Comments Add Comment

पाँच लाखबाट १५ लाखको जीवन बीमाः यस्तो छ प्रक्रिया

१७ फागुन, काठमाडौं । सामान्यतया जति रकमको जीवन बीमा गर्ने हो, तोकिएको अवधिसम्म त्यति नै बीमा कम्पनीहरुलाई बुझाउनु पर्छ । बीमा गर्ने व्यक्ति जीवित रहेमा अवधि समाप्तिपछि मात्रै बोनससहित रकम फिर्ता पाइन्छ ।

तर, केही वर्षदेखि बीमा कम्पनीहरुले ‘मनी ब्याक’ नामक योजना ल्याएका छन् । यस्तो योजनामा अवधि समाप्ति हुनुअगावै पनि तोकिएको समयको अन्तरालमा निश्चित रकम बिमकले फिर्ता पाउँछ । यस्तो योजनाले बिमकलाई पैसा जुटाउनपर्ने दबाव कम हुन्छ । कम लगानीमा धेरै रकमको बीमा गर्न सकिने वातावरण तयार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले ल्याएको मनी ब्याक योजना यसको एक उदाहरण हुन सक्छ । उक्त कम्पनीले तीन किसिमका मनी ब्याक योजना ल्याएको छ । त्यसमध्येको एक हो, नौलो जीवन बीमा ।

मानौं, उक्त योजनामा सहभागी हुन चाहने मानिसको उमेर ३० वर्ष छ । र, उसले १५ वर्षका लागि १५ लाख रुपैयाँको बीमा गर्दैछ । दुर्घटना पनि बेहोर्ने गरी प्याकेज लिने हो भने वार्षिक एक लाख ७५ हजार रुपैयाँ प्रिमियम शुल्क पर्छ । उक्त योजनाको अवधि १५ वर्ष भए पनि १२ वर्षसम्म मात्र प्रिमियम तिरे पुग्छ ।

प्रिमियम शुल्कको निर्धारण व्यक्तिको उमेर, बीमा गरिने रकम र तिर्ने अवधिका कारण फरक-फरक हुने गर्छ । प्रिमियम शुल्क ग्राहकले आफ्नो अनुकुलताका आधारमा मासिक, अर्द्धवार्षिक र वार्षिक रुपमा तिर्न सक्छ ।

माथि उल्लेख भएअनुसार उक्त व्यक्तिले बीमा गरेको छ भने उसको वार्षिक प्रिमियम एक लाख ६८ हजार नौ सय चार रुपैयाँ हुन आउँछ । यस योजनामा ग्राहकले चौथो वर्ष अन्त्य हुँदा कुल बीमा रकमको ३० प्रतिशत फिर्ता पाउँछ ।

त्यस अवधिमा उसले कुल ६ लाख ७५ हजार ६ सय १६ रुपैयाँ लगानी गरेको हुन्छ । त्यसमध्ये चार लाख ५० हजार रुपैयाँ फिर्ता पाउँछ । फिर्ता आएको त्यही रकमलाई परिचालन गर्ने हो भने उसले लगभग अर्को तीन वर्षको प्रिमियम किस्ता तिर्न सक्छ ।

कतिपय ग्राहकले फिर्ता आएको रकम बैंकमा राखेर अर्को किस्ता तिर्ने अवधिमा मात्र झिक्ने व्यवस्था पनि मिलाएका हुन्छन् । व्याजदरसमेत जोडिँदा तीन वर्षको किस्ता तिर्न सहयोग पुग्ने हो । उसले अब एक वर्षको किस्ता जोहो गरे पुग्छ । अर्थात्, थप एक लाख ६८ हजार नौ सय चार रुपैयाँ ।

आठ वर्ष पुग्दा उसले पुनः चार लाख ५० हजार रुपैयाँ फिर्ता पाउँछ । त्यही प्रक्रिया पुनः दोहोरिन्छ । अर्थात्, यसपटक पनि करिब एक लाख ६८ हजार नौ सय थपेर अर्को चार किस्ताको जोहो गर्न सकिन्छ ।

१२ वर्षको प्रिमियम बुझाएपछि ग्राहकले बीमा रकमको बाँकी ४० प्रतिशत पूरै फिर्ता पाउँछ । उसको हातमा पर्छ, ६ लाख रुपैयाँ । १२ वर्षमा १० लाख रुपैयाँ जम्मा गर्न सक्नेले सहज रुपमा १५ लाखको बीमा योजना खरिद गर्न सक्छन् । तर, कम्पनीहरु साथमा पाँच लाख भएमा त्यसैलाई परिचालन गरेर १५ लाखको बीमा गर्न सकिने बताउँछन् ।

पहिलो पटक मनि ब्याक हुँदा दुई लाख २५ हजार बाँकी रहेर अरु फिर्ता  हुने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भनाइ छ । दोस्रो पटक पनि त्यही दरमा रकम फिर्ता हुन्छ । दुई पटकको जोड्दा चार लाख ५१ हजार बाँकी रहन्छ भने तेस्रो पटकको मनी ब्याकमा ६ लाख फिर्ता हुन्छ ।

तीन पटकमा लगभग पाँच लाख २६ हजार रुपैयाँको लागत देखिन्छ । कम्पनीका अनुसार सोही रकमलाई परिचालन गरेर १५ लाखको बीमा भएको मान्न सकिन्छ ।

तीन पटक मनि ब्याक हुँदा लगानीकर्ताले पूरै १५ लाख रुपैयाँ फिर्ता पाइसकेको हुन्छ । बाँकी तीन वर्ष उसले किस्ता तिरिरहनु पर्दैन । १५ वर्ष पुगेपछि बिमकले कम्पनीले तोकेको वार्षिक बोनस दरका आधारमा एकमुष्ठ रकम फिर्ता पाउँछ ।

यो योजनाको बोनस दर औसतमा प्रतिहजार ६५ रुपैयाँ छ, जसअनुसार बिमकले बीमा योजनाको समाप्तिपछि बोनसका रुपमा १४ लाख ६२ हजार पाँच सय रुपैयाँ फिर्ता पाउँछ ।

दुर्घटनाको जोखिमसमेत समेटिएको अवस्थामा ग्राहक त्यसबाट पूर्ण अशक्त भएमा उसले मासिक एक सय २० किस्तामा बीमा गरिएको पूरै रकम फिर्ता पाउनेछ । त्यसपछि पनि बीमा योजना भने चालु नै रहनेछ, ग्राहकले प्रिमियम तिर्नुनपर्ने गरी । दुर्घटनाका कारण त्यसपछिको एक सय ८३ दिनभित्र ग्राहकको मृत्यु भएमा भने उसले इच्छाएको व्यक्तिले बीमाको पूरै रकम प्राप्त गर्छ ।

बीमा योजनाको किस्ता तिर्न समस्या पर्न सक्ने अवस्थामा ग्राहकले कम्पनीबाटै कर्जा पनि लिन सक्छ । कम्पनीले उसको ‘समर्पण मूल्य’ निकालेर त्यसको ६५ देखि शतप्रतिशतसम्म कर्जा दिने गर्छ । यस्तो कर्जाको व्याजदर १० प्रतिशत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment