Comments Add Comment

छोरीका आमाबुबाको अनुभवः एउटै छोरी, पुगीसरी !

'छोरीले जति माया छोराले गर्दैनन्'

२४ फागुन, काठमाडौं । छोरीको मामिलामा नेपाली समाज तीव्र गतिमा बदलिइरहेको छ । एउटै छोरीमा चित्त बुझाउने वा दुईवटी छोरी जन्मेपछि छोराको खोजी नगर्ने सभ्य आमाबुवाको संख्या समाजमा बढ्दो छ ।

अंश र वंश धान्नका लागि छोरो नै चाहिन्छ भन्ने भ्रमबाट नेपाली समाज क्रमशः मुक्त हुन थालेको छ । ‘एउटी छोरी, पुगिसरी’ भन्ने क्रान्तिकारी सोचाइका आमाबुबाहरु समाजमा गर्वका साथ बाँचिरहेका छन् ।

बर्षौंदेखि जरा गाढेको यही पुरातन सोच-चिन्तनलाई रद्दीको टोकरीमा मिल्काएर ‘एउटै छोरीमा चित्त बुझाउने’ आमाबुवा पनि हामीले भेट्यौं । त्यस्ता थुप्रै पात्र भेटिए, जसले छोरीलाई पनि छोरा सरह हुर्काइरहेका छन् ।

हास्य कलाकार तथा सामाजिक अभियन्ता सीताराम-कुञ्जनादेखि कलाकार ऋषि-सरिता लामिछानेसम्मका थुप्रै-थुप्रै अभिभावक छन्, एउटी छोरी हुकाईरहेका छन् ।

एउटी छोरीलाई आफ्नो ‘सपना/विपना’ मान्ने तिनै क्रान्तिकारी आमाबुवाको ‘उमगंमय कथा’ अनलाइनखबरले पेश गरेको छ ।

तर, एउटै छोरीलाई आफ्नो ‘सपना/विपना’ मान्ने आधुनिक सोचाइका सभ्य नागरिकहरुको संख्या बढिरहेको छ । यिनै सभ्य नागरिकहरुको ‘उमगंमय कथा’ अनलाइनखबरले नारी दिवसको अवसर पारेर पाठकसमक्ष पेश गरेको छः

अनिलकेशरी शाहः छोरीलाई छोरीजस्तै बनाउन चाहन्छु

छोरी- आर्या शाह

चर्चित बैंकर्स एवं नागरिक अगुवा अनिलकेशरी शाहलाई आर्थिक हिसाबले गाह्रो छैन धेरै सन्तान हुर्काउन । उनले चाहेजति सुख-सुविधा दिन सक्छन् । शिक्षा-दीक्षा दिन सक्छन् । स्वस्थ्योपचार गर्न सक्छन् । तर, उनी एउटै छोरी मात्र हुर्काइरहेका छन् । किन ?

किनभने, धेरै सन्तानलाई सबैथोक दिन सके पनि उनी समय दिन सक्दैनन् । शाह भन्छन्, ‘बच्चालाई हामीले आफ्नो समय दिनुपर्छ । मसँग एउटी छोरीका लागि मात्रै समय छ ।’

आर्जनको कुरा गर्ने हो भने, उनी सर्वाधिक पारिश्रमिक पाउने बैंकका सीईओमा गनिन्छन् । पूख्र्यौली ज्यायजेथा पनि छ । तर, त्यसको संरक्षणका लागि ‘छोरा जन्माउनुपर्छ’ भन्ने मानसिकता छैन । उनलाई लाग्दैन, छोरालाई सम्पतिको हकदार बनाउनुपर्छ भन्ने । उनलाई के पनि लाग्दैन भने, बुढेसकालमा छोराकै साहारा चाहिन्छ ।

शाहका अनुसार उनका थुप्रै डाक्टर साथी भन्ने गर्छन्, ‘आमाबुवालाई उपचारका लागि छोरीहरुले अस्पताल लिएर आउँछन् ।’ अर्थात्, बुवाआमाप्रति छोराभन्दा बढी जिम्मेवार छोरी नै हुन्छन् । उनले अहिले अनुभूत गरेको कुरा पनि त्यही हो । सीइओ शाहलाई लाग्छ, छोरीले आफूप्रति अथाह माया दर्शाउँछिन् ।

कतिले भन्ने गर्छन्, ‘तपाईको छोरी त छोराजस्तै हुनुपर्‍यो ।’

तर, उनलाई आफ्नो छोरीलाई छोरा जस्तो होइन, छोरीजस्तै भएको हेर्न मन लाग्छ । छोरी भनेको छोरीजस्तै हुनुपर्छ । सुकुमार, कोमल, दयालु ।

शाह के पनि चाहँदैनन् भने, छोरीले यो वा त्यो गरोस् । छोरी यस्तो वा त्यस्तो बनोस् । छोरीले जागिर खाए पनि ठिकै छ । छोरीले जागिर नखाए पनि ठिकै छ । पेशाकर्मी भए नि उनकै खुसी । गृहणी भए नि उनकै खुसी । शाह त्यसमा कुनै रोकटोक गर्ने पक्षमा छैनन् ।

छोरीको भविष्यमाथि आफ्नो कुनै अधिकार नभएको उनले बुझेका छन् । साथसाथै छोरीको अस्तित्वलाई सहर्ष स्वीकार गरेका छन् उनले ।

रामकृष्ण-नीलम ढकालः छोरीजस्तो कोमल स्पर्श छोराबाट पाइन्न

छोरी- रानी ढकाल

गायक रामकृष्ण ढकाल र नीलमले नयाँ घर बनाएपछि त्यसको नाम जुराएका थिए, रानीमहल ।

रानीमहलमा सरेपछि रानीको जन्म भयो । रानी उनीहरुको एकमात्र सन्तान हुन् । छोरा भने पनि, छोरी भने पनि । छोरीमा जुन सौन्दर्य हुन्छ, जुन कोमलता हुन्छ, जुन सादगी हुन्छ, जुन स्पर्श हुन्छ, त्यो छोराबाट नमिल्ने बताउँछन् गायक ढकाल ।

उनी वास्तवमै छोरीप्रेमी थिए । निलमको गर्भ रहेदेखि नै रामकृष्णले कामना गरेका थिए, छोरी जन्मियोस् । भयो पनि त्यस्तै । उनका छोरीलाई छातीभरको माया, प्रेम दिएर हुर्काए । पुग्दो सेवा सुविधा दिए । संस्कार दिए । छोरी रानीले उनकै पदचाप पच्छ्याएकी छिन् । उनी गाउँछिन् । कतिपटक त रामकृष्णका साथमा स्टेजमा उक्लिएकी छिन् । स्वरमा स्वर मिलाएकी छिन् ।

रामकृष्णलाई पुत्र-मोह छैन । उनलाई आफ्नो सम्पतिको हकदार पनि चाहिएको छैन । वंश बोक्ने काँध पनि चाहिएको छैन । उनलाई लाग्छ, यी सबै भ्रम हुन् ।

‘वास्तवमा सच्चा अभिभावकले आफ्ना सन्तानलाई दिने भनेको शिक्षा, संस्कार हो’ रामकृष्ण भन्छन्, ‘त्यति भएपछि उनीहरु आफै गरी खान सक्षम हुन्छन् ।’

तर, पुरुषप्रधान समाजमा छोरालाई सम्पतिको हकदार बनाउने प्रचलन रहेकोमा उनलाई खिन्न लाग्छ । जबकि त्यही छोरा हो, जसले बुवाआमाप्रतिको उत्तरदायित्व बुझ्दैन । केवल सम्पतिको लागि बुवाआमालाई आश्रय दिन्छन् । त्यसबेला पनि बुवाआमालाई प्रेम गर्ने भनेको छोरी नै हुन् । रामकृष्णलाई यस्तै लाग्छ ।

‘छोरी आफैमा सृष्टिको सुन्दर रचना हुन्’ रामकृष्ण भन्छन्, ‘छोरीभन्दा ठूलो खुसी हाम्रो अरु केही छैन ।’

