Comments Add Comment

धरहरा निर्माणमा ढिलाइ, सम्पदाविद भन्छन्-प्रस्ताव नै गलत

'भग्नावशेषलाई सिसामा राखेर नयाँ संरचना बनाउनु अर्थहीन'

भूकम्पले भत्किएको धरहराको भग्नावशेष

२ फागुन, काठमाडौं । सरकारले धरहरा पुनर्निर्माण गर्दा पुरानो ठूटोलाई ‘ग्लास’ ले छापेर राख्ने र अर्को संरचना ठड्याउने तयारी गरिरहेको छ । तर, सम्पदाविद्हरुले यसलाई ‘अर्थहीन’ भनेका छन् ।

धरहराको डिजाइन नै गलत भएको र त्यसले सम्पदा पुनर्निर्माणको मर्म आत्मसाथ नगरेको विज्ञहरुको भनाइ छ ।

सरकारले धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । तर, निर्माण प्रक्रिया थाल्न ढिलाइ भइरहेको छ । नेपाल टेलिकमले निर्माणको मोडेल टुंग्याउन नसक्दा दुई वर्ष ढिलाइ भइसकेको छ । प्राधिकरणको पनि बेवास्ता देखिँदै आएको छ ।

‘शहरभरि धरहराजस्तै आइकनिक संरचना बनिरहेका छन्,’ सम्पदाविद् सुदर्शनराज तिवारी भन्छन्, ‘त्यस्तो संरचना मात्रै बनाउने हो भने धरहरालाई सम्पदा भनिरहनु पर्दैन ।’

प्राधिकरणका प्रवक्ता यमलाल भुसाल भने पुरातत्व विभागकै प्रस्तावअनुसार धरहरा बन्ने बताउँछन् । प्राधिकरणले त्यसलाई पुरातत्व विभागको डिजाइनमै बनाउने लगभग तय गरेको छ । तर, टेन्डरको तयारी थालेको छैन ।

सम्पदाविद् तिवारी भने धरहरालाई स्मारक मात्रै बनाउने हो भने अर्को टावर ठड्याइरहनै नपर्ने बताउँछन् । ‘कि त धरहरालाई सम्पदाकै रुपमा विस्तार गरेर बनाऔं, कि त भग्नावशेषलाई ग्लासभित्र राख्दा मात्रै हुन्छ,’ तिवारी भन्छन्, ‘नभए त्यसलाई कम्युनिकेसन हबका रुपमा विकास गर्न सकिन्छ ।’

विश्वले गरिरहेको भन्दा फरक अवधारणामा त्यस क्षेत्रको विकास गर्नुपर्ने तिवारीको भनाइ छ ।

उनका अनुसार धरहरा अग्लो संरचना भएको र राणाकालमा बनेकाले यसलाई सम्पदाका रुपमा पुनर्निर्माण गर्ने हो भने भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गर्न मिल्ने बताउँछन् । तर, पुरानोलाई ग्लासभित्र राखेर नयाँ संरचना बनाउने निर्णय ‘यता न उताको’ भएको उनको टिप्पणी छ ।

प्राधिकरणका प्रवक्ता भुसाल भने काठमाडौंको चिनारी दिने सम्पदा भएकाले यसलाई पुरातत्व विभागकै डिजाइनमा निर्माण गर्नुको विकल्प नभएको बताउँछन् ।

नयाँ सरकार आएपछि मात्रै धरहरा पुनर्निर्माणको प्रक्रिया शुरु हुने भुसालको भनाइ छ । ‘पुरातत्वले डिजाइनमा केही परिवर्तन गर्दैछ,’ उनी भन्छन्, ‘नयाँ सरकार आएलगत्तै निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढ्छ ।’

यसअघि निर्माणको जिम्मा दिइएको नेपाल टेलिकम लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरणमातहतमा ल्याएको थियो, धरहरालाई ।

टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएको थियो । सरकारले उक्त प्रस्ताव अस्वीकार गरेपछि पछाडि हटेको हो ।

निर्माणबाट हात झिके पनि टेलिकमले एक अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता भने कायमै राखेको छ । सरकारी डिजाइनअनुसार धरहरा निर्माण गर्दा चार अर्ब रुपैयाँ खर्चिनु पर्नेछ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले शुरु गरेको ‘मेरो धरहरा म आफैं बनाउँछु’ अभियानमार्फत् करिब १० करोड रुपैयाँ संकलन भएको छ ।

धरहरालाई स्मारकसहित आकर्षक पार्कका रुपमा विकास गर्ने पुरातत्व विभागको योजना छ । र, संग्रहालय, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायत सुविधा उपलब्ध हुनेछन् ।

बाहिरबाट ११ तला देखिए पनि भित्री संरचना २१ तलाको हुनेछ । र, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । साथै, दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ, जहाँबाट लिफ्ट चढेर टुप्पोमा पुग्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment