Comments Add Comment

एमालेमा जबजको कचिङ्गल र ‘सच्चा जबजवादी’

लेनिन भन्थे- एउटा जीवन्त पार्टीभित्रको वैचारिक कचिङ्गल खुकरीमा सान लगाएजस्तै हो । त्यसैले बोल्सेभिकको दशौं महाधिवेशन अघिसम्म पार्टीभित्र विभिन्न वैचारिक गुट, मञ्च र आ-आफ्नै मुखपत्रहरु सञ्चालित थिए ।

असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन र पार्टी एकताको घोषणा भयो । चुनावपछि पार्टी एकताको सैद्धान्तिक पक्षमा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले ‘जबज र माओवादको च्याप्टर क्लोज’ भएको बताएपछि एमाले वृत्तमा खैलाबैला मच्चियो । ‘राजनीति’ले मुर्झाएका केही ‘एमाले’ एकाएक ब्युँझिए । सञ्चार माध्यम र सामाजिक सञ्जालभरि ‘जबजको रक्षा’ गर्न केही ‘सच्चा जबजवादी’हरु जुर्मुराए ।

‘सच्चा जबजवादी’ हरु ठीक त्यसरी नै जुर्मुराए, जसरी ब्रुनो बाउएरहरु ‘सच्चा हेगेलवादी’ आफूहरु भएको दाबी गर्दै कार्ल मार्क्स विरुद्ध खनिएका थिए । वस्तुतः न मार्क्र्स हेगेलको विरुद्धमा थिए, न त सच्चा हेगेलवादी बन्ने ध्याउन्नमा थिए । बरु हेगेलको सीमिततालाई समृद्ध पार्न प्रयासरत थिए ।

तथ्यपरक, बिनापूर्वाग्रह र सिद्धान्तका आधारमा स्वस्थ बहस भयो भने यो कचिङ्गलले पनि राम्रै परिणाम दिनेछ । एमाले नेता शंकर पोखरेलले पनि केही समयअघि जबजलाई आजको सामाजिक-आर्थिक आयामको आलोकमा विकास गर्नुपर्ने बताएपछि अब जबजमाथिको बहस फलिभूत हुन सक्ला Û

के हो जबज ?

जबज के हो ? यो बुझ्न पुष्पलालले नेपालमा ल्याएको माओ त्सेतुङको ‘नौलो जनवाद’ बुझ्न आवश्यक हुन्छ । नौलो जनवाद बुझ्न रुसको ‘जनवादी क्रान्ति’ बुझ्न आवश्यक हुन्छ । अनि, जनवादी क्रान्ति बुझ्न मार्क्र्सको ‘सर्वहारा क्रान्ति’ बुझ्नै पर्दछ । नत्र जबजको मात्रै हाँगा हल्लाएर आवश्यक ‘फल’ झर्दैन/पाइँदैन । यसको जराबारे थोरै जानकारी राख्नु आवश्यक हुन्छ ।

यो छोटो लेखमा सबै पक्षको चर्चा त सम्भव हुन्न, त्यसैले अन्तरवस्तुको मात्रै कुरा गरिनेछ ।

‘कम्युनिष्ट घोषणापत्र’को सुरुवात नै ‘पुँजीपति र सर्वहारा’ को चर्चाबाट सुरु हुन्छ । त्यो छोटो अध्यायमा पनि मार्क्र्स-एंगेल्सले पुँजीपति र सर्वहारा वर्गको निकै गहिरो र समष्टिगतरुपमा विषद व्याख्या गरेका छन् । उनका तमाम साहित्य मूलतः पुँजीवादी समाजमा सर्वहारामाथि हुने शोषण र पुँजीपति विरुद्ध सर्वहारा वर्गले गर्ने क्रान्तिको व्याख्यामा केन्द्रित छ ।

गौतम राई

मार्क्र्सको मुख्य तर्क के थियो भने, पुँजीपतिको विरुद्धमा सर्वहाराको नेतृत्वमा क्रान्ति हुन्छ । त्यसका लागि सर्वहाराको बहुसंख्या, उनीहरुको संगठन र उनीहरुलाई नेतृत्व गर्ने ज्ञान नै उनीहरुको विजयको ग्यारेन्टी गर्ने तत्वहरु हुन् । सन् १८७१ को ‘पेरिस कम्युन’ उनीहरुको आँखै अगाडिको सर्वहारा क्रान्ति थियो । तर, त्योे ७२ दिनमात्रै टिक्यो ।

सन् १९०५ मा रुसमा जारशाही सामन्तका विरुद्ध प्रजातन्त्रका लागि क्रान्ति भयो । यो मार्क्स-एंगेल्सले भनेको ‘सर्वहारा क्रान्ति’ भन्दा थोरै भिन्न थियो । तत्कालीन रुसी समाज मार्क्सले भनेको पुँजीवादीभन्दा अलि पछौटे समाज थियो । त्यहाँ पुँजीपति विरुद्ध सर्वहारा/श्रमिकले नभएर जारशाहीविरुद्ध मजदुर र किसानले प्रजातान्त्रिक क्रान्ति गर्‍यो । त्यसकारण यसलाई जनवादी क्रान्ति भनियो ।

यता आएर सन् १९४५-४९ मा माओले चीनमा नयाँ जनवादी क्रान्ति गरे । तत्कालीन चिनियाँ समाज रुस जति पनि विकसित थिएन । त्यहाँ शोषकको रुपमा सामन्त र उसका युद्ध सरदारहरु थिए र शासितको रुपमा किसानहरु थिए, औद्योगिक श्रमिक थोरै थिए । केही भू-भागमा बि्रटिश र जापानको कब्जा समेत थियो । त्यसैले माओले तत्कालीन चीनलाई अर्धसामन्ती-अर्धऔपनिवेशिक समाज रहेको बताए । त्यसकारण त्यहाँ सामन्तका विरुद्ध किसान र मजदुरले क्रान्ति गर्नुपर्छ भन्ने कुरा गरे जसलाई नयाँ जनवादी क्रान्ति भनियो ।

पुष्पलालले माओको साहित्य अध्ययन गरेर के ठम्याए भने, तत्कालीन चीनकै जस्तो सामाजिक-आर्थिक अवस्था (किसानको बाहुल्य, श्रमिकको उदय) नेपालको पनि रहेकोले यहाँपनि हुने कम्युनिष्ट क्रान्ति भनेको नौलो जनवादी क्रान्ति नै हो । यो निश्कर्षका साथ पुष्पलालले नेपालमा कम्युनिष्ट क्रान्ति गर्न कम्युनिष्ट पार्टी गठन गरे ।

यता आएर, नेपालमा कम्युनिष्ट भन्दा पहिले गैरकम्युनिष्ट (कांग्रेस) पार्टीले राजनीतिक नेतृत्व गरिसकेको थियो । नेपालको राजनीति चीनभन्दा बढी भारतबाट प्रभावित पनि थियो । भारतमा कम्युनिष्ट भन्दा नेहरुको काँग्रेस र हिन्दुवादी भाजपाको दबदबा वा प्रतिस्पर्धा थियो । त्यसको असर नेपालमा पर्नु स्वभाविक थियो ।

सोभियत संघ रुस विघटन भएको थियो (यसका आफ्नै कारणहरु थिए) । पुँजीवादीहरुले ‘इतिहासको अन्त्य’को डंका पिटेर कम्युनिष्ट आन्दोलनलाई विद्रूप पारिरहेका थिए । ठीक त्यही परिस्थितिमा मदन भण्डारी आए । नेपालमा चालू जनवादी क्रान्तिलाई नयाँ ढंगले हेरे ।

पुष्पलालदेखि निरन्तर रहेको एकल कम्युनिष्ट पार्टीको राज्य हुने माओको ‘नयाँ जनवादी क्रान्ति’मा बहुपार्टी बीच प्रतिस्पर्धा गरेर क्रान्ति गर्ने कुरालाई ‘बहुदलीय जनवादबारे’ शीर्षक दिएर ०४९ सालमा एमालेको चितवनमा आयोजित बुद्धिजीवी परिषदको भेलामा एक कार्यपत्र प्रस्तुत गरे ।

उक्त कार्यपत्रमा समेटिएका ‘लोकतान्त्रिक विशेषता’हरुका आधारमा तत्कालीन अरु कम्युनिष्ट पार्टीका नेताहरु- मोहनविक्रम सिंह, मोहन वैद्य किरण, निर्मल लामालगायत सबै-सबैले आफूहरुलाई ‘सच्चा कम्युनिष्ट’ दाबी गर्दै मदन भण्डारीलाई संशोधनवादी, विसर्जनवादी, गद्दार, पुनरुत्थानवादी, गैरकम्युनिष्ट आदि-आदि विशेषता र उपमाले विभूषित गरेर हो-हल्ला मच्चाए, मदनलाई लखेटे, गाली गरे, दुत्कारे । ठीक त्यसरी नै खनिए, जसरी आज घनश्याम भुसालहरुमाथि ‘सच्चा जबजवादी’हरु खनिएका छन् ।

मदनलाई क्रान्तिमा विश्वास थियो तर इतिहासको -रुस र चीन) जस्तो एकल पार्टी नभएर बहुपार्टीबीच प्रतिस्पर्धा गरेरै पनि क्रान्ति गर्नुपर्ने परिस्थिति थियो । जुन चितवनमा आयोजित बुद्धिजीवी परिषदको भेलामा प्रस्तुत ‘बहुदलीय जनवादबारे’ कार्यपत्रलाई विस्तारित रुप दिएर एमालेको पाँचौं महाधिवेशनमा उनले ‘जनताको बहुदलीय जनवाद’ शीर्षकमा दस्तावेज पेश गरे । पारित पनि भयो । त्यसको केही महिनामै दुर्घटनामा उनको देहान्त भयो । जबजमाथिको बहस, विमर्श र विकासको पनि अन्त्य भयो ।

छैठौं र सातौं महाधिवेशनमा पुग्दापुग्दै एमालेले जबजलाई ‘सिद्धान्त’ घोषणा गर्‍यो । जबकि मदनले जबजको प्रस्तावनामै ‘नेपाली क्रान्तिको कार्यक्रम’ भनेर लेखेका थिए/छन् । त्यस कार्यक्रमको स्वरुपमाथि के के बहस, विमर्श भयो, के के लागू गरियो, के के हटाइयो, के के थपियो र यो सिद्धान्त भयो ? एउटा ‘कार्यक्रम’ ‘सिद्धान्त’ हुने समाज विज्ञानको विधि के हो ? यसको निराकरण नगरी मदनले लेखेको दस्तावेज जस्ताको तस्तै कसरी सिद्धान्त भयो ?

त्यतिमात्र नभएर अब भन्न थालियो कि जबज ‘नेपालको मार्क्सवाद’ नै भइसक्यो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त बौद्धिक विधिको कसीमा जबजलाई ‘सिद्धान्त’ अझ ‘नेपाली मार्क्सवाद’को रुपमा समालोचना वा विश्लेषण गरे एमालेको वैचारिक हविगत के हुने हो ? दैव जाने ! अनि कसैले, ‘लौन केही गरौं’ भन्यो भने, जबजमाथिको धावा बोल्यो, खबरदार, फूलबुट्टा भर्न पाइन्न, अशुद्ध पार्न आँखा नतरेस् भन्दै ‘सच्चा जबजवादी’हरु कोकोहोलो मच्चाउन थालिहाल्छन् ।

गाली, भत्सर्ना, चरित्रहत्याको नाङ्लो ठटाउन थाल्छन्, ठीक त्यसरी नै, जसरी ‘सच्चा हेगेलवादी’ हुने नाममा ब्रुनो बाउएरहरुले मार्क्स विरुद्ध कोकोहोलो मच्चाएका थिए ।

आज ‘जनताको बहुदलीय जनवाद’ माथि बहस गर्ने नै हो भने कम्तिमा मदनकै जबजको लिखत र माओको नयाँ जनवादको लिखत मात्रै भए पनि अध्ययन गरी बहसमा उत्रिए अलि स्वस्थ, प्राज्ञिक र फलदायी हुने थियो ।

नत्र, जबजका ‘असली व्याख्याता’हरुको मनगढन्ते बेलगाम व्याख्याको आधारमा हैन, स्वयम् मदनले लेखेको ‘जनताको बहुदलीय जनवाद’को लिखतलाई आधार मान्ने हो भने- जबज नेपाली क्रान्तिको कार्यक्रम हो (सिद्धान्त होइन । कार्यक्रम र सिद्धान्तका आ-आफ्नै वैज्ञानिक विधिको कसी हुन्छन् ।)

त्यो (जबज) अर्धसामन्ती, अर्धऔपनिवेशिक समाजमा गरिने जनवादी क्रान्तिको कार्यक्रम हो । जुन बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ र जसले यथासम्भव शान्तिपूर्ण क्रान्ति वा शान्तिपूर्ण तरिकाले शक्तिको सञ्चय गरेर अन्तिममा आवश्यक पर्दा बल प्रयोगमार्फत क्रान्तिको व्याख्या गर्छ ।

संविधानको सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष, कानुनी राज्य, वैदेशिक पुँजी र प्रविधिको उपयोग, क्षतिपूर्तिको नीति, वैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदृढीकरण जस्ता थप १४ विशेषता भएको राज्यको परिकल्पना गरेको छ ।

आज हामीले ०६२/६३ को जनआन्दोलनले आधारभूत रुपमा उक्त जनवादी क्रान्ति सम्पन्न गरेका छौं । संविधान जारी गरी उक्त ‘लोकतान्त्रिक विशेषता’ सहितको संविधान पनि जारी गरसकेका छौं ।

जबजको च्याप्टर क्लोज किन ?

सन् १८७१ को पेरिस कम्युन जम्मा ७२ दिन मात्रै टिक्यो ।

सन् १९०५ मा जनवादी रुसमा जनवादी क्रान्ति भयो । सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति भयो, जसलाई समाजवादी क्रान्ति भनियो । लेनिनले क्रान्तिपछिको रुसको सामाजिक, आर्थिक व्यवस्थाको परिकल्पना नगरेका थिएनन् । क्रान्ति लगत्तै उनले घोषणा गरे कि- ‘किसान हो, जमिन अब तिमीहरुकै भयो, जमिन्दारसँग खोस र उपभोग गर’ तर पछि रुसको सामाजिक-आर्थिक परिस्थिति लेनिनको परिकल्पना अनुरुप रहेन र आउँदा आउँदै सन् १९२१ मा पुग्दा ‘नयाँ आर्थिक नीति’ प्रतिपादन गर्नुपर्‍यो ।

यता, सन् १९४९ मा माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सकियो । स्वयम् माओ जिउँदै थिए । उनले पनि क्रान्ति पश्चातको चीनको परिकल्पना नगरी त क्रान्ति गरेका थिएनन् । तर, परिस्थिति उनको परिकल्पना अनुरुप रहेन र ‘सांस्कृतिक क्रान्ति’को नारा लगाउनुपर्‍यो, जुन सफल पनि भएन । पछि १९७८ मा आएर सुँगुर खोरको श्रम शिविरमा लखेटिएका देङ स्याओ पिङले नयाँ सिद्धान्तमार्फत चीनलाई नयाँ बाटो दिनुपर्‍यो ।

तर, यता के छ भने, ०४९ सालमा मदनले क्रान्तिको कार्यक्रम बनाए, उनी स्वयंले पनि क्रान्तिको नेतृत्व गर्न भ्याएनन् । हामीले क्रान्ति गरिसक्यौं । अब क्रान्ति पश्चात क्रान्तिकै कार्यक्रम ठीक छ भन्नु हास्यास्पद कुरा भयो ।

‘कम्युनिष्ट अधिनायकवाद’को देउवा नारा समेत फेल खाइसक्यो, अब नेपालमा कम्युनिष्टहरुको लोकतन्त्रप्रतिको आस्थालाई जनताले पत्याइसके । बरु, कांग्रेसका विचारक प्रदीप गिरीसमेत नेपालको कम्युनिष्टहरुको लोकतन्त्रप्रतिको निष्ठामा निःसन्देह छन् । तर, एमालेकै ‘सच्चा जबजवादी’हरु मदनको १४ विशेषताको लोकतन्त्र रक्षार्थ उभिनु भनेको लोकतन्त्रमाथि हाम्रो निष्ठा दाबी गर्नु नभएर अरु नै केही व्यापार गर्नुमात्रै हुनसक्ला ।

आजको नेपालको सामाजिक-आर्थिक जटिलता, भूराजनीतिक अवस्था, विश्व श्रम बजारको परिदृश्यमा आएको परिवर्तनको बीचमा आज कम्युनिष्ट पार्टीको औचित्य स्थापित गर्ने हो भने ०४९ सालको जबजले बोक्न सक्दैन । त्यसको च्याप्टर क्लोज नगरी त्यसैको र्‍याल-सिंगान लतारेर आजको समाजको दुःखमोचन सम्भवै छैन । बरु त्यसको आधारमा नयाँ बाटो, नयाँ कार्यदिशा तय गर्नुपर्नेछ ।

एमालेमा घनश्याम भुसालहरुले ०६२/६३ को जनक्रान्ति पश्चातको नेकपा एमालेको आठौं महाधिवेशनमा नेपालमा अब जनवादी क्रान्ति सम्पन्न भयो, नेपाली कम्युनिष्ट पार्टीहरुले भन्दै आएको ‘अर्धसामन्ती, अर्धऔपनिवेशिक’ समाज अब पुँजीवादमा रुपान्तरित भयो, त्यसकारण अब नयाँ ‘ठोस परिस्थितिको, ठोस विश्लेषण’ गरी त्यस अनुरुप नयाँ कार्यदिशा तय गर्नुपर्ने कुरालाई ‘पूरक दस्तावेज’को रुपमा पेश गरे । तर, पदको लुछाचुँडीका बीच त्यसलाई ‘पार्टीको सम्पत्ति’को रुपमा थन्क्याएर ‘तिनाउ नदीमा गुटबन्दी बगाउँदै’ एमालेको आठौं महाधिवेशन सकियो ।

यता माओवादीको हेटौंडा महाधिवेशनले पारित गर्‍यो- ‘जनवादी क्रान्ति आधारभुत रुपमा पूरा भयो, नेपाली समाज अब अर्धसामन्ती अर्धऔपनिवेशिक रहेन’ जुन भुसालहरुको समुहले एमालेको आठौं महाधिवेशन मै भनिसकेको थियो ।

पछि एमालेको नवौं महाधिवेशनले पनि- जनवादी क्रान्तिको चरण पूरा भएको, नेपाली समाज अर्धसामन्ती र अर्धऔनिवेशिक नरहेर पुँजीवादी भएको निश्कर्षमा पुगेको घोषणा गरिसकेका छन् । जुन वस्तुपरक, तथ्यपरक समेत छ ।

आज माओवादी र एमाले पार्टी एकीकरण गर्ने दौरानमा छन् । एकीकरण भनेको केही पदहरुको व्यवस्थापन मात्रै हैन । यो कार्यनीति, कार्यदिशामा एकरुपताको पनि विषय हो । उनीहरुको पछिल्लो महाधिवेशनको निश्कर्षलाई आधार मान्ने हो भने कार्यनीति, कार्यदिशामा एकरुपता निर्माण गर्न धेरै सहज बाटो पनि तय भएको देखिन्छ ।

आजको पार्टी एकता भनेको कसैको कसैमाथि विलय नभएर आन्दोलनको संश्लेषण पनि हो । यो माओवाद वा एक्काइसौं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादको समेत संश्लेषणको समय हो ।

आज विश्व बजारमा भौंतारिने करिब ५० लाख युवाशक्ति र हिजोको गुजारामुखी खेतीबाट निस्केको तर बजारमा व्यवस्थापन नभएको मान्छेहरुको दुःख मोचनको नयाँ खाका कोरिनुपर्छ । यो जबज वा माओवादको विरुद्धमा नभएर त्यसैको संश्लेषणात्मक बाटो हो, पाटो हो ।

अन्त्यमा,

‘कम्युनिष्ट घोषणापत्र’मा मार्क्स-एंगेल्स लेख्छन्- ‘पद्दतिका संस्थापकहरु धेरै कुरामा क्रान्तिकारी थिए, तर उनका चेलाहरुले सदैव नै प्रतिक्रियावादी संकीर्ण गुटहरु बनाएका छन् ।’ यो उद्धरण ती हेगेलवादी, ओवेनवादी, फुरियवादीहरुप्रति लक्षित वाक्य थियो, जो गुरुको ‘असली चेला’ बन्ने ध्याउन्नमा गुरुको योगदानको भजनमा मात्र सीमित थिए र त्यसैलाई पवित्र कर्मको रुपमा बुझ्दथे ।

तर, फरक के थियो भने मार्क्स ती गुरुहरुको भजनमा मात्र सीमित भएनन्, बरु उनीहरुको काँधमा टेकेर अघि बढे । आज हामी पनि हाम्रा गुरुहरुको भजन गरेर हैन, काँधमा टेकेर अघि बढ्नुपर्नेछ र आजको संकट मोचनमा गुरुहरुको देनको औचित्य स्थापित गर्नुपर्नेछ ।

नत्र, भजन गाउनुले मात्रै गुरुहरुको योगदानलाई ‘रक्षा र विकास’ गर्न सकिन्न । यो जबजको कचिङ्गलले एकअर्कालाई ‘असली’ र ‘नक्कली’ करार गर्ने नभएर आजको ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरी अघि बढाउने नै छ ।

(लेखक एमालेका युवा नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment