Comments Add Comment

प्रदेश १ मा ६०२ उम्मेदवार चुनावी मैदानमा, सुरक्षामा २० हजार बढी प्रहरी

१९ मंसिर, विराटनगर । दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एक नम्बर प्रदेशमा ६०२ उम्मेदवार चुनावी मैदानमा छन् ।

दोस्रो चरणमा एक नम्वर प्रदेशका सात जिल्लाबाट प्रतिनिधि सभातर्फ २१ र प्रदेश सभाका लागि ४२ जना निर्वाचित हुनेछन् । प्रतिनिधि सभा सदस्यका लागि २ सय २५ र प्रदेश सभा सदस्यका लागि ३ सय ७७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्वर १ मा १४ जिल्ला पर्दछन् । सोलुखुम्बु, संखुवासभामा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा भने पहिलो चरणमा मंसिर १० गते चुनाव भइसकेको छ । अब दोश्रो चरण अन्तर्गत मंसिर २१ मा इलाम, उदयपुर, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीमा निर्वाचन हुँदैछ ।

क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार एक नम्बर प्रदेशका कुल २९ लाख ९३ हजार ६ सय ६९ मतदातामध्ये दोस्रो चरणमा चुनाव हुन लागेका जिल्लाहरुमा २२ लाख ७४ हजार २ सय १६ मतदाता छन् ।

मोरङमा देशकै सबैभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ जना मतदाता छन् । त्यसैगरी दोस्रो चरणमा चुनाव हुन लागेको तेह्रथुममा ६६ हजार ७ सय ४१ जना मतदाता छन् ।

इलाममा २ लाख ४ हजार ५०, उदयपुरमा १ लाख ९३ हजार ९ सय १३, धनकुटामा १ लाख ५ हजार १ सय ९९, झापामा ५ लाख ८५ हजार २ सय २८ र सुनसरीमा ४ लाख ७४ हजार ३ सय मतदाता छन् । मतदाता संख्याको हिसाबमा काठमाडौं झापा पहिलो, दोस्रो र तेस्रोमा झापा हो ।

सुरक्षा तयारी पूरा

एक नम्बर प्रदेशमा दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । सात जिल्लामा हुने सुरक्षा प्रयोजनका लागि २० हजार बढी नेपाल प्रहरी परिचालन गरिएको छ । सुरक्षाका लागि १० हजार बढी नेपाल प्रहरी र १२ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन् । अवस्था हेरेर थप प्रहरी परिचालनको प्रवन्ध समेत मिलाइएको छ ।

‘विगतका वर्षको नजिरलाई लिएर अहिले हामी सुरक्षाका लागि आवश्यक प्रहरी परिचालनको प्रारम्भिक चरणमा छौं,’ उनले भने, ‘आवश्यक परेको खण्डमा प्रहरी संख्यामा बृद्धि हुने छ ।’

दोस्रो चरणको चुनावमा मतदान केन्द्रका लागि तीन तहको सुरक्षा प्रवन्ध मिलाइएको छ । पहिलो घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेना परिचालन गरिएको छ । यसका लागि प्रहरीको साविकको संख्यामा २५ प्रतिशत थप गर्ने तयारी समेत गरिएको छ ।

करिब २ सय बढी मतदान केन्द्र अतिसंवेदनशील

एक नम्वर प्रदेश प्रहरी कार्यालयका विराटनगरका प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका नेपाल प्रहरीको संख्याको अनुपातमा म्यादी प्रहरीको संख्या बढी हुने बताए । निर्वाचन हुने जिल्लाका सुरक्षा समितिले भनेको खण्डमा यो संख्या भने बढ्न सक्ने उनको भनाइ छ ।

चुनावलाई लक्षित गरी अहिले एक नम्बर प्रदेशका सबै प्रहरी युनिटहरुमा निर्वाचन सेल निर्माण गरिसकिएको छ । मतदान केन्द्रहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य भनेर वर्गीकरण गरिएको छ । सोही अनुसार सुरक्षा प्रवन्ध पनि मिलाइएको छ ।

१ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सात जिल्लाका करिव २ सय बढी मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा छन् । केही निर्वाचन हुने जिल्लामा भौगोलिक विकटताका कारण र विषेश गरी खुल्ला सिमाना भएका कारण पनि त्यस्ता मतदान केन्द्रलाई अति संवेदनशीलका रुपमा राखिएको अतिरिक्त महानिरीक्षक उपाध्यायले जानकारी लिए ।

दोस्रो चरणमा चुनाव हुन लागेका सात जिल्लामा ११ सय ६५ मतदान स्थल र २७ सय १८ मतदान केन्द्र रहेका छन् ।

सुनसरी, मोरङ, झापा र इलाम भारतसँग खुल्ला सिमाना जोडिएका जिल्ला भएकाले धेरैजसो ती जिल्लामा पर्ने मतदान केन्द्रलाई अति संवेदनशिल मतदान केन्द्रका रुपमा राखिएको छ । ती जिल्लाहरुमा चुनाव भाँड्ने र आपराधिक क्रियाकलापमा संलग्न समूह निर्वाचन सुरक्षाका लागि चुनौती हुन सक्ने सुरक्षा निकायको निष्कर्ष छ ।

त्यसका अलवा पहाडी जिल्ला तेह्रथुम, इलाम, उदयपुर र धनकुटा जिल्लामा रहेका कतिपय मतदान केन्द्र भौगोलिक विकटताका कारण अतिसंवेदनशिलका रुपमा वर्गीकरण गरी सोही अनुरुप सुरक्षा प्रवन्ध मिलाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उपाध्यायले जानकारी दिए ।

उनले निर्वाचनका बेला त्यस्ता मतदान केन्द्रमा हेलिकोप्टर मार्फत सुरक्षा गस्तीको व्यवस्था मिलाइएको छ । हेलिकोप्टरमार्फत् नै आवश्यक निर्वाचन सामाग्री पुर्‍याउने र मतदान सम्पन्न भएसँगै मतपेटिका ल्याउने प्रवन्ध पनि मिलाएको उनले जानकारी दिए ।

दोश्रो चरणमा निर्वाचन हुने सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका कुल १ सय ६४ किलोमिटर खुल्ला सिमाना भारतसँग जोडिएको छ । जसमा सुनसरी, मोरङ, झापा भारतको विहार राज्य र झापाको मेची खोला पूर्व उत्तरमा र इलाम जिल्ला पश्चिम बंगाल राज्यसँग सिमाना जोडिएको छ । सुनसरीको मुख्य नाका भेन्टाबारी, मोरङको रानी, झापाको काँकड्भिट्टा र इलामको पशुपतिनगर नाका चुनाव नसकिञ्जेलका लागि सिल समेत गरिएको छ ।

एक नम्वर प्रदेश अनुसार नयाँ संरचनामा कुल १ हजार ३४९ स्थानीय तह छन् । एक महानगरपालिका दुई उपमहानगरपालिका, ६० नगरपालिका, १०८ गाउँपालिका र १ हजार ४७८ वडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment