योनीमा किन आउँदैन रस ? यसले किन बनाउँछ सेक्सलाई निरस ?

योनीमा किन आउँदैन रस ? यसले किन बनाउँछ सेक्सलाई निरस ?

म ३३ वरर्षीया विवाहित महिला हुँ । मेरो प्रेमविवाह भएको ६ वर्ष भइसक्यो तर अहिलेसम्म सन्तान भएका छैनन् । मेरो काँधमा परिवारको जिम्मेवारी छ । विवाह भएदेखि नै प्रायः यौन सम्पर्कमा रुचि नहुने, योनी सुख्खा हुने समस्या हुन्थ्यो ।

यो क्रम घटेको छैन । योनी नरसाउने भएकाले यौन सम्पर्कका बेला मलाई निकै पीडा महशुस हुन्छ । यही कारण हाम्रो यौन जीवन निरस भइरहेको छ ।

म श्रीमान्लाई माया गर्छु तर उहाँसँगको यौन सम्पर्क निकै कष्टकर महशुस हुन्छ । यसले मेरो पारिवारिक अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ । उहाँ हाल नेपालबाहिर हुनुहुन्छ र म पनि चाँडै उहाँसँगै विदेश जाँदैछु । ‘तिम्रो समस्या समाधान भएको छैन भने नआउँदा हुन्छ’ भनेर धम्की दिनुहुन्छ ।

उहाँको कुराले मेरो मन खिन्न हुन थालेको छ । केही विशेषज्ञसँग सम्पर्क गर्दा उनीहरुले ‘यो तपाईंको नितान्त मनोवैज्ञानिक समस्या हो’ भनेका थिए । यो समस्या मनोवैज्ञानिक हो कि शारीरिक ? कृपया तपाईंले प्रस्ट पारिदिनुहोला । तपाईंको सहयोग चाहन्छु । -सी

सीजी, तपाईंले राख्नुभएको जिज्ञासाबाट के बुझिन्छ भने यो समस्या श्रीमान्को भन्दा तपाईंसँग बढी सम्बन्धित छ । यौन चाहना बढी मात्रामा हुँदा योनीबाट तरल पदार्थ बढी प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भनेचाहीं महिलाको योनी रसाउँदैन ।

करूणा कुवँर

योनीमा रसिलो पदार्थ प्रवाह भएन भने त्यसले यौन सन्तुष्टीमै आकाश-जमिनको अन्तर गराउँछ । तीव्र इच्छा भएको अवस्थामा तरल पदार्थको प्रवाह कम भएर योनी सुख्खा हुनु स्वाभाविकै हो । सुख्खा भएको बखत दुख्नु पनि अर्को स्वाभाविक पक्ष हो । यो उमेरमा वा बैंसको अवस्थामा हुने सामान्य प्रक्रिया हो ।

सामान्यतया ४५ वर्षमुनिका महिलामा तरल पदार्थको प्रवाह कम हुँदैन । ४५ वर्षमाथिका महिलामा महिनावारी रोकिने भएकाले तरल पदार्थको प्रवाहमा कमी आउँछ । ४५ वर्षको उमेरमा पनि पहिलाजस्तै तीव्र यौन इच्छा हुन्छ र योनीमा तरल पदार्थको प्रवाह हुन्छ भनेर सोच्नु गलत हो ।

तपाईंको हकमा उमेर कम नै भएकाले तनावको कारण हो कि जस्तो बुझिन्छ । यौन सम्बन्धको क्रममा जब योनीमा चाहिने मात्रामा रस निस्कँदैन, तब योनी सुख्खा हुन्छ र यौन सम्पर्क गर्दा पीडा महशुस हुन्छ ।

यसबाट योनीमा संक्रमणको लक्षण देखिनसक्छ । महिनावारी रोकिने क्रममा हर्मोनको परिवर्तनका कारण पनि योनी रसको उत्पादनमा ह्रास आउँछ । बच्चा जन्माइसकेपछि र स्तनपान गराउँदा अक्सिटक्सिन र प्रोलाक्टिनको बढी उत्पादनले पनि योनी सुख्खा हुन्छ ।

यदि कुनै औषधि सेवन गरिएको छ भने पनि योनी सुख्खा हुनसक्छ । यदि यस्ता कुनै पनि कारण होइनन् भने तपाईंमा दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाब, झगडाजस्ता कारण यौन चाहना घट्नुमा जिम्मेवार हुन सक्छन् ।

यौन सम्बन्धको बेलामा पर्याप्त मात्रामा ‘फोर प्ले’को कमीले पनि योनी सुख्खा हुन्छ र दुख्छ । सुख्खा हुँदा योनी चिलाउने, अप्ठ्यारो महशुस हुने, पोल्ने, हल्का रक्तश्राव हुने, छिनछिनमा पिसाब हुने समस्या देखिन्छ । यौन सम्बन्धको राम्रो विस्तार नहुँदा सन्तान प्राप्तिमा पनि ढिलाइ हुन्छ ।

योनीमा देखिएको सुख्खापनका कारण पनि यौन असन्तुष्टि हुन्छ र मानिसमा त्यसको मनोवैज्ञानिक असर पारिरहेको हुन्छ । सन् २००९ मा ४१ देखि ४८ वर्षका ६ सय ७७ महिलामा गरिएको अध्ययनले ६८ प्रतिशत यौन क्रियाकलापमा संलग्न रहेको देखायो । बाँकी ३२ प्रतिशतमध्येका ७० प्रतिशतले उपयुक्त यौनसाथी नपाएकाले सन्तुष्टि नमिलेको बताए ।

यौन सम्पर्क गर्ने मन छैन भने श्रीमान्सँग हँसिलो भएर भन्नुहोस्, ‘डियर, आज हुन्न है’

यस्तै, चार प्रतिशतले योनीको सुख्खापनका कारण हुने पीडाले यौन गतिविधिलाई प्रतिकूल प्रभाव पारेको धारणा व्यक्त गरे । तपाईंको उमेर यो अवस्थामा पुगेको छैन, त्यसैले श्रीमान् वा तपाईंलाई पनि अप्ठ्यारो भएको हुनसक्छ । योनी चिप्लो बनाइराख्न प्राकृतिक तेल प्रयोग गर्न सक्नुहुन्छ । डाक्टरको सल्लाहअनुसार अन्य जेलहरु पनि उपयुक्त हुनसक्छन् ।

आफू यौनका लागि इच्छुक भए/नभएको बारेमा श्रीमानसँग खुलेर कुरा गर्नुस् । यौनमा संवादको ठूलो भूमिका हुन्छ । तपाईंमा यौन इच्छा छ भने त्यहीअनुरुपको आचरण गर्नुस् । यौन सम्पर्क गर्ने मन छैन भने श्रीमान्सँग हँसिलो भएर भन्नुहोस्, ‘डियर, आज हुन्न है ।’

तपाईंको श्रीमान् वास्तवमै तपाईंलाई माया गर्ने खालका हुन् भने उनले यौन सम्पर्कको अपेक्षा नगर्लान् । यौन इच्छाको कमी र योनी सुख्खा हुने समस्याबारे तपाईं श्रीमानसँग सल्लाह गर्नुहोस् । यो समस्या दम्पत्तीको हो, यसलाई मिलेरै समाधान गर्नुहोस् । आपसमा प्रेम र विश्वासको वातावरण बढाउनुहोस् ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा याैन मनोबिज्ञ करुणा कुँवरलाई  [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ ।)

यौन क्षमता
करुणा कुँवर
लेखक
करुणा कुँवर
मनोविज्ञ

क्रिटिलक इन्सिडेन्ट स्ट्रेस म्यानेजमेन्ट सेक्सन (सीआईएसएमएस) संयुक्त राष्ट्रसंघबाट प्रमाणित तनाव परामर्शदाता युनाइटेड नेसन असिस्टेन्स मिसन इन अफगानिस्तानमा स्टाफ काउन्सिलरका रुपमा आबद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय