Comments Add Comment

नक्कली नोटसहित फिल्म निर्माता वाग्ले पक्राउ, सुटिङका लागि बनाएको दावी


२ जेठ, काठमाडौं । फिल्म निर्माता माधव वाग्लेलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

वाग्लेको प्रोडक्सन हाउस ‘पि्रन्सेस मुभिज’को कोठामा खानतलासी गर्दा नक्कली नोट भेटिएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । बुधबार परिसरले पत्रकार सम्मेलन गरी नक्कली नोटसहित वाग्ले र अन्य ५ जनालाई सार्वजनिक गरेको छ ।

निर्माता वाग्लेले चलचित्र ‘चङ्गाचेट’को छायांकनका लागि यो नोट बनाएको बताएका छन् । तर, त्यसमध्ये केही रकम बजारमा पुगेपछि वाग्ले पक्राउ परेका हुन् ।

वाग्लेको कोठाबाट २ करोड ५२ लाख नक्कली नोट भेटिएको थियो । वाग्लेले निर्माण गरिरहेको चलचित्र ‘चङ्गाचेट’का निर्देशक दीपेन्द्र के खनालले अनलाइनखबरसँग कुरा गर्दै नक्कली नोट प्रकरणबारे भनेः

हामीले चलचित्र ‘चङ्गाचेट’को छायांकनका लागि साढे २ करोडभन्दा बढी नक्कली नोट छपाउन भनेका थियौं । हाम्रो आर्टको भाइले गद्दारी गरेपछि यस्तो झमेला पर्न गएको हो ।

हामीले, चलचित्रको एक दृश्यमा चोरीको दृश्यका लागि ३ करोड नोट चाहिएपछि नक्कली नोट बनाउन आर्टको भाई मेनुका राइलाई भन्यौ । मेनुकाले पनि सुदिप तामाङ भन्नेलाई जिम्मा दिएछन् । यसपछि, सुदिपले फेरि अर्को साथीलाई जिम्मा दिएछन् ।

तर, हामीले चलचित्र छायांकनका लागि बनाउन भनेको मध्ये केही पैसा सुदिप र उनका साथीहरुले हामीलाई नदिई आफैले लिएछन् । जुन, पैसा उनीहरुले एउटा रेष्टुरेन्टमा बिल तिर्ने बेलामा खर्च गरेछन् । सुदिपलाई प्रहरीले ३ दिन अगाडि नै पक्राउ गरेको रहेछ । माधव दाइलाई आज प्रहरीले डाकेको हो । तर, उहाँलाई प्रहरी परिसरमै राखिएको छ ।

पैसाको बन्डलमा ‘छायांकनका लागि’ लेखिएको छ । तर, चलचित्रमै काम गर्ने केही मानिसको गल्तीले एउटा निर्माता फस्न पुग्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment