२१ फागुन, काठमाडौं । दुई वर्षअघि साउदी अरबस्थित नेपाली राजदूतावासमा तत्कालिन कार्यबहाक राजदूत आनन्दप्रसाद शर्मालाई छुरा प्रहार गर्ने व्यक्तिलाई नेपाल ल्याइएको छ ।
यसअघि २ वैशाख ०७३ मा शर्मालाई मोरङको केराबारी–५ का ४७ वर्षीय लक्ष्मणबहादुर राईले शर्मालाई छुरा प्रहार गरेका थिए ।
लगत्तै उनलाई पक्राउ गरी स्थानीय प्रहरीले अनुसन्धान थालेको थियो । तर, त्यहाँको अदालतले नेपाली दुतावासभित्रको घटना भएको भन्दै नेपालस्थित अदालतले नै कारबाही अघि बढाउनु पर्ने फैसाला गरेपछि राईलाई नेपाल डिपोर्ट गरिएको हो ।
उनलाई एयर अरेबियाको उडान नम्बर जी ९१५६ बाट आइतबार काठमाडौं ल्याइएको हो ।
यस्तो थियो घटना
राई वैदेशिक रोजगारीका क्रममा साउदी अरबस्थित एक कम्पनीमा कार्यरत् थिए । त्यहाँ उनले सम्झौता अनुरुप तलब पाएका थिएनन् ।
त्यसबारे उनले पटकपटक दूतावासलाई जानकारी गराए पनि कुनै पहल नभएको राईको आरोप थियो । आफ्नो समस्याको बारेमा कुनै सुनुवाई नभएपछि २ बैशाख ०७३ मा उनी दूतावासमा रहेको शर्माको कार्यकक्षमा पुगे ।
उनी चक्कु बोकेर त्यहाँ पुगेका थिए । र, छिर्ने वित्तिकै ढोका थुनेर शर्मामाथि आक्रमण गरेका थिए ।
घटनामा शर्माको हात र कुममा चोट लागेको थियो । उनको त्यहाँस्थित किङ फैसल अस्पतालको आकस्मिक कक्षमा उपचार गरिएको थियो ।
राईलाई हाल काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।
डिएसपी मोहन थापाका अनुसार उनलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया 4