Comments Add Comment

प्रहरी अनुसन्धानमा गुण्डा नाइके लामाको असहयोग


१ चैत, काठमाडौं । गौशाला गोलीकाण्डमा पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाले प्रहरी अनुसन्धानमा असहयोग गरेका छन् ।

तर, प्रहरीले भने जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत १० दिनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ ।

कांग्रेस नेतासमेत रहेका लामा बिहीबार राति गौशालाबाट चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए ।

के भएको थियो बुधबार राति ?

बुधबार पशुपतिनाथ मन्दिरमा वत्सलेश्वरी देवीको जात्रा थियो । जात्रामा हुन सक्ने सम्भावित गतिविधिलाई लक्षित गर्दै महानगरीय प्रहरी वृत्त, गौशालाले अन्य समयभन्दा थप प्रहरी टोली परिचालन गरेको थियो । परिसरको सादा पोशकको टोलीको पनि खटिएको थियो ।

करिब साढे ९ बजेतिर होटल पशुपति भिजनको आसपास एक्कासी गोली गोली पड्किएको आवाज आयो ।

लगत्तै, त्यसतर्फ गएको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको हो । अर्का एक भने भाग्न सफल भएका छन् । लामाको साथबाट चकजाँच गर्दा ‘७.२२ एमएम टाइप ५४’ को चाइनिज पेस्तोल बरामद भयो, जुन नेपालमा प्रहरीले प्रयोग गर्ने गर्छन् । उनको साथमा ६ राउण्ड गोली समेत भेटियो ।

‘दुई जना युवकले गोली प्रहार गरेपछि मैले प्रतिकार गर्दै पेस्तोल खोसेको हुँ’, लामाको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो, ‘मैले पेस्तोल खोस्ने वित्तिकै प्रहरी आइपुगेको हो ।’

बुधबार प्रहरी वृत्त, गौशालामा राखिएका लामालाई बिहीबार बिहानै काठमाडौं प्रहरी परिसरमा सारिएको छ ।

कांग्रेस नेताहरुले छुटाउन दबाव दिएपछि लामालाई परिसर लगिएको स्रोतको दाबी छ ।

गोली हान्नेको पेस्तोल खोसेको हुँः लामा

परिसर सारिए पनि लामाले अनुसन्धानमा असहयोग गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । उनले आफूलाई दुई जना युवकले गोली हान्न खोज्दा त्यसको प्रतिकार गर्दै पेस्तोल खोसेको दाबी गरेका छन् ।

उनले आफ्नो साथबाट पेस्तोल र गोली बरामद भएको भन्ने मुचुल्कामा हस्ताक्षर समेत गर्न नमानेका छैनन् । ‘दुई जना युवकले गोली प्रहार गरेपछि मैले प्रतिकार गर्दै पेस्तोल खोसेको हुँ’, लामाको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो, ‘मैले पेस्तोल खोस्ने वित्तिकै प्रहरी आइपुगेको हो ।’

लामाले आफूलाई गोली प्रहार गर्ने दुई युवा को हुन् भन्ने खुलाएका छैनन् ।

पशुपति भिजनमा रहेको सीसी टीभी क्यामेरामा कैद भएको दृश्यहरु हेर्दा लामाले भुइँबाट पेस्तोल टिपेको देखिएको प्रहरी स्रोतले बताएको छ । तर, कसले गोली चलाएको भन्ने प्रष्ट छैन ।

त्यहाँ रहेको गाडी र अध्यारोको कारण घटना हुँदाको समयको दृश्य राम्रोसँग ‘कभर’ नभएको प्रहरी स्रोतको दाबी छ ।

पड्किएको गोलीको खोका र बरामद भएको ‘गोली’ मिल्यो

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा राति त्यहाँ पड्किएको गोलीको खोकासँग लामाको साथबाट बरामद भएको गोली मिलेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरसँग भने, ‘खोका र लामाबाट बरामद भएको बुलेटको साइज र नम्बर पनि एउटै छन् । त्यसैले गोली पनि त्यहीँ पेस्तोलबाट चलेको हो ।’

यद्यपि, प्रहरीले थप परिक्षणका लागि बरामद भएको सामग्री विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी भइरहेको छ ।

सीसीटीभी फुटेजमा गोली चलेपछि लामासँगै दौडिरहेको देखिएका युवक समेत उनकै साथी हुन सक्ने प्रहरीको आशंका छ ।

को हुन् लामा ?

ठेक्कापट्टाबाट गुण्डागर्दीको दुनियाँमा प्रवेश गरेका लामा राजनीतिक आडमा आपराधिक क्रियाकलाप गर्दै आएका थिए ।

काभ्रेली समूहका नाइकेको रुपमा चिनिएका लामालाई तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारको संरक्षण थियो ।

गच्छदारसँगै उनी पनि कांग्रेस प्रवेश गरे काभ्रेे क्षेत्र नम्बर १ ‘ख’ मा प्रदेशसभा सदस्यको उम्मेदवार समेत बने । तर, एमालेका चन्ऽ लामासँग पराजित हुन पुगे ।

पछिल्लो समय भने अपराधिक गतिविधिमा निष्त्रिmय प्रायः थिए । उनी सिरुवा कन्ट्रक्सन कम्पनीका सञ्चालक हुन् ।

लामाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि मुद्दा चलाएको थियो । अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पनि उनीविरुद्ध प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment