम हमला गर्नेको रिहाई गराउन लाग्नुले आफ्नो आरोप पुष्टि भएको उनले बताए । ओलीले भने, ‘सरकारको ध्यान शान्ति सुरक्षामा छैन, नेताहरुमाथि बम प्रहार गर्नेमा तिनीहरुको बीचमा साँठगाँठ छ, एउटाले बाम हान्ने, अर्कोले जोगाउने । केहीदिनअघि झापामा बिर्तामोडका मेयरको घरमा आक्रमण भयो, यो सिलसिला चलिरहेको छ ।’

राज्यकोषबाट कांग्रेस कार्यकर्तालाई करोडौं रकम आर्थिक सहयोगका नाममा वितरण भइरहेको भन्दै विपक्षी नेता ओलीले लुट खस्यौट रोक्न सरकारलाई चेतावनी दिए ।

‘राज्यकोषबाट एकै महिनामा २३ करोड रुपैया कार्यकर्तालाई बाँडिएको छ । गृहमन्त्रालयबाट १० हजारदेखि ५ लाखसम्म दिइएको छ । राज्यकोषमाथिको यो ब्रम्हलुट तत्काल बन्द गर्न म सरकारलाई चेतावनी दिन्छु’ ओलीले भने ।

ओलीले काठमाडौंका दशैं निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवार बिजयी हुनुपर्ने बताए । सोही कार्यक्रममा एमाले बरिष्ठ नेता तथा क्षेत्र नम्बर २ का उम्मेवार माधव नेपालले वामपन्थी गठबन्धनबाट आत्तिएर कांग्रेसले अधिनायकवादको हौवा चलाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment