+
+
Shares

टिनएज प्रेग्नेन्सीको भयावह कथाः १८ बर्ष नपुग्दै आमा

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०७४ पुष ४ गते १२:४८

इन्दिरा कार्की १९ बर्षकी भईन, तर उनको विवाह करिब २ बर्ष अगाडि नै मलेशियामा काम गर्ने दिपकसँग भयो । विवाह पछि घुमघाम र रमाईलोमा ब्यस्त जोडिको विदाको अवधि सकिने बेलामा ईन्दिरा गर्भवती भईन् र उनले केही दिन अगाडि मात्र १ किलो ६ सय ग्रामको छोरा जन्माईन । सुनसरी घर भएकि इन्दिराको गर्भको अवधि ३३ हप्ता नपुग्दै अर्थात ७ महिना १८ दिनमा नै ब्यथा लागेर अस्पताल आईन् ।

उनको पाठेघरको मुख खुलिसकेका कारण ब्यथा रोक्न सकिएन र कम तौल तथा अवधि नपुगेको (प्रिटर्म) बच्चा जन्मियो । किसोरी अवस्थामा गर्भवती हुने र गर्भको जटिल्ता भोग्नु पर्ने एक्ली होइनन् । अरु थुप्रै किशोरी अहिले आमा बनिरहेकी छिन् । शरीर विज्ञानको हिसावले यो सही उमेर होइन । किशोरवयमा गर्भ बोक्दा, बच्चा जन्माउँदा त्यसले उनीहरुको स्वास्थ्यमा गंभरि असर पुग्छ । मानसिक रुपमा पनि यसको प्रभाव रहन्छ ।

१९ बर्ष नपुग्दै बिहे !

हामीकहाँ भनाई छ, विस बर्ष पारी, विहेवारी । यो त्यसै भनिएको होइन । यसले शारीरिक, मानसिक, सामाजिक अर्थ राख्छ ।

किशोरवय बच्चा पाउने उमेर हुँदै होइन । तर, यो संवेदिनसिलतालाई हामीले बुझिरहेको छैनौ । ‘डेमोग्राफी एण्ड हेल्थ सर्भे २०११’ ले प्रकासन गरेको तथ्यांक अनुसार औसत महिलाहरुको बिवाह १७ दशमलव ५ बर्ष रहेको छ भने ७१ प्रतिसत महिलाको विवाह किसोरी अवस्थामा अर्थात १९ बर्ष नपुग्दै हुने गरेको छ ।

सोहि तथ्यांक अनुसार एक चौथाई महिलाहरुले १८ बर्ष नपुग्दै पहिलो सन्तान जन्माउने गरेकी छिन् भने ५० प्रतिसत महिलाहरुले २० बर्ष भित्र नै पहिलो सन्तान जन्माउने गरेकी छिन् ।

हुन त किशोरावस्थामा विवाह गर्ने तथा बच्चा पाउने प्रचलनमा केहि सुधार आएको छ । अध्ययन तथा रोजगारका कारण विवाह गर्ने उमेर तथा गर्भवती हुने उमेरमा पनि सकारात्मक सुधार भएको छ तर सन्तोषजनक छैन ।

बर्षेनी ७ लाख ५० हजार किशोरी गर्भवती

अमेरिकन कलेज अफ अब्सटि्रसिगन एण्ड गाईनोकोलाजिस्टले दिएको सन् २०१५ को प्रतिवेदन अनुसार अमेरिकामा मात्र बर्षेनी ७ लाख ५० हजार किशारीहरु -टिनएजर) गर्भवती हुने गरेका छन् । यस मध्ये ८० प्रतिसत गर्भ अनिच्छित रहेको र ५० प्रतिसत भन्दा बढिले गर्भपतन गर्ने गरेको छ ।

विश्व स्वास्थ्य संघ (डब्लु एच ओ) ले प्रकाशन गरेको सन् २०१४ को तथ्याङ्क अनुसार एक करोड छाठि लाख किशोरीहरु (१५ देखि १९ बर्षका) बर्षेनी गर्भवती हुने गरेको छ र १० लाख किसोरीहरु १५ बर्षमा नै आमा बन्ने गरेको छ ।

यी गर्भवतीहरु मध्ये ९५ प्रतिसत कम तथा मध्यम आय भएका मुलुकहरुका हुने गरेको छ । सोही तग्यांक अनुसार १५ देखि १९ बर्षका किसारीहरुका मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव रहने गरेको देखाएको छ ।

ब्वाइफ्रेन्ड छुट्ने भयले यौन सम्पर्क

किसोरकिसोरीहरु साथी बनाउन मन पराउने, साथिहरु बस्न तथा रमाउन रुचाउने हुन्छन् । अमेरिकन एक अर्को अध्ययनले किसारी अवस्थामा गर्भवती भएकाहरु मध्ये २९ प्रतिसतले आफ्नो केटा साथिको दवाबमा आएर यौनसम्पर्क राखेको तथा ३३ प्रतिसतले आफु गर्भको लागि तथा यौनसम्पर्कको लागि तयार नभए पनि साथि छुट्टनिे डरले सम्पर्क गरेको बताए ।

पढाईको शिलशिलामा घर बाहिर बस्ने, आमाबुबासंग धेरै कुरा गर्न नसक्नु, एक्लोपन, कुलत तथा मद्यपान, अनि ज्ञानको कमिले पनि किसारीहरु गर्भवती हुने गरेको सो अध्ययनमा उल्लेख गरिएको छ ।

किशोरी गर्भः कति खतरनाक ?

गर्भावस्था आफैंमा एउटा जटिल अनि बिशेष अवस्था हो । यस अवस्थामा एकातिर आमा बन्ने खुशी जोडिएको हुन्छ भने अर्कोतर्फ महिलाको स्वास्थ्यमा गम्भिर र ज्यान जाने खतरा समेत रहन्छ । किशोरावस्थामा गर्भवती भएमा स्वाभाविक रुपमा गर्भका जटिल्ताहरु बढि आउने हुन्छन् । भारतको वेश्टबंगालमा गरेको अध्ययनले यसलाई पुष्टि गरेको छ ।

गर्भवती महिलाहरुलाई उमेरका आधारमा तीन समुह बनाएर गरेको सो अध्ययनमा २० बर्ष भन्दा कम उमेरका गर्भवती महिलालाई एउटा समुह, २० देखि ३० बर्षलाई दोस्रो र ३० बर्ष पार गरेको गर्भवतीहरुलाई तेस्रो समुहमा राखिएको थियो । सो अध्ययन अनुसार २० बर्ष भन्दा कम उमेरमा बच्चा जन्माउदा एकातिर मातृमृत्यु दर बढि हुन्छ भने अर्कोतर्फ बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढि हुने गरेको पाईयो ।

अनेकौ जटिलता

कम उमेरमा गर्भवती हुदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ता भन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धि जटिल्ताहरु थपिने सम्भावना बढि रहेको हुन्छ । गर्भको जटिल्ताले आमाको स्वास्थ्यमा मात्र होईन गर्भको बच्चामा पनि प्रतिकुल असर गरेको हुन्छ ।

यस्ता बच्चाहरु कम तौलका हुने, राम्रो शारिरिक विकाश नहुने तथा कन्जेनाईटल डिफेक्ट (जन्मपुर्व नै खराबी) हुने सम्भावना बढि हुन्छ । विश्व स्वास्थ्य संघको तथ्याङ्क अनुसार २० बर्ष भन्दा कम उमेरमा बच्चा जन्माउदा, बच्चा जन्मिने बितिकै वा जन्मेको पहिलो हप्तामा मर्ने सम्भावना ५० प्रतिसतले बढि हुन्छ ।

अफ्रिकन मुलुकहरुमा २० बर्ष भन्दा कम उमेरमा आमा बन्नेहरुमा पाईल्स तथा मलद्धारको फिस्टुला बढि हुने गरेको पाईयो । २० बर्ष नपुग्दै आमा बन्ने अधिंकाश किशोरीहरु कम आयश्रोत भएका तथा आर्थिक रुपमा बिपन्न रहेको कारणले यिनीहरुमा अन्य समस्याहरु पनि बढि हुने गरेको पाईन्छ । यिनीहरुले नियमित रुपमा गर्भको परिक्षण पनि नगरेका कारण बढि समस्या हुने विज्ञहरुको अनुमान रहेको छ ।

अब के गर्ने त ?

किशोर अवस्थामा गर्भवती बन्नबाट रोक्न “बिहेवारी २० बर्ष पारीको नारा दिएर मात्र पुग्दैन । अझै पनि स्कुले जीवनमा नै गर्भवती हुने, असुरक्षित गर्भपतन गर्ने किसोरीहरुको संख्या उच्च रहेको छ । त्यस्तै किसारी अवस्थामा नै बैबाहिक बन्धनमा बाधिनेहरुको संख्या कम छैनन् । गर्भको जटिल्ताले किसोरीहरुको ज्यान जोखिममा पर्ने त छदैछ ।

प्रेम, असुरिक्षत यौनसम्पर्क र सोहि कारणले केहि किसारीहरुले आत्महत्या समेत गर्ने गरेको पाईन्छ । किशोर अवस्था तथा प्रजनन् स्वास्थ्यका बारेमा केहि जानकारी बिद्यालय शिक्षँमा समाबेश गरेको भए पनि यस अवस्थामा हुने चरम यौन चाहना तथा गर्भ रोक्ने उपायका बारेमा किशोर-किशोरीहरुलाई पर्याप्त जानकारी रहेको पाईदैन ।

अशिक्षित, निमुखा किशोर-किशोरी देखि लिएर स्कूल, कलेजका किशोर-किशोरीहरु, अभिभावक, शिक्षक अनि समाजका सबै बर्ग र समुदायलाई २० बर्ष पार नगरि गर्भवती नहुन दिन प्रेरित गर्नु पर्ने देखिन्छ । सम्यमित यौन व्यबहार, परिवार नियोजनका साधनहरु तथा आकस्मिक गर्भनिरोधक साधनका बारेमा पुर्ण जानकारी, सुरक्षित यौनसम्र्पक आदि गर्भ रोक्ने उपाय हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?