ऋषि-सरिता लामिछाने, एउटै छोरी हाम्रो संसार हो
छोरी- सऋद्धि लामिछाने

फिल्म निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछानेका एकमात्र सन्तान छन्, सऋद्धि । उनी ९ बर्षकी भइन् । कक्षा ५ मा पढ्छिन् ।

बस्, उनीहरुका लागि यहि छोरी काफी छ । निर्देशक लामिछाने भन्छन्, ‘छोरा होस् वा छोरी, एउटा भए पुग्छ । हामीलाई अब छोराको अपेक्षा छैन ।’

यद्यपी उनीहरुलाई आफन्तहरुले भने, ‘अब एउटा छोरा त चाहिन्छ ।’ आफ्नै बुवा-आमाले पनि जोड गरे, नातीका लागि । तर, निर्देशक लामिछानेले जवाफ फर्काए, ‘आइन्दा यस्तो कुरा गर्ने हो भने, तपाईहरुको साइला छोरा मर्‍यो भनेर सोच्नु ।’ ऋषि सन्तानमा साहिँलो छोरो हुन् ।

ऋषिले यति कठोर जवाफ फर्काउनुको पछाडि, उनमा छोरा वा छोरीप्रतिको समान दृष्टिकोण नै हो । उनलाई लाग्दैन, वंश चलाउनका लागि छोरा चाहिन्छ । छोरी पनि आफ्नै रगत हो । आफ्नै वंश हो । छोराका लागि हामी जे जति गर्छौं, छोरीलाई पनि त्यती नै गनुपर्छ भन्ने लाग्छ ।

ऋषिले काठमाडौंमा घर जोडेका छन् । गाडी जोडेका छन् । स्वतः त्यसको हकदार छोरी हुनेछन् । छोरीले नचाहेमा कुनै सामाजिक सेवामा लगाइनेछ । ऋषि यसै भन्छन् । ‘ऋषि-सरिता नामको ट्रस्ट खोलेर त्यसैमार्फत सामाजिक सेवामा खर्च गरौंला’ ऋषि भन्छन्, ‘छोराका लागि धन दौलत कमाइदिँदैमा स्वर्ग जान पाइन्छ भन्ने लोभ छैन ।’

उनले के पनि अनुभव गरेका छन् भने, छोराभन्दा छोरीले बढी बुवाआमालाई सम्झने गर्छन् । सरिताले हप्तामा तीनपटक आमाबुवालाई फोन गर्दा ऋषिले एकपटक पनि आफ्ना बुवाआमालाई सम्भिmएका हुँदैनन् । भन्छन्, ‘म छोरा भएर बुवाआमा स्यहार्ने कुरा छाडौं, दशैंमा टीको थाप्नसमेत भ्याउँदिन ।’ आफ्ना बुवाले पाँच छोराहरु जन्माएपनि अहिले बुवाआमा एक्लो भएको उनले स्मरण गरें ।

ऋषिका काकाले छोरा पाउनकै लागि गरुण पूजा लगाएका थिए । तर, छोराले के गर्‍यो ? आखिरमा साथ दिने उही छोरीहरुले हो ।

मृत्युपछि पिण्ड दिने, पूख्र्यौली जायजेथा सम्हालने, वंश धान्ने छोरा नै हुनुपर्छ भन्ने जुन मान्यता छ, त्यो केवल भ्रम मात्र रहेको उनको बुझाई छ । ‘मरेपछि महाशून्यमा बिलाइन्छ’ लामिछाने भन्छन्, ‘अरु सब भ्रम हो, बकवास हो ।’

धुर्मुस-सुन्तलीः बुढेसकालमा पाल्छ भन्ने स्वार्थ त्यागौं
छोरी- सुबिहानी कट्टेल (उमेर-४ बर्ष)

हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको एक छोरी छिन् । नाम हो, सुबिहानी कट्टेल । सीताराम भन्छन्, ‘एकाबिहानै सुन्तलीले जन्माएकी भएर छोरीको नाम सुबिहानी राखिएको हो । सुन्तलीले बिहानै जन्माएकी ।’

कुञ्जनाको पेटमा गर्भ रहेपछि कतिले सुझाएका थिए, ‘लिंग पहिचान गर्नु नि ।’

तर, उनीहरु आफ्नो कोखबाट जन्मने पहिलो सन्तानलाई जुनसुकै रुपमा स्वीकार्न राजी थिए । र, राजी थिए एउटै सन्तानमा चित्त बुझाउन । जन्मिइन्, छोरी । उनीहरु खुसीले उफ्रिए ।

सीताराम सम्झन्छन्, ‘छोरी त लक्ष्मी नै रहिछन् नि । हाम्रो घरमा लक्ष्मी भित्रिएसरह भयो । चिताएको सबै कुरा एकएक गर्दै पुग्यो ।’ सीतारामको अनुभवमा छोरी जन्मिएपछि नै एकिकृत नमुना बस्ती निर्माणको सोंच विजारोपण भएको हो ।
धुर्मुस-सुन्तलीको आशा र उमंगको पुञ्ज तिनै छोरी ।

सीताराम कट्टेलको झापामा पूख्र्यौली सम्पति छ । दुखजिलो गरेर केहि धन-दौलत जोडेका छन् । तर, आफ्नो शेषपछि त्यसका संरक्षक छोरालाई बनाउनुपर्छ भन्ने सोच छैन । सीताराम भन्छन्, ‘पूख्र्यौली सम्पतिको आडमा सन्तान जन्माएको होइन ।’

कुञ्जना-सीताराम दुबै कलाकर्ममा छन् । देश-विदेशको कार्यक्रम भ्याउनुपर्छ । अर्कोतिर ‘धुर्मुस-सुन्तली फाउन्डेसन’मार्फत ठाउँ-ठाउँमा बस्ती निर्माण गरिरहेका छन् । यस्तो व्यस्ततामा उनीहरुले छोरीलाई पुग्दो समय दिन सकेका छैनन् । यद्यपी, उनका लागि ति सबै खुसी र सुख दिएका छन्, जति आवश्यक छ ।

तर, त्यसबापत छोरीले बुढेसकालमा आफुलाई हेर्नुपर्छ भन्ने दायित्व-भार बोकाएका छैनन् । सीताराम स्पष्ट छन्, बुढेसकालमा छोरा होस् वा छोरी आफुसँग रहने होइन । ‘बुढेसकालमा हामी बुढाबुढी नै एकअर्काको साहारा हौं’ सीताराम भन्छन्, ‘म त्यो भ्रमबाट पूर्ण मुक्त छु कि, बुढेसकालमा सन्तानले पाल्छ ।’

बद्री पंगेनीः छोरीले जस्तो माया छोराले दिँदैन
छोरी- बिहानी पंगेनी

बद्री पंगेनीलाई नारीबादी गायक भनिदिँदा फरक पर्दैन । उनले केही गीत गाएका छन्, नारीको बेदना पोखेर । एउटा गीत यस्तो छ,
आउ दिदी बहिनी अब यस्तो गीत गाउनैपर्छ । आमाको नामबाट नागरिकता पाउनैपर्छ ।

यो गीत उनले त्यसबेला गाएका थिए, जतिबेला आमाको नामबाट नागरिकता दिने प्रचलन सुरु भएकै थिएन । आफु छोराको रुपमा हुर्किएपनि उनलाई छोरी-चेलीमाथि बढी भरोसा रहेछ । भने, ‘मेरो बुवाआमा बिरामी भयो भने म काठमाडौंमा हुन्छु । वा विदेशमा हुन सक्छु । त्यसबेला मेरा दिदी बहिनीहरुले नै हो उहाँहरुलाई अस्पताल लाने ।’

चाहे बिवाहित छोरी होस् वा अबिवाहित, आमाबुबाको हेरचाह गर्ने, उपाचार गर्ने, माया गर्ने उनीहरु नै हुन् । बद्रीलाई यस्तै लाग्छ ।

उनले यो सन्दर्भ कहाँ जोड्न चाहे भने, बुढेसकालको साहारा भनेर छोरा हुर्काउने हाम्रो सोचमा । बुढेसकालमा मात्र होइन, दुख बिराममा पनि छोराभन्दा छोरीले बढी केयर गर्ने उनको दावी छ । गायक पंगेनी भन्छन्, ‘छोराले साथ दिन्छ भन्नु सरासर भ्रम हो । पहिले पुख्र्यौली सम्पतिको लोभले बुबाआमा रुँघेर बस्थे । अहिले त्यो पनि छैन । आफैं गरिखाने हुन्छ र लाखापाखा लाग्छ ।’

उनले एउटी छोरी हुकाईसकेकी छिन् । नाम हो, बिहानी । ९ कक्षामा पढ्दैछिन् । गायक पंगेनीको भविष्य भनेको तिनै छोरी हुन् । उनले आफूले सक्ने खुसी दिएका छन् । संस्कार दिएका छन् । उनलाई लाग्छ, राम्रो शिक्षादीक्षा दिने, संस्कार दिने हो भने छोरी अझ भरपर्दो हुन्छ, छोरा भन्दा ।

बद्रीकी छोरी राजनीतिमा चासो राख्छे । उनलाई त्यो छुट दिइएको छ, घरबाट ।

भोलाराज-यामुना सापकोटाः सम्पति छोरीले नलगे ट्रष्टलाई !
छोरी- सुपाला सापकोटा (६ बर्ष)

कलाकार भोलाराज र शिक्षिका यमुनाले अहिले एउटी छोरी हुर्काइरहेका छन्, सुपाला । सुपला नै उनीहरुको संसार हो । खुसी हो । सबैथोक हो ।

भोलाराजलाई लाग्छ, ठूलो सौभाग्यले छोरी पाएको हो ।

पत्नी यमुना गर्भवती थिइन् । फर्सीको मुन्टा टिप्न गएकै बेला त्यही ढलिन् । उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइयो । चिकित्सकले भने, ‘छोरी र आमा दुबैलाई बचाउन सकिने कन्डिसन छैन ।’ त्यहाँबाट तत्कालै भरतपुर अस्पताल लगियो । त्यहाँ चाहि ‘बच्चा वा आमामध्ये एक जनालाई छान्नुहोस्’ भने । भोलाराजले चिनेजानेका डाक्टरहरुलाई फोन गरेर आफ्नो अवस्था सुनाए । उनीहरु सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरे ।

यमुनाले छोरी जन्माइन् । छोरी सकुसल थिइन् । यामुना पनि ।

उनीहरुलाई यही एउटी छोरी काफी छ ।

साथीभाइले ख्याल-ठट्टा गर्छन्, ‘अरे, यो त छोरीको बाबु पो ।’

गाउँघरतिर गइयो भने एउटै सुझाव आउँछ, ‘छोरा चाहि जन्माउनुपर्छ है ।’

के भनिन्छ भने छोरो भनेको ‘ढिकुरोको पूजारी’ हो । मरेपछि ढिकुरो फोर्नका लागि छोरा चाहिन्छ भन्ने रहेछ । छोरा नभएकोमा उनलाई कतिले होच्याउँछन् । कतिले ‘छोरो त जन्माउनुपर्छ’ भन्छन् । तर, भोलाराज अडिग छन्, एउटै छोरीमा । उनलाई के थाहा छ भने, अंश र वंशका लागि छोरी पनि उस्तै हो ।

‘म मरेपछि मेरो वंश किन चाहियो ?’ भोलाराज प्रतिप्रश्न गर्छन्, ‘मरेपछि जे होला होला, न अंश, न वंश ।’ आफुले आर्जन गरेको सम्पतिको हिस्साको हकदार खोज्नैपर्छ भन्ने लाग्दैन उनलाई । भन्छन्, ‘लौ, अथाह सम्पति कमाइयो रे । त्यो सम्पतिको भोगचलन छोरीले गर्छे नि । छोरीले नगरे कुनै ट्रस्टलाई दिउँला ।’

यदि आफूले कमाएको पैसाले आफ्नो छोरीजस्तै अरु ५० जना छोरीले पढ्न पाए थप सन्तोष मिल्ने भोलाराजको भनाइ छ ।

