Comments Add Comment

हेडसरको ज्यादती : विद्यार्थीलाई कुटपिट गरी पिसाब खुवाइयो

४ जेठ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ ।

पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् ।

प्रधानाध्यापक तिमिल्सिनाले भने उछृङ्खल गतिविधि गर्ने विद्यार्थीलाई सामान्य कारबाही गरेको बताएका छन् । उनका अनुसार जेठ १ गते वुद्ध, लाक्पा र गणेश बुढाथोकीले आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटर बोतलमा पिसाब र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आयो । त्यसपछि उनीहरुलाई कारबाहीस्वरुप त्यही पानी पिउन दिएको र नमाने पछि पाइपको टुक्राले हिर्काएको तिमिल्सिनाले बताए ।

कारबाहीको क्रममा बोतलको पानी वुद्ध तामाङ र लाक्पा तामाङले पिएको र गणेश बुढाथोकीले पिउन नमानेपछि मात्र पिसाब भएको खुलेको उनले बताए । उनले कक्षा ९ कि छात्रा ममिता तामाङलाई जेठ २ गते साथीसंग झगडा गरेको भन्दै कुटपिट गरेका छन् । प्रधानाध्यापक तिमिल्सिनाले ममिता गाजा खाएर विद्यालय आउने र साथीहरुसंग झगडा मात्र गर्ने गरेकाले गालामा पाँच चट्कन हानेको बताए ।

प्रधानाध्यापकमाथिको गुनासोको विषयमा छलफल गर्न विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएको थियो । तर प्रधानध्यापक नआएपछि बहुमतको निर्णयमा प्रधानध्यापकलाई हटाएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले बताए । उनका अनुसार अब प्रहरीमा संयुक्त उजुरी दिने र कारबाहीको लागि सिफारिस गरिनेछ ।

प्रधानाध्यापक तिमिल्सिनाले भने ब्यवस्थापन समितिको बैठकबारे आफूलाई जानकारी नभएको, गाउँपालिका अध्यक्ष र वडाअध्यक्षसंग राम्रो सम्बन्ध नरहेकै कारण घटना तोडमोड गरेर आरोपित गरिएको बताए । आफूलाई प्रधानाध्यापकबाट हटाउन गाउँपालिका अध्यक्ष र वडाअध्यक्षले खेल खेलेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment