Comments Add Comment

आफ्नै सरकारलाई गगन थापाको प्रश्न- बम पड्काउदै हिँड्नेलाई छुट किन ?

'विप्लव समूहबारे सरकारको दृष्टिकोण केहो ?'

२१ मंसिर, काठमाडौं । कांग्रेस उम्मेदवार एवम् काठमाडौं क्षेत्रनम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले सरकारले बम पड्काउनेलाई छुट दिएको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

विप्लव समूहको बम आक्रमणबाट घाइते समेत भएका थापाले डिल्लीबजारको चारखालस्थित मतदान केन्द्रमा अनलाइनखबरसँग कुरा गर्दै भने, ‘सरकारले हिजो मात्रै हिंसात्मक घटनामा विप्लव माओवादीको हात छ भनेको छ । यदि त्यसो हो भने विप्लवले यो छुट किन पाउने ?’

उनले विप्लव समूहबारे सरकारको दृष्टिकोण केहो भनेर प्रश्न समेत गरे ।

निर्वाचनपछि कुनै पनि समूहले हिंसा गर्ने छुट पाउनुहुन्न भन्दै थापाले हिजो हिंसाको राजनीति गरेर आएकाहरुले पनि हिंसा कुनै पनि प्रसंगमा ठीक थिएन भन्नुपर्ने धारणा राखे । उनले भने, ‘प्रचण्ड, बाबुराम वा अरु कोहीले जबसम्म हिजो हामीले गरेको आन्दोलन ठीक थियो भनिरहनुहुन्छ तबसम्म यस्ता घटना घटिरहन्छ ।’

प्रचण्ड-बाबुरामहरुले हिजो जनयुद्ध सुरु गरेका थियौं त्यसकारण हिजोको हिंसा ठीक थियो भन्ने गरेकाले पनि हिंसा गर्नेहरुलाई प्रेरणा मिलेको उनको भनाइ थियो ।

‘जबसम्म हामीले हिजोको हिंसा गलत थियो भन्दैनौ भोलि पनि हिंसा गर्नेले आफ्नै कारण पेश गर्छ । तसर्थ अब यो निर्वाचनपछि हिजोको हिंसा, आज वा भोलि सँधै गलत थियो भनेर भन्नुपर्छ,’ उनले भने ।

बम बनाउने र बम हान्ने कुरालाई कुनै पनि दृष्टिकोणले राम्रो मान्न नसकिने धारणा राख्ने नेता थापाले हिंसाको राजनीति सकिएको संकेत दिन र मुलुकलाई संविधानको ट्रयाकमा अघि बढाउन मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment