+
+
Shares

नेपाली कांग्रेस (वीपी)को घोषणापत्र-हिन्दू राज्य र दौरा सुरुवाल अनिवार्य

हरिबोल भट्टराई भन्छन्-कांग्रेसका लागि कम्युनिस्ट र मण्डले उस्तै हुन्

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २९ गते १६:४६

२९ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसबाट अलग भएका नेताहरुले गठन गरेको नयाँ पार्टी नेपाली कांग्रेस (वीपी)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै हिन्दू राज्य र दौरा सुरुवाल टोपीका लागि संघर्ष गर्ने नीति अघि सारेको छ ।

बुृधवार काठमाडौंको बत्तिसपुतलीमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस (वीपी)का अध्यक्ष हरिबोल भट्टराईले सनात हिन्दू राष्ट्र पुनस्र्थापनाको जिम्मेवारी अब आफ्नो पार्टीले लिने बताए । उनले कमल थापालाई मण्डलेको संज्ञा दिदै हिन्दू राज्यलाई उनले मागी खाने भाँडो बनाएको आरोप लगाए ।

भट्टराईले भने- ‘शेरवहादुर देउवाले हिजो कांग्रेसको आदर्श विपरित हँसिया हथौडामा भोट हाल्न बाध्य पारे, आज प्रचण्डले लात हानेपछि कमल थापाजस्ता मण्डलेसँग मिलेका छन् । कांग्रेसका लागि कम्युनिस्ट र मण्डले उस्तै हुन् । त्यसैले हिन्दू राज्य र लोकतन्त्रको लागि हामी आएका हौं ।’

नेपाली कांग्रेस वीपीले आफ्नो पार्टीले जितेमा दौरा सुरुवाल कोट पुरुषका लागि राष्ट्रिय पोशाक अनिवार्य गर्ने र महिलाका लागि सारी,चोलो वा ब्लाउजको प्रयोगलाई अनिवार्य गरिने जनाएको छ ।

उसको घोषणापत्रमा भनिएको छ-राष्ट्रसेवक कर्मचारी,संवैधानिक अंगका व्यक्तिहरु र औपचारिक कार्यक्रममा सम्पूर्ण नेपाली नागरिकले प्रयोग गरिने राष्ट्रिय पोशाकको हकमा पुरुषले दौरा,सुरुवाल र ढाका टोपी वा भादगाउँले टोपी र महिलाको हकमा सारी,चोलो वा ब्लाउजको प्रयोगलाई अनिवार्य गरिनेछ ।

त्यस्तै नेपाली कांग्रेस विपीले नेपाली नागरिकताको प्रमाणपत्रमा राखिने फोटोमा पुरुषको शीरमा ढाका टोपी वा भादगाउँले टोपी हुनुपर्ने व्यवस्थालाई अनिवार्य गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।

राजनीतिक दललाई हेर्ने दृष्टिकोण

नेपाली कांग्रेस वीपीले शेरवहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस इतिहासको शाखको आधारमामात्र टिकेको टिप्पणी गरेको छ । कांग्रेस नेतृत्वमा व्यक्तिगत मनोकांक्षा देखिएको र कार्यकर्तामा निराशा रहेको भन्दै सो पार्टीको भविष्य नरहेको टिप्पणी गरेको छ ।

त्यस्तै एमालेलाई प्रजातान्त्रिक आवरणमा जनमत बटुलेर अन्तगोत्वा साम्यवादी समाजवाद लाद्ने अभीष्ट बोकेको पार्टी भनेको छ । माओवादी हत्या हिंसाको नियतबाट माथि नउठेको उसको आरोप छ ।

घोषणपात्र सार्वजनिक कार्यक्रममा महामन्त्री सुशीलमान शेरचन, झलकनाथ वाग्ले, प्रदिप पराजुली लगायतका नेताहरु थिए । सो पार्टीका अध्यक्ष हरिबोल भट्टराई लगायतका नेता चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?