Comments Add Comment

१० वर्षसम्म अध्ययनमै सीमित घोराही चक्रपथ जनप्रतिनिधि आएपछि खारेज

२ माघ, दाङ । पुरानो घोराही नगरपालिका क्षेत्रलाई समेट्ने गरी प्रस्ताव गरिएको घोराही चक्रपथ योजनालाई नवनिर्वाचित जनप्रतिनिधिले खारेज गरिदिएका छन् । यस वर्ष नगरपालिकाको क्षेत्र विस्तार भएर उपमहानगरपालिकामा परिणत भएपछि प्रस्तावित चक्रपथ अध्ययनको काम नै रोकिएको छ ।

आर्थिक वर्ष २०६४/०६५ को १३ औं नगरपरिषद्ले नगरपालिकाका सबै वडालाई समेट्ने गरी चक्रपथ योजना अघि सारेको थियो । पटक पटक हुने कार्यकारी अधिकृतको सरुवा र सर्वदलीय बैठकमा प्रतिनिधित्व गर्ने नेताहरुको फेरबदलले चक्रपथको काम अलमलमै रहेको थियो । दुई वर्षअघिको नगरपरिषद्सम्म चक्रपथ निर्माणका लागि बजेट विनियोजन हुँदै आएको थियो ।

‘साविकको नगरपालिकाको क्षेत्र विस्तार भएर उपमहानगरपालिका भइसकेको छ’, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले भने, ‘अब नयाँ विस्तारित क्षेत्रसहित तुलसीपुर उपमहानगरपालिकालाई पनि समेटेर चक्रपथ निर्माण गर्नुपर्नेछ ।’ यस विषयमा आफूले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयसँग समेत कुरा गरिसकेको उनले जानकारी दिए ।

दश वर्ष पहिले चक्रपथ निर्माणको कुल लागत ११ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । चक्रपथको क्षेत्र बढ्नुका साथै महंगीसमेत धेरै बढेकाले लागत कयौं गुणा बढ्ने अनुमान गरिएको छ ।

तत्कालीन नगरपालिकाले पाँच वर्ष अघिदेखि चक्रपथको ट्रयाक खोल्न शुरु गरेको थियो । तर ५ सय मिटर ट्रयाक खोलिनसक्दै स्थानीय उपभोक्ताले अदालतमा मुद्दा दायर गरेपछि काम रोकिएको थियो । अदालतले ५१ प्रतिशत उपभोक्ताहरुको सहमति खोजेको छ, तर अन्तिमसम्म उपभोक्ताहरुको सहमति जुट्न सकेको थिएन । एकातर्फ उपभोक्ताहरुको सहमति नजुट्नु र अर्कोतर्फ उपमहानगरको क्षेत्र विस्तार हुँदा प्रस्तावित चक्रपथ नबन्ने निश्चित जस्तो भएको छ ।

उप-महानगरपालिको सन्तुलित विकाशका लागि चक्रपथ अपरिहार्य भएको नगरप्रमुख चौधरीले बताए । ‘हामीले विकासको कामलाई गाउँ तहसम्म पुर्‍याउनु पर्नेछ,’ उनले भने, ‘चक्रपथमार्फत बजार क्षेत्र र ग्रामीण क्षेत्रलाई जोड्नुपर्नेछ ।’

नयाँ जनप्रतिनिधिहरुले पुरानो अध्ययनको चक्रपथलाई नबनाउने जानकारी दिएपछि स्थानीय वासिन्दा दुखी भएका छन् । स्थानीय सोमलाल बस्नेतले साविकको प्रस्तावित चक्रपथलाई जसरी भए पनि बनाउनुपर्ने बताउँछन् । ‘बरु बाहिरी र भित्रि चक्रपथको अबधारणा ल्याउन सकिन्छ, यसरी विकास निर्माणमा अलमल गर्नु राम्रो होइन,’ उनले भने, ‘फेरि पाँच वर्षपछि नयाँ जनप्रतिनिधि आउलान्, उनीहरुले अर्कै योजना लयाए भने के हुन्छ ? यसरी विकास निर्माणको काममा खेलवाड गर्न पाइदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment