Comments Add Comment

अस्थायी मुकाम बुटवल तोकिने हल्लाले दाङमा शुरु भयो आन्दोलन

२ माघ, दाङ । सरकारले ५ नम्बर प्रदेशको अस्थायी मुकाम बुटवल घोषणा गर्न लागेको चर्चा चलेपछि दाङमा आन्दोलन शुरु भएको छ ।

दाङको मुख्य बजार घोराही र तुलसीपुरमा मंगलबारदेखि प्रदर्शन शुरु भएको छ । प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी गर्दै बजार परिक्रमा गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा तुलसीपुरमा र दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा घोराहीमा जुलुस निकालिएको छ । सरकारले ५ नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई नतोके पूर्व पश्चिम राजमार्ग अनिश्चितका लागि बन्द गर्ने आन्दोलनकारीले चेतावनी दिएका छन् ।

भौगोलिक र सामरिक हिसाबले दाङ प्रदेशको राजधानीका लागि उपयुक्त रहे पनि केही नेताहरुको पहुँचको भरमा बुटवल घोषणा गर्न लागिएको उनीहरुको आरोप छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले सीमा क्षेत्र भएकाले बुटवल राजधानीका लागि उपयुक्त नभएको जिकिर गरे ।

‘दाङमा बाक्लो हुस्सु लाग्दैन, बाह्रै महिना हवाई सेवा सञ्चालन गर्न सकिन्छ,’ रिजालले भने, ‘बुटवललाई पर्यटकीय राजधानी, नेपालगञ्जलाई औद्योगिक राजधानी र दाङलाई प्रशासनिक राजधानी बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

दाङ जिल्ला उद्योग वणिज्य संघका अध्यक्ष नारायण भुसालले उच्च अदालत र प्रदेश प्रहरी प्रमुखको कार्यालय दाङमा स्थापना भइसकेकाले प्रदेशको राजधानी पनि दाङ नै हुनुपर्ने बताए । उनले मन्त्रीस्तरीय सिफारिस समितिले समेत दाङलाई राजधानी बनाउन उपयुक्त हुने प्रतिवेदन तयार गरेको अवस्थामा बुटवल बनाउन खोज्नु राजनीतिक बेइमानी भएको बताए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले ५ नं प्रदेशका १२ वटै जिल्लाको मध्यभागमा पर्ने भएकाले दाङ राजधानीका लागि उपयुक्त भएको बताए । नागरिक अगुवा डिल्लीबहादुर रावतले भारतीय पक्षको दबाबमा सिमानामा राजधानी तोक्न खोजिएको आरोप लगाए । नेपालको आन्तरिक सुरक्षाका लागि सीमा क्षेत्रमा राजधानी तोक्न नहुने उनको भनाइ छ ।

मंगलबार मन्त्रिपरिषदले प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरे पनि बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment