Comments Add Comment

प्रदेश १ : प्रमुख प्रतिपक्षी दलको नेता को ?

१६ माघ, इटहरी । प्रदेश १ मा शेरधन राई वा भीम आचार्यमध्ये को मुख्यमन्त्री बन्ने चर्चाले प्रमुख प्रतिपक्षी दलको नेताको बहस ओझेलमा परेको छ ।

वाम गठबन्धनको दुईतिहाइ रहेको प्रदेश १ मा कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २१ सांसद छन् । दलीय अंकगणितमै पनि कांग्रेस, एमाले पछिको दोस्रो ठूलो दल हो ।

विपक्षी दलको नेताका लागि कांग्रेेसका तीन नेताको दाबी देखिएको छ । प्रत्यक्ष चुनाव जितेका केदार कार्की, राजीव कोइराला र हिमाल कार्की विपक्षी दलको नेता बन्ने रेसमा देखिएका छन् ।

कार्की मोरङ क्षेत्र नम्बर ६ (ख) का प्रदेश सभा सदस्य हुन् भने कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख) र हिमाल कार्की भने उदयुपुरको क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

केदार कार्की मोरङ सभापतिमा पराजित र नेविसंघका पूर्व केन्द्रीय नेता हुन् । कार्की समर्थकहरुले प्रदेशमा कांग्रेस अल्पमतमा भएकाले युवा नेता आवश्यक भएको भन्दै बलिङ थालेका छन् ।

कार्कीले पनि प्रदेशसभामा आक्रामक र डाइनामिक नेतृत्व चाहिने भएकाले आफ्नो दाबी स्वभाविक भएको बताए । प्रदेश सांसद कार्कीले अनलाइनखबरसाग भनेका छन्, ‘सोलुखुम्बुदेखि सुनसरी र सदनदेखि सडकसम्म व्यवस्थापन गर्ने युवा नेतृत्व चाहिने भएकोले मेरा दाबोदारी हो ।’

संसदीय दलको नेता केन्द्रले तोकेर पठाउने नभई प्रदेशबाटै टुंगो लाउनुपर्नेमा समेत उनले जोड दिएका छन् ।

अर्का दाबेदार राजीव कोइराला सुनसरी सभापति हुन् । चुनावमा कांग्रेस सुनसरीमा ऐतिहासिक जित निकालेकाले उनलाई दलको नेता बनाउनुपर्ने भन्दै समर्थकले लबिङ थालेका छन ।

सुनसरीमा प्रदेशसभाका ८ मध्ये तीन र प्रतिनिधिसभाका चार मध्ये तीन सिटमा कांग्रेसले जितेको छ ।

कोइरालाले दलको नेता बन्न नेताकार्यकर्ताबाट प्रस्ताव आएको र आफ्नो दाबी स्वभाविक भएको बताए ।

प्रदेशसभा कांग्रेसको संसदीय दलको नेताका अर्का दाबेदार हिमाल कार्की उदयपुर कांग्रेसका पूर्वसभापति हुन् ।

आफू प्रमुख दाबेदार भएको भन्दै उनले भने, ‘प्रत्यक्ष चुनाव जितेकाले दलका नेताको दाबेदारीमा म पनि छु । तर, पार्टीको कुनै अर्कोको नाममा सर्वसम्मत निर्णय भएमा मान्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment