Comments Add Comment

गणतन्त्रका लागि लड्ने गुरुलाई कांग्रेसको दण्ड !

१० माघ, काठमाडौं । जतिबेला नेपाली कांग्रेस संवैधानिक रातजन्त्रको पक्षमा थियो, गगन थापा र गुरु घिमिरेहरुले सडकमा गणतन्त्रको पक्षमा नारा लगाए । राजदरबार अगाडि उभिएर गणतन्त्रको माग गर्दार् राजद्रोहको मुद्दा लाग्यो ।

तर, राष्ट्रियसभाको उम्मेदवार छनोट गर्दैगर्दा कांग्रेसले तिनै गुरु घिमिरेलाई भने बिर्सिएको छ ।

गगन थापा प्रत्यक्ष निर्वाचित भएर सांसद भइसकेका छन् । तर, गुरुले न प्रदेश वा प्रतिनिधिसभाको टिकट पाए, न राष्ट्रियसभा सदस्यको ।

प्रदेश १ का ८ सिटमध्ये कांग्रेसले खुला र महिलातर्फ एक/एकजना उम्मेदवार उठाएको छ । खुलामा रमेशजंग रायमाझी र महिलातर्फ सरिता प्रसाईले टिकट पाएका छन् । अर्थात गुरुको सट्टा रायमाझी आएका छन् ।

यो निर्णय पछिल्लो केन्द्रीय कार्यसमितिको म्याण्डेट अनुसार नभएको नेताहरु बताउँछन् । कांग्रेसको पछिल्लो बैठकमा जोडदाररुपमा उठेको आवाज थियो कि केन्द्रीय समितिमा रहेको तर चुनाव लड्ने वा संसदमा जाने अवसर नपाएकालाई दिनुपर्छ, अवसर पाएकालाई दोहोर्‍याउनुहुँदैन ।

यो आधारमा गुरु घिमिरे स्वाभाविक दाबेदार थिए । केन्द्रीय समितिका अधिकांश नेताहरुले कि टिकट पाए कि समानुपातिकमा परे । तर, उनले प्रतिनिधिसभा त के प्रदेशसभाको पनि उम्मेदवार बन्ने अवसर पाएका थिएनन् ।

तर, देउवा र रामचन्द्र पौडेल दुबैको प्राथमिकतामा नपर्दा गुरुले राष्ट्रियसभाको पनि टिकट नपाएको एक नेताले बताए ।

टिकट पाएका रायमाझी नेवि संघका पुराना नेता हुन् । केजीबी समूह अर्थात खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजय गच्छदार टिमका सदस्य थिए । यो समूहमा अर्जुननरसिंह केसी थपिएपछि यो समूहलाई एकेजीबी पनि भनिथ्यो । पछि रामाझी गच्छदार निकट रहे र पैसा कमाए ।

त्यसपछि फिल्म निर्माणतिर लागेका रायमाझीले ०७० को चुनावमा मोरङबाट टिकट पाए तर, एमालेका चन्द्रबहादुर गुरुङसँग हारे । यो पटक भने खुमबहादुरका कारण उनले राष्ट्रिय सभाको टिकट पाएका छन् ।

स्रोतका अनुसार खुमबहादुरले प्रदेश १ मा रमेशजंग नभए प्रदेश ५ मा दुर्योधन चौधरीलाई टिकट दिनुपर्ने सर्त राखेका थिए । तर, देउवाले चौधरीलाई टिकट दिन मानेनन् बरु रमेशलाई टिकट दिए ।

प्रदेश १ बाट पुरुष खुलामा कांग्रेसले जित्न सक्ने सम्भावना भएको त्यही एक सिट थियो ।

उसो त गुरुले टिकट नपाउनुमा देउवा मात्र होइन, रामचन्द्र पौडेल पनि त्यतिकै दोषी छन् । गुरु पार्टीभित्रको गुटमा पौडेल समूहमा छन् ।

तर, पौडेलले प्रदेश १ मा गुरुको सट्टा सरिता प्रसाईँलाई आफ्नो प्राथमिकतामा राखे । यसअघि पनि पौडेलले टिकटका लागि पनि लडेका थिए ।

राष्ट्रियसभामा सरिता बनाउँदा उनले गुरुलाई छाडेको भन्दै एक नेताले अनलाइनखबरसँग भने, ‘गुरु त फुटबल बने, उनलाई न रामचन्द्रले बोके, न देउवाले हेरे ।’

गुरुले टिकट नपाउनुको अर्को कारण महेश आचार्य हुन् । मोरङका नेता आचार्यले प्रदेश वा प्रतिनिधिसभाको टिकट नदिन भूमिका खेलेका थिए । आचार्यसहित मोरङबाट चुनाव लडेका नेताहरुले चुनावका बेला नै राष्ट्रियसभामा लैजाने बचन दिएको र खुमबहादुर खड्का समूहले दाह्रो साथ दिएका कारण रमेशजंग हाबी भएको बताइएको छ ।

कल्याणको पनि उस्तै नियति

कांग्रेसमा पटकपटक अवसरबाट बञ्चित गरिएका नेताहरु गुरु घिमिरेजस्तै अरु पनि छन् । उनीहरु मध्ये विद्यार्थी राजनीतिबाट आएका कल्याण गुरुङ पनि एक हुन् ।

गुरुङले महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहेका थिए । जिल्लाबाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएको पनि थियो तर, पार्टीले न प्रत्यक्षको टिकट दियो न समानुपातिकमा राख्यो । हुँदाहुँदा राष्ट्रियसभामा पनि नपरेपछि गुरुङ असन्तुष्ट देखिएका छन् ।

राष्ट्रियसभाको उम्मेदवार छनोटबारे सोध्दा उनले पार्टी सभापतिलाई नै सोध्नुस् भनेका छन् ।

मापदण्ड कागजमै सीमित

चुनावको समीक्षाका क्रममा कांग्रेसका थुप्रै नेताहरुले पार्टी विधिसम्वत रुपमा नचलेको बताउँछन् । पछिल्लो बैठकमा धेरैले अवसर पाएकालाई नदोहोर्‍याउने केन्द्रीय कार्यसमितिको निर्णय विपरीत समानुपातिक सूची बनाएको भन्दै आक्रोस पोखे । तर, फेरि त्यही नियति दोहोरिएको छ ।

राष्ट्रियसभाका उम्मेदवार छनोट गर्दा नेताहरुले आफू निकटहरुलाई नै प्राथमिकता दिए । अवसर नपाएका भन्दा पटक-पटक अवसर पाएकाहरु नै हावी भएका छन् । राधेश्याम अधिकारी, बृन्दा थापा, अनिता देवकोटा, मुक्ताकुमारी यादव लगायतका अवसर पाएकाहरु नै टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment