Comments Add Comment

काठमाडौंमा ९ महिनामा ८९ जना महिला र बालिका बलात्कृत

बलात्कारका घटना न्यूनिकरण गर्न अभियान थाल्दै प्रहरी

२० चैत, काठमाडौं । काठमाडौंमा आर्थिक वर्ष २०७४/०७५ को चैतसम्म ८९ वटा बलात्कारको घटना भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिसरका अनुसार यसअघि आर्थिक वर्ष ०७१/०७२ मा ९२, ०७२०/७३ मा ९९ र ०७३/०७४ मा ११२ जबरजस्तीकरणीका घटना भएका थिए ।

मंगलबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित जबरजस्तीकरणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्य योजनामाथि छलफल कार्यक्रममा प्रस्तुति दिँदै परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले पछिल्लो समय महिला तथा बालिबालिकाविरुद्ध हुने अपराध उल्लेख्य रुपमा वृद्धि भएको बताए ।

जबरजस्तीकरणी जस्तो संवेदनशील अपराधको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरु समेत गम्भीर र संवेदनशील हुन नसेको गुनासो रहेको उल्लेख गर्दै उनले जबरजस्तीकरणीका घटना नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम साथै भएका अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम गरिने बताए ।

साथै, सरोकारवाला निकाय र संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा यस्ता घटना न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गर्ने प्रहरीको कार्य योजना रहेको समेत उनको भनाइ छ।

सोही अवसरमा प्रहरीले महिला तथा बालिकामाथि हुने अपराधको नियन्त्रणका लागि ३ कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानुन कार्यान्वयमा फितलोपन र सांस्कृति विचलन जस्ता कारणले जबरजस्तीकरणीका घटना बढिरहेका छन्

‘सरोकारवाला निकायहरुको सहयोग र समन्वयमा ३ महिने अल्पकालिन आयोजना तयार गरी कार्यक्रम गरिनेछ’, परिसरको योजना बारे सार्वजनिक गर्दै थापाले कार्यक्रममा भने, ‘जनचेतनामूलक कार्यक्रम र अपराध अनुसन्धान र पीडितको सुरक्षाका लागि प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यक्रम समेत प्रदान गरिनेछ ।’

उनका अनुसार पछिल्ला समय देखिएका बलात्कारका घटनामा पीडितलाई ललाइफकाइ, डर, त्रास देखाएर, धम्की दिएर, विवाह गर्छु भनेर वा अन्य विभिन्न किसिमका प्रलोभन देखाएर जबरजस्तीकरणी हुने गरेको देखिएको छ ।

के छ समग्र नेपालको अवस्था ?

सोही अवसरमा समग्र नेपाको जबरजस्तीकरणीको अवस्था बारे पनि सार्वजनिक गरिएको थियो । जस अनुसार मुलुकमा १६ वर्षभन्दा कम उमेरका पीडितको सङ्ख्या सबैभन्दा बढी रहेको छ । साथै, १० वर्षमुनिदेखि ५० वर्षमाथि उमेरका समेत पीडित रहेको देखिएको जनाइएको छ ।

सबैभन्दा बढी १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका पीडित छन् भने पीडक १५ वर्षदेखि ५० वर्षमाथि सम्मका छन् । साथै, पछिल्ला समय भएका घटनामा पीडक विवाहित र पीडित अविवाहित रहेका घटनाहरु बढी देखिएका छन् ।

आखिर किन उल्लेख्य रुपमा जबरजस्तीकरणीका घटना वृद्धि भइरहेको छ त ? काठमाडौं प्रहरी परिसरका अनुसार जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानुन कार्यान्वयमा फितलोपन र सांस्कृति विचलन जस्ता कारणले जबरजस्तीकरणीका घटना बढिरहेका छन् ।

उजुरी हाल्दा पनि ढिला गरी उजुरी पर्ने हुँदा कतिपय अवस्थामा प्रमाणहरु नष्ट भइसकेको हुने गरेको देखिन्छ

नागरिकको सहयोगमा अभियान थाल्छौंः प्रहरी प्रमुख

कार्यक्रममा संबोधन गर्दै काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले महिला तथा बालिकामाथि जबरजस्तीकरणीका घटनाको बढ्दो वृद्धि दरलाई न्यूनिकरण गर्न आम नागरिकको सहभागिता कार्ययोजना बनाएर अभियान थाल्ने बताए ।

‘जबरजस्तीकरणी जस्तो घटनालाई न्यूनिकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन । आम नागरिककको सहभागितामा कार्ययोजना बनाएर हामी अभियान थाल्छौं’, पोखरेलले भने, ‘गाउँगाउँ, टोलटोल र हरेक स्कुलस्कुलसम्म यो अभियानलाई पुर्‍याउन सके अवश्य पनि यस किसिमका घटना रोकिन्छ ।’

जबरजस्तीकरणीको घटना बारे प्रहरीमा उजुरी गर्ने या नगर्ने भन्ने विषयमै पनि पीडित द्विविधामा पर्ने गरेको बताउँदै पोखरेलले भने, ‘उजुरी हाल्दा पनि ढिला गरी उजुरी पर्ने हुँदा कतिपय अवस्थामा प्रमाणहरु नष्ट भइसकेको हुने गरेको देखिन्छ ।’

‘जबरजस्तीकरणी घटनाका पीडितलाई न्याय दिन नसकेको कुराले समाज, राज्य र राज्य संयन्त्रका साबैलाई ठूलो पीडा दिन्छ’, उनले भने, ‘सत्य, तथ्य प्रमाणका आधारमा अनुसन्धान गरेर अनुसन्धानलाई सुदृढ र मजबुत बनाउन प्रहरीभित्रै पनि विविध कार्यक्रमहरु गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment