Comments Add Comment

नेपाल भर्सेस नामिबियाः बर्गरले रोक्लान् कि पारसले ठोक्लान् ?

२४ माघ, काठमाडौं । नेपालले घरेलु टोली नामिबियाविरुद्ध खेल्दै आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगिता सुरु गर्दैछ । प्रतियोगिताबाट विश्वकप छनोट खेल्ने दुई टोलीको टुंगो लाग्नेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन टूमा घटुवा भएको हो । तर, नेपालले अझै विश्वकप छनोट खेल्ने सपना छाडेको छैन ।

नामिबिया पनि नेपालसँगै डिभिजन १ बाट घटुवा भएको टिम हो । दुवै टोली लगभग एउटै स्तरका भएकाले भोलिको खेल रोमाञ्चक हुनसक्छ । यस खेलभित्र पनि विभिन्न खेलाडीहरुबीच व्यक्तिगत प्रतिस्पर्धा हेर्न सकिनेछ ।

पारस भर्सेस बर्गर

जब ब्याटिङको कुरा हुन्छ, नेपाली टोली एकहदसम्म कप्तान पारस खड्काको प्रदर्शनमा धेरै भर पर्छ । पारसका लागि नामिबियाका अनुभवी बलर सारेल बर्गर चुनौती बन्न सक्छन् ।

डिभिजन १ अन्तरगत नेपालविरुद्धको पहिलो दुई खेलमा बर्गरको प्रर्दशनकै भरमा नामिबियाले नेपाललाई टक्कर दिएको थियो । २०१६ अप्रिलमा नेपाल आएको नामिबियाका बर्गरले पहिलो खेलमा पारसको विकेट लिए भने दोस्रो खेलमा तीन विकेट चड्काए । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा बर्गरले १४ खेलमा १३ विकेट लिएका छन् ।

शरद भर्सेस स्कोल्ज

यदि नामिबियाका दर्शकहरुलाई डिभिजन वान खेलेका कुन नेपाली ब्याट्सम्यानलाई सम्झनुहुन्छ भनेर सोध्ने हो भने पक्का शरद भेषावकरको नाम लिन्छन् ।

काठमाडौंमा भएको दुबै खेलमा शरदको नामिबियाका लागि घातक बनेका थिए । पहिलो खेलमा ९९ बलमा ५० रन बनाएका उनले दोस्रो खेलमा नटआउट ७४ रन बनाए ।

अर्कातिर बर्नान्ड स्कोल्ज छन्, जसले डिभिजन १ मा १५ विकेट लिएका थिए । भोलिको खेलमा लेफ्ट आर्म स्लो अर्थोडक्स स्कोल्ज शरदका लागि बाधक बन्न सक्छन् ।

सन्दिप भर्सेस बर्ड

नामिबियाका पूर्व कप्तान एवं ओपनिङ ब्याट्सम्यान स्टफेन बर्डले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो स्ट्राइक रेट १०० माथि नै कायम राखेका छन् । उनले क्रिजमा लय समातेपछि आउट गर्न जो सुकै बलरलाई गाह्रो हुन्छ ।

नेपालविरुद्ध पहिलो खेलमा सोमपाल कामीको बलमा उनी १८ रनमा एलबीडब्लू धरापमा परे । तर, दोस्रो खेलमा उनको ब्याटिङ चल्यो । अर्धशतक पुरा गरेपछि मात्र उनलाई सन्दिप लामिछानेले पभेलियनको बाटो देखाएका थिए ।

सोमपाल भर्सेस ग्रिन

सोमपाल कामी डिभिजन वानमा दोस्रो सर्वाधिक विकेट लिने नेपाली बलर हुन् । उनले १३ खेलमा १५ विकेट लिएका छन् ।

२१ वर्षीय ग्रिनले भने ओपनिङमा बर्डलाई साथ दिनेछन् । उनले डिभिजन वानमा ठूलो पारी त खेलेका छैनन् तर, चौका निकै हानेका छन् । डिभिवन वानमा ९ खेल खेलेका उनले २४ चौका हानेका छन् ।

उनलाई रोक्ने प्रमुख जिम्मेवारी नेपाली टोलीमा सोमपालकै हुनेछ ।

दिपेन्द्र भर्सेस स्मिट

नेपालका दिपेन्द्रसिंह ऐरी स्ट्राइक रोटेट गर्न र बाउन्ड्री नआउँदा पनि १/२ रन चोर्न माहिर छन् । तर, नामिबियाका २२ वषर्ीय लेफ्ट आर्म पेसर जेजे स्मिटलाई रन बनाउने क्रमलाई कसरी रोक्ने भन्ने थाहा छ ।

डिभिजन वानमा उनको इकोनोमी रेट ४.९१ छ, जसमा उनले ६ जनालाई क्याचआउट गराएका छन् । भोलिको खेलमा यी दुईको प्रतिस्पर्धा पनि हेर्न लायक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment