Comments Add Comment

मयूरमा लगानी गर्न देश-विदेशबाट प्रस्ताव, अध्यक्ष भन्छन्-सडक ‘मयूरमय’ हुँदैछ

पुराना व्यवसायीको पनि मयूरमा आबद्ध हुने इच्छा


१० वैशाख, काठमाडौं । पछिल्लो समय चर्चामा छ, मयूर यातायात प्रालि । ठूला बस ल्याएर सेवा थालेको यो कम्पनीमा लगानी गर्न देश-विदेशबाट प्रस्ताव आउन थालेका छन् । पुराना यातायात व्यवसायीले पनि यातायात समिति छोड्न तयार भएको भन्दै मयूरमा आबद्ध हुन इच्छा व्यक्त गरेका छन् ।

अरनिको राजमार्गको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयूर यातायातमा लगानी गर्न अन्य क्षेत्रका व्यवसायीसहित गैरआवासीय नेपालीहरुले पनि प्रस्ताव राखेका छन् ।

कम्पनीले भने कसरी अघि बढ्ने भनेर ठोस निर्णय गरेको छैन । समितिहरु कम्पनीविरुद्ध आन्दोलनमै रहेकाले परिस्थिति हेरेर लगानीका प्रस्तावमाथि छलफल गर्ने तयारीमा छ, मयूर ।

कम्पनीमा लगानीका लागि दैनिक ठूलो संख्यामा लगानीकर्ताले आफूहरुसँग परामर्श गरिरहेको मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । सडकको सिन्डिकेट समाप्त गर्ने गरी सरकारले कदम चालेपछि विभिन्न क्षेत्रका यातायात समितिहरुले पनि मयूरसँग कम्पनी दर्ताका लागि परामर्श गरेका हुन् ।

अध्यक्ष श्रेष्ठ देश-विदेशबाट कम्पनीका लगानी गर्न इच्छुकहरुले दैनिक सम्पर्क गरिरहेको बताउँछन् । उनले लगानी जुटाएर मयूरलाई दक्षिण एसिया कै उत्कृष्ट सार्वजनिक सवारी सेवा प्रदायक कम्पनी बनाउने दावी गरे ।

‘हामी अहिले सीमित शहरी रुटमा मात्रै छौं । तर, यहीँ रोकिने गरी अएका हैनौं,’ श्रेष्ठले भने,’नयाँ बसहरु थप्दै देशभरका रुटहरुमा बस लान्छाैं । हामी धेरै ढिलाइ गर्दैनौं ।’

२४ वटा बस चक्रपथबाट पनौती र धुलिखेल गुडाइरहेको यो कम्पनीले तत्कालै २३ वटा बसमार्फत थानकोटसम्म सेवा विस्तार गर्न लागेको छ ।

चक्रपथमा मात्रै चल्ने गरी ५० वटा बस पनि ल्याउन लागिएको छ । थप बसहरु पनि ल्याउन उसले प्रक्रिया थालेको छ । अध्यक्ष श्रेष्ठले केही वर्षभित्र काठमाडौंका लामा रुटहरु ‘मयूरमय’ हुने दावी गरे ।

‘हामी ठूला बसमार्फत मात्र सेवा दिने भन्दैमा यात्रुको सुविधामा सम्झौता गर्दैनौ । सविधासम्पन्न बस नै ल्याउने हो । वाइफाइ, एसी लगायतका सुविधा पनि दिने हो,’ उनले भने ।

मयूरले अहिले बालबालिका, ज्येष्ठ नागरिक र ट्राफिक प्रहरीलाई निःशुल्क यात्रा गराइरहेको छ । आमा बच्चा सिटको आरक्षण पनि गरेर उसले बालमैत्री यात्रालाई प्रबर्द्धन गरिरहेको छ ।

‘हाम्रो ठूलो टिम छ । यातायात क्षेत्रमा राजनीति गर्न आएको हैनाैं । सेवा दिन आएका हाैं,’ श्रेष्ठले भने,’सानो योजना लिएर आएका पनि हैनौं । केही समयपछि मयूरका बस देशभर देख्न पाइनेछ ।’

अध्यक्ष श्रेष्ठले अझै पनि समितिहरुले आफ्नो दादागिरी कायमै राखेको बताए । आइतबार मयूर बसका एक चालक कुटिएका छन् ।

काभ्रे प्रहरीले कुटपिटका आरोपमा पक्राउ परेका काभ्रे मिनीबास यातायात समितिमा आवद्ध बसका सहचालकहरुमाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

‘सर्वसाधारणले नै कुटपिट गर्नेहरुलाई समातेर प्रहरीलाई बुझाउनु भएको हो । हामीलाई पब्लिकको ठूलो सर्पोट छ,’ उनले भने,’त्यसैले पनि आत्मविश्वास छ कि हामीलाई कुनै क्षेत्रमा प्रतिस्पर्धा गर्न गाह्रो पर्ने छैन ।’

उनले अब पनि पुरानै ढर्रामा सार्वजनिक यातायात चलाउनु आम जनतामाथिको बेइमानी र अपराध मात्रै हुने बताए । त्यसैले नेपालमा बदनाम भएको सार्वजनिक यातायात सेवालाई सुधार गर्न अब मयूरले नै नेतृत्व गर्ने बताए ।

‘सरकारले तोकेकोभन्दा स्तरीय सेवा दिने सोचका साथ मयूर आएको हो । दुबईको सार्वजनिक यातायात हेरेर बनेको योजना हो यो ,’ श्रेष्ठले भने,’दुबईमै बनेको योजना यहाँ लिएर आएका हौं । केही समय पर्खिनुस्, हामी के-के गर्छौं देख्न पाउनुहुन्छ ।’

उनले सरकारले बनाएको नियम र तोकेको सीमाभित्रै बसेर सेवा प्रदान गर्ने बताए । उनले कम्पनीका नाममा फेरि अर्को सिन्डिकेट खडा हुन नदिन सरकारले योजना र बलियो कानुन बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment