Comments Add Comment

१४ सभामुख र उपसभामुखः कोही ७ पास, कोही हेडसर !

पूर्वमन्त्रीदेखि गाविस अध्यक्षसम्म प्रदेशसभाका सारथी

७ फागुन काठमाडौं । देशका सातवटै प्रदेश व्यवस्थापिकाले सभामुखको नेतृत्व पाएका छन् । नेपालको संविधान ०७२ अनुसार सभामुख र उपसभामुख फरक लिङ्ग र फरक पार्टीको हुनुपर्ने भएपछि ७ सभामुखमा पुरुष र ७ उपसभामुखमा महिला छानिएका छन् ।

प्रदेशसभाको सभामुख र उपसभामुखमा पार्टीका प्रभावशाली नेतादेखि पूर्वमन्त्रीसम्म छन् । नेताका पत्नी र पूर्वकमलरी पनि उपसभामुख बनेका छन् ।

प्रदेश २ बाहेकका अरु ६ वटा प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सभामुख र उपसभामुख भागवण्डा गरेका छन् । जसअनुसार प्रदेश १, ३, ६ र ७ मा नेकपा एमालेका सभामुख बनेका छन् । यी प्रदेशमा माओवादीका उपसभामुख रहेका छन् । प्रदेश ४ र ५ मा भने माओवादी केन्द्रका सांसद सभामुख र एमालेका उपसभामुख बनेका छन् ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको भएकाले सभामुख र उपसभामुख पनि यी दुई पार्टीबाटै रहेका छन् । सभामुख राजपा र उपसभामुख फोरमले पाएको छ ।

सबै प्रदेशका सभामुख र उपसभामुख पद कांग्रेसविहीन बनेका छन् । प्रदेश २ बाहेक सबै प्रदेशसभामा नेपाली कांग्रेस प्रतिपक्षी दल हो ।

पहिले स्कुलको हेडमास्टर, अहिले प्रदेशसभाको हेडमास्टर

प्रदेशसभा १ का सभामुख नेकपा एमालेका प्रदीप भण्डारी २ वर्षअघिसम्म धरानको शिक्षा सदन माविमा पढाउँदै थिए । ३७ वर्ष पढाएका उनी विद्यालयको सहायक प्रधानाध्यापकसम्म भए । विद्यालयमा सहायक हेडसर भएका उनी प्रदेशसभामा भने ‘हेडसर’ नै बन्न सफल भए । उनी सुनसरी १ (क) बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन् ।

प्रदेशसभा १ की उपसभामुख माओवादी केन्द्रकी सरस्वती पोखरेल समानुपातिक सांसद हुन् । प्युठानमा जन्मेकी उनले क्याम्पस पढ्ने क्रममा कुनै बेला होस्टेल वार्डेनको काम गरेकी थिइन् भने एमालेको विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । ०५८ सालदेखि माओवादीको भूमिगत राजनीति सुरु गरेकी उनी पार्टीको पोलिट्ब्युरो सदस्य र सुनसरी जिल्ला इन्चार्ज छिन् ।

गाविस अध्यक्ष र राज्यमन्त्री हुँदै सभामुख

प्रदेशसभा २ को सभामुख राष्ट्रिय जनता पार्टीका सांसद सरोजकुमार यादव पूर्वस्वास्थ्य राज्यमन्त्री भइसकेका नेता हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

२०६४ सालमा उनी सद्भावना पार्टीका तर्फबाट बारा क्षेत्र नम्बर १ बाट संविधानसभामा निर्वाचित भएका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा बाराको हरिहरपुर गाविस अध्यक्ष पनि भएका थिए । अहिले प्रदेशसभामा भने बारा १ (क) बाट निर्वाचित भएका हुन् ।

उपसभामुख संघीय समाजवादी फोरमकी नेतृ सप्तरीकी उपमाकुमारी देव हुन् । ९ वर्षअघि फोरमको महिला संगठनबाट राजनीति सुरु गरेकी उनी हाल फोरमको जिल्ला सदस्य छिन् ।

राजविराज नगरपालिका २ की उनी फोरमको महिला संगठनको जिल्ला सचिव र अध्यक्षसमेत भइन् । स्नातकसम्म पढेकी उनी जननिर्वाचित निकायमा पुगेको पहिलो पटक हो ।

सभामुख प्रचण्डका प्रतिस्पर्धी, उपसभामुख पूर्वमन्त्री

प्रदेशसभा ३ को सभामुख बनेका एमाले नेता सानुकुमार श्रेष्ठ पूर्वशिक्षक हुन् । स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा सहभागी भएको ३० वर्षपछि उनी राज्यको पदमा पुग्न सफल भएका हुन् ।

सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङ

श्रेष्ठ काठमाडौं २ (क) बाट प्रदेश सांसदमा निर्वाचित एमालेका वैकल्पिक पोलिट्ब्युरो सदस्य श्रेष्ठ उपत्यका इन्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख हुन् । काठमाडौंको पूर्व जिल्ला सभापति श्रेष्ठ २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडेका थिए । तर, उनी तेस्रो स्थानमा रहे ।

प्रदेससभा ३ कि उपसभामुख नेकपा माओवादी केन्द्रकी राधिका तामाङ पूर्व कृषि राज्यमन्त्री हुन् । नुवाकोट १ -क) बाट निर्वाचित तामाङ २०७२ सालको संविधानसभामा समानुपातिक पद्धतिबाट चयन भएकी थिइन् ।

राज्यमन्त्री भइसकेकी उनी उपसभामुखको जिम्मेवारी पाएकोमा सन्तुष्ट छिन् । ‘मैले फरक फरक अनुभवको अवसर पाएको छु’ उनले भनिन् ‘सभामुख पाउँदा पनि चलाउन नसक्ने त थिइन, तर पार्टीको भागमा परेन, यसलाई अन्यथा सोचेको छैन ।’ २०५७ सालमा १७ वर्षको उमेरमा माओवादी जनसेनामा भर्ती भएकी उनले युद्धका क्रममा पति पनि गुमाएकी थिइन् ।

बेतलबी शिक्षक सभामुख

प्रदेशसभा ४ का सभामुख नेकपा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी पार्टीको पोलिट्ब्युरो सदस्य र पर्वत जिल्ला इन्चार्ज हुन् । पर्वतको प्रदेशसभा निर्वाचन क्षेत्र क बाट निर्वाचित उनी पूर्वशिक्षक हुन् । आफ्नै गाउँ पाङको स्थानीय विद्यालयमा उनले १८ महिना बेतलबी पढाए र आन्दोलनमा लागेको आरोपमा बर्खास्तीमासमेत परे । २०३८ सालमा नेकपा चौथो महाधिवेशनबाट राजनीति सुरु गरेका उनी जननिर्वाचित निकायमा पुगेको पहिलो पटक हो ।

उपसभामुखमा नेकपा एमालेकी सिर्जना शर्मा पार्टीको प्रदेश कमिटी सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहकार तथा पोखराका पाका पत्रकार माधव शर्माकी पत्नी हुन् । समानुपातिक पद्दतिबाट सांसद चयन भएकी शर्माले उपसभामुख चयन हुन चुनाव नै लड्नुपर्‍यो । नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङले पनि उम्मेदवारी दिएपछि भएको निर्वाचनमा शर्माले ३८ मत ल्याएर निर्वाचित भइन् भने गुरुङले १८ मत पाइन् ।

पूर्वजनसरकार प्रमुख सभामुख र पूर्वकमलरी उपसभामुख

प्रदेशसभा ५ को सभामुख नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती रुकुमको भूमे गाउँपालिका ९ चुनवाङका हुन् । माओवादी युद्धमा पहिलो जनसरकार प्रमुख भएका उनी अहिले प्रदेश व्यवस्थापिकाको प्रमुख छन् ।

उनी माओवादीले २०५७ पुस ७ गते घोषणा गरेको रुकुम जनसरकारको प्रमुख बनेका थिए । त्यतिबेला चुनाव लडेर जनसरकार प्रमुख भएका उनी अहिले भने निर्विरोध सभामुख चयन भए ।

पहिले विद्यार्थी राजनीति, त्यसपछि साँस्कृतिक क्षेत्र हुँदै फेरि पार्टी राजनीतिमै सक्रिय भएका उनले यस वर्ष रुकुम पूर्वको प्रदेशसभा (ख) बाट चुनाव जितेका थिए ।

प्रदेशसभा ५ मा उपसभामुख बनेकी समानुपातिक सांसद कृष्णी थारु बर्दियाकी हुन् । ७ वर्षको उमेरदेखि लगातार १८ वर्ष कमलरी बसेकी ४२ वर्षीया थारु विवाहअघि आठ वर्ष र विवाहपछि १० वर्ष कमलरी बसिन् । यतिञ्जेलमा उनले ६ जना जमिन्दारको घरमा घरेलु काम गरेर बिताइन् । प्रौढ कक्षाबाट लेखपढ गर्न सिकेकी उनले ७ कक्षासम्म पढेकी छन् । ०५८ सालदेखि कमलरी बस्न छाडेर कमैया मुक्ति आन्दोलनमा लागेकी थारु ०६४ सालदेखि एमालेको राजनीतिमा सक्रिय भइन् ।

पूर्वगाविस अध्यक्ष सभामुख 

प्रदेशसभा ६ को सभामुख बनेका दैलेखका एमाले नेता राजबहादुर शाहीले नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । ०४८ सालमा नेमकिपाको जिल्ला सदस्य भएका उनी ०५२ सालमा नेमकिपा र एमालेबीच एकीकरण भएपछि एमाले बन्न पुगेका हुन् ।

०५४ सालमा दैलेखको तेलिजोशी गाविसको अध्यक्ष निर्वाचित भएका उनी यसपटक दैलेख २ को (ख) बाट प्रदेशसभा सांसद निर्वाचित भइ सभामुख बने ।

उपसभामुख बनेकी सुर्खेतकी माओवादी नेतृ पुष्पा घर्तीमगर समानुपातिक सांसद हुन् । माओवादी जनयुद्धमा सुरुदेखि नै सक्रिय घर्ती हाल पार्टीको पोलिट्ब्युरो सदस्य छिन् । उनी पूर्वसभासद नरबहादुर विष्टकी पत्नी हुन् ।

हेडसर सभामुख, नेतापत्नी उपसभामुख

प्रदेशसभा ७ को सभामुख बझाङका एमाले नेता अर्जुनबहादुर थापा पूर्वशिक्षक हुन् । दुई दशकसम्म शिक्षण पेशामा बिताएका उनी बझाङको लालतोमा माविको प्रधानाध्यापक बने । ०५६ सालमा संसदीय चुनाव लड्न शिक्षकबाट राजीनामा गरेका उनी निर्वाचित भने हुन सकेनन् ।

त्यसपछि पार्टी राजनीतिमा सक्रिय उनी ०६२ सालमा एमालेको जिल्ला सचिव र ०६६ सालमा अध्यक्ष बने ।

उपसभामुख बनेकी नेकपा माओवादी केन्द्रकी निर्मला बडाल (जोशी) दार्चुला जिल्लाको सहसेक्रेटरी, महिला संगठनकी केन्द्रीय सदस्य हुन् । २०५७ सालदेखि भूमिगत राजनीति गरेकी ३२ वर्षीया बडाल माओवादीको प्रदेश ७ का संयोजक सचिवालय सदस्य लक्ष्मणदत्त जोशीकी पत्नी हुन् ।

स्नातकसम्म अध्ययन गरेकी उनले जिल्ला अदालत दार्चुलामा बाल मनोविज्ञको रुपमा २ वर्षदेखि काम गरिरहेकी थिइन् । उनी समानुपातिक पद्दतिबाट सांसद चयन भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment