१५ माघ, काठमाडौं । कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ परेकी बैंककी सहायक टेलर दिपिका रेग्मीको आमा समेत सो काण्डमा मुछिएकी छिन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रेग्मीकी आमा पुष्पा पन्त रेग्मीलाई समेत प्रतिवादी बनाएर बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो । उनी फरार छिन् ।
ब्यूरोका अनुसार पुष्पाको खातामा समेत दिपिकाले रकम ट्रान्सफर गरेको देखिएको छ । सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले पुष्पालार्इ समेत प्रतिवादी बनाएर आइतबार बैंकिङ कसुरमा मुद्दा दायर गरिएको बताए ।
यसअघि प्रहरीले दिपिकासहित मुख्य प्रबन्धक प्रेमहरि ढुंगेल, इसीसी प्रमुख गोपाल गिरी, कर्जा प्रमुख महेश्वर मरहट्टा, तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका प्रकाश घतानी र दोलखा घर भइ हाल काठमाडौं बस्दै आएका रमेशकुमार थापालाई पक्राउ गरिसकेको छ ।
यसअघि घटनामा नेपाली सेनाका जर्नेल रमेश बिष्ट समेत मुछिएका थिए । उनका खातामा समेत ट्रान्सफर गराएको रकम भेटिएको थियो ।
यो पनि पढ्नुस्
झण्डै ५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ
कृषि विकास बैंकको भ्रष्टाचार काण्डमा न्यूरोड शाखा प्रबन्धकसहित दुई पक्राउ
कृषि विकास बैंक घोटाला प्रकरणमा मुछिएका जर्नेल सैनिक हिरासतमा
प्रतिक्रिया 4