हामीसँग कुरा गरिरहँदा पनि भोलाराज छोरीलाई स्कुलबाट ल्याउनका लागि हतारिदै थिए । छोरीलाई स्कुल पुर्‍याउने-ल्याउने काम उनैले गरिरहेका रहेछन् । अरुबेला उनी छोरीसँगै खेल्छन् । रमाउँछन् । ‘एउटी छोरीले मलाई सम्पूर्ण खुसी दिएकी छे’ भोलाराज भन्छन्, ‘हाम्रो सर्बेसर्बा उनै हुन् ।’

र, अन्त्यमा, समाजको पछौटेपन कहिले हट्ला ?

कतिपय पिछडिएको सोचाइ भएका मानिसहरु अझै पनि वंश र अंश धान्ने रुढ मान्यताका आधारमा ‘छोरा हुनैपर्छ’ भन्ने चिन्ताले जकडिएका छन् । र, यसैको उपजका रुपमा भ्रुण हत्यादेखि एकपछि अर्कीर् छोरी जन्माउने उपक्रम पनि समाजको पृष्ठभागमा चलिरहेकै छ ।

छोराका लागि आमाको पाठेघरलाई ‘बच्चा उत्पादन गर्ने’ कारखाना नबनाइँदो हो त कालिकोट, फुकोट-९ की लालपुुरा टमट्टाले ११ वटी छोरी जन्माउने थिइनन् ।

हास्य अभिनेता हरिवंश आचार्यका बुवाले छोरा जन्माउनकै लागि ५३ बर्षको उमेरमा १३ बर्षकी कन्यासँग दोस्रो विवाह गरेका थिए । आफ्नो पुस्तक ‘चिना हराएको मान्छे’मा उनले यो प्रसंग उल्लेख गरेका छन्, ‘छोरो जन्मिएको खुसीमा मेरा बा आँगनमा लट्ठी टेकेर नाच्नुभएको थियो रे ।’

कपिलवस्तु नगरपालिका-५ श्रीरामपुर गाउँकी सबिना खातुनले श्रीमान् र ससुराबाट मरणासन्न हुनेगरी कुटाई खाइनु, छोरा नजन्माएको कारण । सर्लाही लालबन्दी नगरपालिका-६ की दुर्गा देवी गौतमले मलमुत्र खानुपर्‍यो, छोरा नजन्माएको कारण । बारा, सुवर्ण गाउँकी बबिया खातुन आफ्नै आमाबाट मारिनुपर्‍यो, छोरा नजन्माएको कारण ।

छोराको घनचक्करमा पुरानो समाज यति धेरै फसेको छ कि, त्यसले मानवीय संवेदना र प्रकृतिको विधानलाई समेत नकार्ने गर्छ । छोरा नजन्माउने आमामाथि यो समाज क्रुर छ । आखिर छोरा र छोरीमा के फरक छ ? छोरा नै किन ?

हामी सोच्छौं, वंश निरन्तरताका लागि छोरा चाहिन्छ ।

हामी सोच्छौं, अंशको हकदार छोरा चाहिन्छ ।

हामी सोच्छौं, बुढेसकालको साहारा छोरा चाहिन्छ ।

हामी सोच्छौं, वैतरणी तार्नका लागि छोरा चाहिन्छ ।

हामी सोच्छौं, ढिकुरो फुटाउनका लागि छोरा चाहिन्छ ।

यस्तो पृष्ठभूमिमा एउटी मात्र छोरीमा चित्त बुझाउनुलाई ‘दुस्सहास’ मान्ने कि ‘क्रान्ति’ ?

यसको मध्यमार्गी जवाफ ओशोको यो भनाइबाट खोज्न सकिन्छ । उनको भनाइअनुसार हामीमा जुन पुत्रमोह छ, असलीमा त्यो सम्पतिप्रतिको आशक्ति हो । लोभ हो । आफ्नो पुख्र्यौली सम्पतिको हकदार (सेक्युरिटी) खोज्ने सुक्ष्म मनोविज्ञानले हामीमा ‘पुत्र मोह’ पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment