Comments Add Comment

खुमबहादुरको बिँडो थाम्ने दीपक गिरीलाई हिराको चुनौती


१३ मंसिर, दाङ । नेपाली कांग्रेसका नेता दीपक गिरी दाङ जिल्लामा खुमबहादुर खड्कापछि चर्चामा आउने नेपाली कांग्रेसका उर्जाशील नेता हुन् । सत्तामा पुगेर मन्त्री बन्न सफल भइसकेका गिरी यसपालिको चुनावमा क्षेत्र नम्बर ३ बाट एमालेका युवा नेता हिराचन्द्र केसीसँग चुनौतीपूर्ण प्रतिस्पर्धा गर्दैछन् ।

दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि तीनजना स्वतन्त्रसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा होमिएका छन् । तर, कांग्रेसका दीपक गिरी र वाम गठबन्धनबाट एमालेका दाङ जिल्ला सचिव समेत रहेका हिराचन्द्र केसी मुख्य प्रतिस्पर्धी हुन् ।

यी बाहेक राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, नयाँ शक्तिबाट हरिप्रसाद रिजाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबाट शेरबहादुर आलेमगर, नेकपा मालेबाट हिमलाल चौधरी र वैद्य माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट हिरामणी पौडेल प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

यसैगरी नरबहादुर वली, बालकृष्ण शर्मा र यादव भण्डारीले स्वतन्त्रबाट चुनावी मैदानमा छन् ।

मतदाताको अवस्था

दाङ क्षेत्र नम्बर ३ मा दंगीशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका पर्छन् । साथै तुलसीपुर उपमहानगरपालिकाका १ देखि १५ नम्बर वडा पनि यसै क्षेत्रमा पर्दछन् ।

यहाँ ५८ हजार २०४ पुरुष, ६० हजार ७८२ महिला र एक जना तेस्रो लिङ्गीसहित कुल १ लाख १८ हजार ९८७ मतदाता छन् । यस क्षेत्रमा मा १३७ मतदान केन्द्र तोकिएको छ ।

प्रदेशमा कोको छन् ?

दाङ क्षेत्र नम्बर ३ मा प्रदेशसभा ३ (क) तर्फ ८ जना उम्मेदवार छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका जगप्रसाद शर्मा ‘अपार’ र कांग्रेसका राज्यमन्त्री डिल्लीबहादुर चौधरी मुख्यप्रतिस्पर्धी हुन् ।

त्यसैगरी नयाँ शक्तिबाट नेत्रलाल भट्टराई, राप्रपा प्रजातान्त्रिकबाट प्रेमबहादुर शाह, राप्रपा राष्ट्रवादीबाट सन्तोष कवर योगी, राष्ट्रिय जनमोर्चाबाट भरत भण्डारी, राष्ट्रिय जनमुक्तिबाट लीला पहाडी र नेकपा मालेबाट शालिकराम चौधरी उम्मेदवार छन् ।

यसैगरी दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) तर्फ ७ जना उम्मेदवार छन् । तीमध्ये कांग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारी र वाम गठबन्धनबाट एमालेका उत्तरकुमार ओली मुख्य प्रतिस्पर्धी हुन् ।

यीसँगै नेकपा मालेका टोपबहादुर डाँगी, राष्ट्रिय जनमोर्चाका देवबहादुर कामी, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नयाँ शक्ति पार्टीका रुद्रबहादुर केसी पनि प्रतिस्पर्धामा उत्रिएका छन् । स्वतन्त्रतर्फ लीलाधर खड्का पनि प्रदेशसभाको उम्मेदवार छन् ।

कसले जित्ला ?

प्रदेशसभा तर्फ ३ कमा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ नम्बर वडा पर्दछन् । यसैगरी ३ खमा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १, २, १० र ११ तथा शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका पर्दछन् ।

स्थानीय तहलाई हेर्दा ३ कमा पर्ने वडाहरुमध्ये एमालेले ५ र कांग्रेसले ६ वटा वडामा जितेका छन् । ख अन्तर्गत तुलसीपुरका २, १० र ११ वडा कांग्रेसले जितेको छ भने १ नम्बर वडासँगै शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका एमालेले जितेको छ ।

प्रतिनिधिसभातर्फ एमालेका हिराचन्द्र केसीको तुलनामा दीपक गिरी बलियो उम्मेदवार हुन् । कांग्रेस केन्द्रीय सदस्य रहेका गिरी सिचाइँ मन्त्रीसमेत बने । केसी युवा संघबाट राजनीतिमा आएका थिए तर उनी खासै चर्चामा छैनन् ।

३ ‘क’ मा कांग्रेसका डिल्लीबहादुर चौधरी बलिया उम्मेदवार हुन् । मुक्त कम्लहरीको क्षेत्रमा क्रियाशील बेस नामक गैरसरकारी संस्था चलाएका र अहिले राज्यमन्त्रीसम्म बनेका चौधरी मनि र मसल दुबै प्रयोगमा खप्पिस मानिन्छन् ।

चौधरीको सामना गर्न माओवादीमा त्यागी नेता भनेर चिनिने जगप्रसाद शर्मालाई कठिन हुने कतिपयको अनुमान छ । माओवादीको केन्द्रीय सचिवालय सदस्य समेत रहेका उनी जनयुद्धको पहिलो घाइतेसमेत हुन् । तर, रुकुम घर भए पनि दाङबाट शर्मालाई टिकट दिइएपछि माओवादीमा असन्तुष्टि बढेको थियो ।

स्थानीय पुराना माओवादी नेता कुबेर ओलीले वागी उम्मेदवारी नै दर्ता गराएका थिए । तर, पछि उनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो ।

क्षेत्र नम्बर ३ (ख) मा कांग्रेसका बुद्धिराम भण्डारी र वाम गठबन्धनबाट एमालेका उत्तरकुमार वली मुख्य प्रतिस्पर्धी हुन् । एमालेका उत्तरकुमार वली म्यानपावर व्यवसायी हुन् । भण्डारीले ०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेका शंकर पोख्रेललाई हराएका थिए । उनी कांग्रेसका पुराना नेता हुन् । सोझा र इमान्दार नेता भनेर भण्डारी कांग्रेस वृत्तमा चिनिन्छन् ।

खुमबहादुर खड्कासँग निकट रहेका उनी कांग्रेस विभाजन ताका शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति समेत बनेका थिए । त्यसैले चुनावी परिणाम आफूहरुको पक्षमा आउने कांग्रेस नेताहरु बताउँछन् ।

यो पनि पढ्नुस्

खुमबहादुरको गृहक्षेत्रमा कांग्रेसको किल्ला जोगिन्छ कि ढल्छ ? 

कृष्णबहादुर महराको उपप्रधानमन्त्री पद दंगालीको हातमा

देउखुरीका मतदाताको अनौठो सोचः जसले दाउरा दिन्छ, उसैलाई भोट !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment