Comments Add Comment

जनमतको कसीमा माओवाद र जबजको च्याप्टर

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले साझा घोषणापत्रको आधारमा चुनाव लडेपछि राम्रो सफलता प्राप्त गरे । दुई नम्बर प्रदेश बाहेक सबै प्रदेशमा सुविधाजनक बहुमत र केन्द्रमा झण्डै दुई तिहाई बहुमत प्राप्त भएको छ । यो सफलता प्राप्त हुनुमा नेतृत्वको त महत्वपूर्ण भूमिका छ नै, एमालेले अंगिकार गरेको नीति, सिद्धान्तको समेत महत्वपूर्ण भूमिका छ ।

अहिले पार्टी एकताको सन्दर्भमा नेतृत्व व्यवस्थापनको बहस जसरी सतहमा आएको छ, त्यसरी नै अब एकतापछि बन्ने नयाँ पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त के होला भन्ने अड्कल, अनुमान र बहस पनि शुरु भएको छ ।

एमाले उपमहासचिव घनश्याम भुसालले हालसम्म एमालेले मान्दै आएको आफ्नो मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भएको र अब अगाडि जान नयाँ सिद्धान्तको आवश्यकता औंल्याउन थाल्नुभएको छ भने केही माओवादी नेताहरु माओवादी सिद्धान्त निरन्तर क्रान्तिको सिद्धान्त भएकाले यसैको आलोकमा मात्रै एकता हुन सक्ने बताइरहनुभएको छ ।

नेपालको धरातलीय यथार्थ र माओवादी आन्दोलन नदीको दुई किनाराजस्तै भएका छन् । नेपाली जनताले माओवादलाई भन्दा जनताको बहुदलीय जनवादलाई निक्कै बढी मन पराएको कारणले यो सम्भव भएको हो ।

तर, केही तथ्यहरु यस्ता छन्, जसले उल्लेखित दुबै विचारलाई सोझै खण्डन गर्दछन् ।

क. गठबन्धनको साझा घोषणापत्र

वाम गठबन्धनले तयार गरेको चुनावी घोषणापत्रको शुरुमै भनिएको छ ‘कम्युनिष्ट तथा बामपन्थी शक्तिहरुको नेतृत्व एवं मुख्य भूमिकामा आधारभूतरुपमा सम्पन्न भएकाले सामन्तवादविरोधी लोकतान्त्रिक क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन । यो समाजवाद उन्मुख लोकतन्त्र निरन्तर विकसित भइरहन्छ । प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता, कानुनी राज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, शक्ति पृथकीकरण, धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय, र राज्यका अंगहरुमा समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता विषयहरु नेपाली समाजवादका विशेषताका रुपमा रहेका छन् ।’

निर्मल भट्टराई

बाम गठबन्धनले उल्लेख गरेका समाजवादका उल्लेखित विशेषता र जनताको बहुदलीय जनवादका विशेषता हुबहु मिल्छन् । यस्तो लाग्छ, जनताको बहुदलीय जनवादले नेपालका बामपन्थी शक्तिलाई एक हुने आधारमात्र तयार गरेको छैन, उनीहरुलाई अगाडि बढ्ने राजमार्ग समेत बनाइदिएको छ ।

ख. दुई स्कुलिङको मिलन

लामो समयसम्म नेपालका बामपन्थी शक्ति विभाजित हुँदै आएका थिए । अन्य विषयहरुका अतिरिक्त विभाजनको मुख्य विषय नै उनीहरुले अवलम्बन गर्ने कार्यनीति थियो । एमालेले शान्तिपूर्ण संत्रलमणको बाटो अवलम्वन गरेलगत्तै तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र संघर्षको बाटो तय गरेको थियो । सो अवधिमा नेकपा (एमाले) र माओवादीवीच शत्रुतापूर्ण र मित्रतापूर्ण दुवै सम्बन्ध कायम भयो । अनेकन् छलफल, बहस र सहकार्यपछि उनीहरु ‘शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा गर्दै समाजवादमा संक्रमण गर्ने’ मूल स्पिरिटमा सहमत भएका छन् । पूर्वाग्रह नराख्ने हो भने यो एकताको आधार जबजले बनाइदिएको हो ।

सबैलाई थाहा छ- यो एकता फेरि बन्दुक बोक्नका लागि वा यो वा त्यो बाहानामा सत्ता कब्जा गर्नका लागि हुन लागेको होइन । यो एकता त भर्खरै सम्पन्न निर्वाचनमा जस्तो श्रेष्ठता हासिल गर्ने, सत्ता सञ्चालनमा उच्चतम लोकतन्त्रको अभ्यास गर्ने र आर्थिक समृद्धिमार्फत् शान्तिपूर्ण ढंगले समाजवादमा पुग्नका लागि हुँदैछ । त्यसकारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो छलाङ् ऐतिहासिक छ, अहम् महत्वको छ ।

ग. संकटमा माओवादी आन्दोलन

 

हिजो माओवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेर आएको सबभन्दा ठूलो शक्ति नेकपा -माओवादी केन्द्र) शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादमा पुग्ने मूल स्पिरिटमा सहमत भएर एमालेसँग एकता गर्न लाग्दा ०६२/६३ को जनक्रान्तिबाट आफ्नै सहभागितामा प्राप्त उपलब्धिलाई आत्मासात नगरी माओवादलाई नै अगाडि बढाउन चाहने शक्ति एकदम कमजोर भएको छ ।

किरण र विप्लवले यसलाई अगाडि बढाउन खोजे पनि यो स्कुलिङ्ग अब यहीरुपमा नेपालमा धेरै चल्नेवाला छैन । नेपालको धरातलीय यथार्थ र माओवादी आन्दोलन नदीको दुई किनाराजस्तै भएका छन् । नेपाली जनताले माओवादलाई भन्दा जनताको बहुदलीय जनवादलाई निक्कै बढी मन पराएको कारणले यो सम्भव भएको हो ।

कुनै नेताले कुनै सिद्धान्तको च्याप्टर क्लोज भयो, अब म नयाँ सिद्धान्त बनाउँछु भन्दैमा जनताले सहज स्वीकार गर्ने अवस्था छैन ।

जबजलाई अधिकांश नेपाली जनताले अनुमोदन गर्नु, नेकपा (एमाले) को नेतृत्वमा कम्युनिष्ट आन्दोलन एकतावद्ध हुनु, माओवादी स्कुलिङ छिन्नभिन्न र कमजोर हुनु आदि तथ्यले जनताको बहुदलीय जनवादको सान्दर्भिकतालाई अझ बढाएको प्रष्ट हुन्छ ।

तथ्यका आधारमा सत्यमा पुग्नुपर्छ भन्ने द्वन्द्ववादीहरुले अन्ततोगत्वा यसलाई नस्वीकारी सुख छैन ।

घ. जनतामा आएको अभूतपूर्व चेतना

विगतमा भएका शान्तिपूर्ण र सशस्त्र संघर्षका तमाम आरोह अवरोह देखेर भोगेर आएका नेपाली जनता यति धेरै सचेत भइसकेका छन् कि अब उनीहरु कुनै पार्टी वा नेताको सम्पूर्ण गतिविधिलाई सुझबुझपूर्ण ढंगले नियाल्न सक्षम छन् ।

माओवाद, जबज वा अरु कुनै सिद्धान्तले जनताको कठघरामा नउभिई धरै छैन । कुनै नेताले कुनै सिद्धान्तको च्याप्टर क्लोज भयो, अब म नयाँ सिद्धान्त बनाउँछु भन्दैमा जनताले सहज स्वीकार गर्ने अवस्था छैन । स्पष्ट छ- उनीहरु आफ्नो जीवन व्यवहारमा सहजतापूर्वक उत्रनसक्ने सिद्धान्तको पक्षमा हुन्छन्, न कि व्यवहारमा उत्रन नसक्ने कुनै थोपरिएको सिद्धान्तको पक्षमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment