Comments Add Comment

‘सर्पट कटानी गरेर काठ बेच्नु गलत हो’

८ चैत, काठमाडौं । मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्- घनश्याम खतिवडा । अहिले खतिवडाको निर्वाचन क्षेत्रमा रहेको चारकोसे झाडी व्यापक फँडानी भएको छ । तर, तत्कालका लागि वन फँडानी रोक्न प्रदेश सरकारले यसैसाता वन कर्मचारीलाई निर्देशन दिएको छ ।

मोरङका जिल्ला वन अधिकृतले भने वन मन्त्रालयको निर्देशन अनुसार काम गर्ने भन्दै प्रदेश सरकारको आदेशप्रति अरुची देखाएका छन् । उनले मोरङको लेटाङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको राम्रो प्रभाव देखिएको दाबी गरेका छन् ।

यसै सन्दर्भमा हामीले लेटाङका पूर्वगाविस अध्यक्षसमेत रहेका सांसद खतिवडालाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले उत्तरी मोरङको वन क्षेत्रमा पारेको प्रभावबारे सोध्यौं-

प्रदेश १ मा रुख काट्न नदिने प्रदेश सरकारले यसैसाता निर्णय गरेको छ, यसमा तपाई सोही प्रदेशको सांसदका हैसियतले के भन्नुहुन्छ ?

प्रदेश सरकारले गरेको यो एकदमै स्वागतयोग्य निर्णय हो । वैज्ञानिक वन व्यवस्थापनका नाममा जंगल सखाप पार्नु गलत हो । अहिले प्रदेश सरकारले जे निर्णय गरेको छ, त्यो स्वागतयोग्य छ ।

जंगलमा कति रुख ढल्छन्, त्यो निकाल्नुपर्छ र त्यसबाट स्थानीय उपभोक्ताको आवश्यकता पूर्ति गर्दै जानुपर्छ । तर, सग्ला रुखहरु काट्न नदिने गरी अहिले मुख्यमन्त्रीले जुन स्टेप चाल्नुभएको छ, त्यो विल्कुल सही छ । जंगल काट्न दिनुहुँदैन ।

तपाईले वैज्ञानिक वन व्यवस्थापनको आलोचना गर्नुको कारण के हो ?

सामुदायिक वन बनाउने कुरा राम्रो हो । तर, वैज्ञानिक वन व्यवस्थापनका नाममा ८० वर्षपछि जंगल हुन्छ भनेर अहिले भएका रुख काट्नु गलत हो ।

तर, वन कर्मचारी त जनप्रतिनिधिले कुरै बुझेका छैनन्, आफूले नजानेको विषयमा नेताहरुले हामीसँग सोधे हुन्थ्यो भन्छन् नि ?

यो एकदमै गलत कुरा हो । यो वैज्ञानिक वन व्यवस्थापनको कुरा ०५७ सालमा पनि आएको थियो । त्यतिबेला वन कर्मचारीहरुले यो ल्याउन खोज्दा हामीले विरोध गर्‍यौं । त्योबेला म स्थानीय जनप्रतिनिधि थिएँ । सामुदायिक वन अभियानबाट हामीले नाराजुलुस गर्‍यौं । काठमाडौंको बसन्तपुरमा सभा गरेर, त्यसबेलाका वन सचिवलाई थर्काएर रोकेका थियौं ।

त्यसबेला वैज्ञानिक वन व्यवस्थापन खास गरी अपरेसनल फरेस्ट म्यानेजमेन्ट प्लान ल्याउन लागेका थिए, त्यो चिजलाई हामीले क्यान्सिल गराएकै हो त्योबेला ।

फेरि पछि यो कार्यक्रम कसरी आयो त ?

अहिले विस्तारै सामुदायिक वनका पदाधिकारीहरुलाई कन्भिन्स गरेर वन कर्मचारीहरुले बहादुरी गर्दै यो विषयमा खेलोफड्को गरिराखेका छन्, यो गलत हो ।

तपाईको विचारमा यो कार्यक्रम रोक्नैपर्छ भन्ने हो ?

स्थानीय तहमा जनप्रतिनिधिहरु नभएका बेलामा यो ल्याइएको थियो, अब जनप्रतिनिधिहरु आएपछि यसलाई रोक्नैपर्छ ।

रोक्नै पर्नेगरी यो कार्यक्रमको के बेफाइदा देख्नुभयो ?

ढलापडा रुखहरु जंगलबाट निकाल्नुपर्छ । तर, सर्पट कटानी गरेर निकाल्ने कुराचाहिँ सर्वथा गलत हुन्छ ।

यो कार्यक्रमले जंगलभित्र ठुल्ठुला चाक्लामा वन फँडानी भएकाले गर्दा वन्यजन्तुहरुलाई पनि अहिले समस्या भएको छ । नयाँ बिरुवा जर्मिनेशन हुन्छ, भनिएको छ, त्यहाँ दुई/तीन वर्ष अगाडि काटिएका चाक्लाहरुमा खासै राम्ररी बिरुवाहरु बढेको देखिँदैन ।

यसका नकारात्मक कुरा त थुप्रै छन् । कति छन्,कति छन् ।

तपाई मोरङको लेटाङ नगरपालिकाकै वासिन्दा हुनुहुन्छ, मोरङका डीएफओले मिडियालाई दिएको प्रतिक्रिया अनुसार वैज्ञानिक वन व्यवस्थापनका कारण लेटाङमा ह्वात्तै जंगल बढेको छ रे नि त ?
जंगलको ठूलो रुख जम्मै काटिने भएकाले मसिना बिरुवाको झाडीजस्तोमात्रै देखिन्छ, जंगलजस्तो देखिँदैन ।

जंगलमा काटिएका काठहरुको दुरुपयोग भएको छ कि छैन ?

सामुदायिक वनवालाहरुले हामीले क्लियर गरेका छौं भन्छन् । उपभोक्ताहरु चाहिँ सन्तुष्ट छैनन् ।

काठमा घोटाला छ भन्ने कुरा त यसैबाट प्रष्ट हुन्छ कि मान्छे किन रुख काट्न लालायित भइरहेका छन् ? जोगाउन किन लालायित छैनन् ? किनभने यसभित्र केही गडबड छ ।

सामुदायिक वनका पदाधिकारी वन जोगाउनुपर्छ भन्दैछन् कि काट्नैपर्छ भन्छन् ?

उनीहरु काट्ने कुरामै केन्द्रित देखिन्छन् । हामीले काट्न पाउनुपर्छ, त्यो पैसा हामी समुदायको विकासमा खर्च गर्छौं, स्कुलमा खर्च गर्छौं भन्छन् । बाटोमा खर्च गर्छौं, त्यसैले रुखहरु काट्न दिनुपर्छ भन्छन् ।

तर, कतिपय ठाउँमा त तारबेरा गरेरै नयाँ बिरुवाहरु जोगाएका छौं भन्छन् त वनका नेताहरु ? त्यसरी बिरुवा हुर्काइएको छैन मोरङमा ?

कतिपय ठाउँमा तारबेरा गरेर बिरुवा हुर्किएको चाहिँ छ । तर, ८० वर्षमा रुख हुन्छ भनिएको छ । अब सखुवाको रुख बढेर ८० वर्षमा कत्रो होला ?

तर, तारबेरा नगरेको ठाउँमा पनि त सालका बिरुवा हुर्किइरहेका छन् नि । बेलबारीको बेतना सिमसार एरियातिर सखुवाका लाथ्रा त यसै हुर्किएकै छन् नि । जंगलमा सखुवाका बिरुवा हुर्कनलाई कुनै गाह्रो छैन ।

सालका बिरुवाहरु जंगलमा त्यसै पनि हुर्किरहेका छन्, त्यहाँ तारजाली लगाउनै पर्दैन । आगो लाग्न नदिने र जंगलमा लाथ्रा काट्न नदिने हो भने सखुवाका बिरुवा अल्टिमेट्ली जर्मिनेसन भइराखेका छन्, ती हुर्कन्छन् । त्यही बाहनामा ठूला रुखहरु ढालिरहनै पर्दैन ।

तपाईको मतलव यो वैज्ञानिक वन व्यवस्थापन ठीक छैन उसोभए ?

ढलापडा रुखहरु जंगलबाट निकाल्नुपर्छ । तर, सर्पट कटानी गरेर निकाल्ने कुराचाहिँ सर्वथा गलत हुन्छ ।

जेलाई वन व्यवस्थापन भनिएको छ, यो गलत छ । ढलेका, मकाएका, धोद्रो परेका रुखहरु निकालिएको भए कुनै आपत्ति हुँदैनथ्यो । सुकेका रुखहरु छन् भने त्यस्ता त निकाल्नैपर्छ ।

तर, ठूलो रुख काट्नु भनेको वातावरणकै हिसाबले पनि गलत छ । वयस्क ठूलो रुखले जति अक्सिजन दिन्छ, एउटा बिरुवाले त त्यो तुलनामा गर्न सक्दैन नि । यसले त वातावरण एकदमै बिग्रिन्छ ।

अहिले काटेर थुपारिएका काठमाडौं आम्दानी कसको हुनुपर्छ ? वन समिति, केन्द्र सरकार, स्थानीय तह या प्रदेश ?

जनतालाई हस्तान्तरित गरेका वनहरु त ठीकै छ, जनताले प्रयोग गर्न पाउनुपर्छ । जनताले किनेर प्रयोग गर्न पाउनुपर्छ । त्यहाँभित्र तस्करहरुको मिलेमतो छ भने यसमा पनि छानविन गर्नुपर्‍यो । निगरानी गर्नुर्‍यो ।

तर, जनताले उपयोग गर्नचाहिँ पाउनुपर्छ । जल, जमिन, जंगल जनताको अधिकारको कुरा हो । तर, सर्पट कटानी गरेर बाहिर काठ बेचेर अनि कल्भर्ट बनाउँछु, बाटो बनाउँछु भन्ने त्यो गलत कुरा हो ।

यो पनि पढ्नुहोस्

मोरङमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment