Comments Add Comment

लाइसेन्स प्राप्त हतियारको आडमा व्यवसायीको गुन्डागर्दी

क्रमशः वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा बले, आङकाजी शेर्पा र रघुनाथ पुरी

२७ जेठ, काठमाडौं । प्रहरी उच्च अधिकारीहरुसँगको साँठगाँठ र लाइसेन्स प्राप्त हतियारको आडमा काठमाडौंका व्यवसायीहरुले गन्डाराज चलाउने गरेको भेटिएको छ । यस्ता व्यवसायीमा ठेकदारदेखि म्यानपावर सञ्चालकसम्म छन् ।

हतियारको आडमा धम्क्याएको गुनासो आएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अप्रेशन नै चलाएको थियो । त्यसक्रममा आइतबार नै चार ४ व्यवसायीको नाममा दर्ता भएको अत्याधुनिक हतियार खोसिएको छ ।

उनीहरुसँग भएका हतियार सुरक्षा चुनौतिको रुपमा देखाएपछि महाशाखाले उनीहरुको इजाजत रद्द गर्न जिल्ला प्रशासन कार्यालय, ललितपुरलाई सिफारिस गरेको थियो । र, हातहतियार खरखजाना ऐन, २०१९ को दफा ११ बमोजिम उनीहरुलाई दिएको इजाजत पत्र रद्द भएपछि प्रहरीले हतियार बरामद गरेको हो ।

उच्च प्रहरी अधिकारीसँगको साँठगाँठको आडमा गुन्डागर्दी

काभ्रेको उग्रचण्डी–२ का वीरेन्द्रलाल श्रेष्ठ ठेकदार हुन् । क्यासिनोमा लगानी समेत गरेका उनले ‘पोइन्ट टु’ बन्दुक राख्न स्थानीय प्रशासनबाट लाइसेन्स लिएका थिए ।

प्रहरीका उच्च अधिकारीसँग राम्रो सम्वन्ध बनाएका उनी मिटरब्याजी समेत भएको र लाइसेन्स प्राप्त हतियारको आडमा गुण्डाराज चलाएको गुनासो प्रहरीसामू आएको छ । उनीविरुद्ध दर्जनौं उजुरी प्रहरी कार्यालयहरुमा थन्किएका थिए ।

प्रहरीले अाइतबार बरामद गरेको हतियार ।

उनी हतियार देखाएर ठेक्कापट्टा हात पार्थे । दजनौं उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई ०७३ सालमा पक्राउ गरेको पनि थियो । उनीविरुद्ध बैंकिङ कसुर र ठगी मुद्दा चलेको थियो । तर, प्रहरीबाट छुटे लगत्तै पुरानै शैली दाेहोरिन थाल्यो।

उनले काभ्रे र काठमाडौंको विभिन्न क्षेत्रमा जग्गा प्लटिङ कब्जा गरेको गुनासो पनि प्रहरीसम्म पुग्ने गरेको छ ।

उनले गुन्डा लगाएर प्लटिङ क्षेत्रमा आफ्नो राज चलाउँदै आएको स्रोतको दाबी छ । उनलाई नजिकबाट चिन्ने एक व्यक्ति भन्छन्, ‘५३/५४ सालमा थोत्रो मोटरसाइल चलाउने उनको पछिल्ला वर्षहरुमा एकाएक जीवनशैली परिवर्तन भएको छ ।’

तर, उनको लाइसेन्स खारेज भएपछि अपराध महाशाखाले उनको हतियार बरामद गरेको छ ।

क्यासिनो किङको रूपमा समेत चिनिने बलेलार्इ प्रहरीले जुवा, अपहरण र कुटपिटको अभियोगमा यसअघि पक्रेको थियो

बलेः क्यासिनोमा ‘टेबुल’ देखि जुवाडेको लगानीकर्तासम्म !

हतियार खोसिएका अर्का व्यक्ति हुन्, काभ्रेको वाल्टिङ–४ का बलराम सापकोटा उर्फ बले । उनीसँग एउटा १२ बोर र अत्याधुनिक जीएसथ्री जर्मनी हतियारको लाइसेन्स थियो ।

उनको पनि काठमाडौंको विभिन्न क्यासिनोमा लगानी छ । क्यासिनोमा आउनेहरुलाई मिटरब्याजमा पैसा पनि दिँदै आएको स्रोत बताउँछ ।

‘उनी ३ वर्ष अघिसम्म क्यासिनो रोयलमा टेबुल चलाउँदै आएका थिए’, बले निकतस्थ भन्छन्, ‘पछिल्लो समय उनी खेल्न आउनेहरुलाई पैसा लगानी गर्दै आएका छन् ।’

काभ्रेली समूहका पूर्वसदस्य समेत रहेका उनीमाथि रक्तचन्दन तस्करीको अभियोग समेत लागेको थियो । उनले कांग्रेस काभ्रेको जिल्ला कोषाध्यक्ष पदका लागि उठेका थिए । तर, झिनो अन्तरले पराजित भए ।

क्यासिनो किङको रूपमा समेत चिनिने बलेलार्इ प्रहरीले जुवा, अपहरण र कुटपिटको अभियोगमा यसअघि पक्राउ गरेको थियो ।

गाडीमा बन्दुक बोक्न सौखिन शेर्पा

सोलुखुम्बुको केरुङ–१ का स्थायी बासिन्दा आङ्काजी शेर्पासँग जीएसथ्री बन्दुक थियो । उनको काठमाडौंको कपनसहित भक्तपुरका विभिन्न स्थानमा गरी बालुवाको ६ वटा डिपो छ ।

निर्माण व्यवसायको अन्य क्षेत्रमा पनि ठेक्कापट्टा गर्ने गर्छन् । आफ्नो पक्षमा ठेक्का कुम्ल्याउने अस्त्रको रुपमा उनले जीएसथ्री बन्दुक प्रयोग गर्दै आएका थिए । सवारी साधनमा हिँड्दा समेत सधैं हतियार बोकेर हिँड्ने उनीबाट व्यवसायी समेत त्रसित थिए ।

पीडितहरुले पुरीविरुद्ध गुनासो पोख्दा ‘उडाइदिने’ धम्की दिने गरेको समेत भेटिएको छ ।

गुनासो गर्नेलाई ‘उडाइदिने धम्की’ !

मोरङको डाँगीहाट–१ का रघुनाथ पुरीको नाममा जीएसथ्री बन्दुकको इजाजत प्रशासनले दिएको थियो ।

तर, उनले हतियारको यतिसम्म दुरुपयोग गरे कि उनीसँग भएको हतियारबाट जघन्य अपराध हुन सक्ने देखेर स्थानीय प्रशासनले इजाजत रद्द नै गर्नु पर्‍यो ।

उनी काठमाडौंको बत्तिसपुतलीस्थित द रिभर ओभरसिज म्यानपावर कम्पनीका सञ्चालक हुन् । आफ्नो मेनपावरविरुद्ध गुनासो वा उजुरी लिएर आउने व्यक्तिलाई धम्क्याउन उनले त्यही लाइसेन्स प्राप्त हतियार प्रयोग गर्ने गरेको उजुरी छ ।

पीडितहरुले उनीविरुद्ध गुनासो पोख्दा ‘उडाइदिने’ धम्की दिने गरेको समेत भेटिएको छ ।

प्रहरी रेकर्ड अनुसार उनी पुरानै अभियुक्त हुन् । उनीविरुद्ध तत्कालिन महाशाखा प्रमुख एवं हालका आईजीपी सर्वेन्द्र खनालले ०७२ सालमा वैदेशिक ठगी सम्बन्धी मुद्दा चलाएका थिए ।

उनीहरुबाट बरामद हतियार अब सरकारी कोषमा दाखिला गरिने प्रहरी बताउँछ ।

यो पनि पढ्नुस् 

लाइसेन्स लिएर सर्वसाधारण धम्क्याएपछि ४ जनाको हतियार खोसियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment