१९ माघ, पोखरा । आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिसले जित्ला कि थ्रीस्टारले ? उपाधि भिडन्त अघि शुक्रबार विहान भएको पि्रम्याच कन्फरेन्समा दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन् ।
प्रतियोगिताको उपाधि भिडन्त भोलि शनिबार दिउँसो हुँदैछ । उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार आमनेसामने हुँदैछन् ।
पुलिस क्याराभान गोल्डकपसहित आहा ! रारा गोल्डकपको फाइनलमा आठौं पटक पुगेको हो भने ५ पटक उपाधि जितिसकेको छ । पाचौं पटक फाइनलमा पुगेको थ्रीस्टारले यसअघि ४ पटक फाइनल खेलेर चारै पटक उपाधि जितिसकेको छ ।
थ्रीस्टारले भने एएफसी च्याम्पियनसिपमा छनौट भएर पनि एन्फाको लापर्वाहीका कारण प्रतियोगितामा सहभागी हुन नपाएपछि करीब डेढ वर्ष कुनैपनि प्रतियोगितामा सहभागिता जनाएन ।
तर, एन्फाले क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएपछि डेढ वर्षपछि खेलमा फर्किएको थ्रीस्टारमा जितको भोक देखिन्छ । गत हप्तामात्र मदन भण्डारी मेमोरियल ईटहरी गोल्डकपको उपाधि जितेको थ्रीस्टार जितलाई निरन्तरता दिदै दोश्रो उपाधि जित्ने दाउमा छ ।
थ्रीस्टारको सबल पक्ष भनेको टिम गेम हो । रक्षापंक्ति, मध्यपंक्ति र अग्रपंक्तिको कम्विनेसन र कोअर्डिनेसन थ्रीस्टारको गज्जबको छ । वान टच पास खेल्न माहिर थ्रीस्टार टेक्निकल्ली र ट्याक्टीकल्ली दुबैमा सबल छ । नेपाली राष्ट्रिय टिमका वैकल्पिक गोलकिपर एलन न्यौपाने टिममा हुनु थ्रीस्टारको प्लस प्वाइन्ट हो ।
जस्तोसुकै खतरामा पनि उनी बिपक्षी खेलाडीका लागि बाधक बन्नसक्छन् । विक्रम लामा, निराजन खड्का, सुनिल वल, बिजय धिमाल, अनन्त तामाङ जस्ता खेलाडी रहेको थ्रीस्टारलाई २ जना विदेशी खेलाडीले थप बलियो बनाएको छ । पोखरामा क्वार्टरफाइनल र सेमीफाइनलमा वर्क परमिट नभएका कारण विदेशी खेलाडी उतार्न नपाएको थ्रीस्टारले फाइनलमा भने उतार्दैछ । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीका अनुसार अफ्रिकन खेलाडी पिटर सेगुन र अजेयी मार्टिनको वर्क परमिट आइसकेको छ र उनीहरु फाइनल खेलमा मैदान उत्रिनेछन् ।
युवा खेलाडी लिएर मैदानमा उत्रिदै आएको नेपाल पुलिस क्लब भने आफ्नो पुरानो विरासत फर्काउने प्रयासमा छ । पुलिसले पुराना खेलाडीलाई बिदाई गरेर नयाँ खेलाडीलाई टिममा भित्र्याएको छ भने पूर्वराष्ट्रिय खेलाडी अनन्तराज थापाको प्रशिक्षणमा खारिरहेको पुलिस पनि ब्यालेन्स टिम हो ।
फिजिकल्ली बलियो पुलिस टेक्निकल्ली र ट्याक्टीकल्ली पनि कमजोर छैन । यद्यपि पुलिसका युवा खेलाडीमा अनुभवको कमी छ । तर, पनि पुलिसले आहा ! रारा गोल्डकपको पि्र-क्वारटफाइनलमा झापा ११, क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी र सेमीफाइनलमा धरानलाई हराएर फाइनलमा आइपुगेकाले मनोवल उच्च छ । पुलिससँग भविष्यको राष्ट्रिय टिममा स्थान बनाउन सक्ने गोलकिपर शत्रुघन चौधरी छन् । पुरानो लय समात्ने प्रयासमा रहेको पुलिसमा हेम तामाङ, सुमन लामा, निरकुमार राई, रवि पासवान, अजित भण्डारीलगायतका खेलाडी छन् ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले शनिबार आफूहरु जित्नको लागि मैदानमा उत्रिने बताए । उनले भने, ‘प्रतिद्वन्द्वी टिमलाई हामी कमजोर आँक्दैनौं, तर उनीहरुले भन्दा हामी बढी मेहनत गरेर खेल्छौं र जित्छौं पनि ।’
यस्ता प्रतियोगिताको उपाधि मनोवल उच्च बनाउनका लागि हुने भएकाले जितका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।
थ्रीस्टारका कप्तान विक्रम लामाले इटहरी गोल्डकप जितेपछि मनोवल उच्च भएकाले पोखरामा पनि उपाधि पनि जित्नेमा आशावादी रहेको बताए । उनले आफूहरुले खेलको लय समातिसकेको र जित्नैपर्छ भन्ने चाहना खेलाडीमा रहेकाले खेलमा शतप्रतिशत दिने बताए ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना खेलाडीमा जितको भोक रहेको भन्दै उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए ।
फाइनल खेल सँधै टफ हुने भन्दै त्यसमा खेलाडीले खेलमा न्याय दिएर उपाधि दिलाउने विश्वास व्यक्त गरे । उनले भने, ‘१५/२० दिनको छोटो समयमै मेरा खेलाडीले लय समात्ने कोशिश गरिरहेका छन्, बलिया टिमलाई पनि पराजित गरेकाले मनोवल पनि उच्च छ, यो पोजिटिभ साइन हो ।’
थ्रीस्टारलाई नेपाली फुटवलको पावर हाउस भनेका उनले आफूहरु डराएर नभई जित्नेगरी खेल्ने बताए ।
पुलिसका कप्तान हेम तामाङले पछिल्ला खेलहरुमा बलिया टिम हराएकाले मनोवल उच्च बनेकाले त्यो फाइनल खेलका लागि सहयोगी हुने बताए । उनले भने,’मोरल हाइ छ, जित्नै पर्छ भन्ने भएको छ, हामी जितेर देखाउँछौं पनि ।’
प्रतिक्रिया 4