Comments Add Comment

बच्चाको ‘नाम’ के राख्ने, कसरी राख्ने ?

‘ठूलो भएपछि आफ्नो नाम राख्नुपर्छ’, ‘धेरै पढेर आफ्नो नाम प्रशिद्ध बनाउनुपर्छ’, ‘नाम बदनाम हुने काम कहिल्यै गर्नु हुँदैन ।’

हामी बच्चालाई यसै भन्छौं । अर्थात उनीहरुलाई बुझाउँछौं कि, ‘नाम’ भन्ने कुरा सित्तिमिती चिज होइन । चानचुने कुरा होइन । भन्छौं, ‘तिमी जीवनभर जे गर्छौं, त्यसले तिम्रो नाम उँचो बनाउनुपर्छ ।’

आखिर नाममा के छ ?

नाम भनेको उसलाई चिनाउने, इंगित गर्ने यस्तो सांकेतिक कुरा हो, जो उनको पहिचान बन्छ । यसो सोच्दा ‘नाम’ भन्ने कुरा सामान्य लाग्छ । तर, अर्को तरिकाले सोच्दा ‘नाम’ भन्ने कुरा निकै गतिलो लाग्छ । हामी जीवनभर त्यही नाम बोकेर बाँच्छौं । आफु मरेपनि ‘नाम’ बाँचिरहोस् भन्ने आकंक्षा राख्छौं । यति मूल्यवान् छ, नाम । त्यही कारण त अहिलेका आमाबुबालाई आफ्ना ‘छोराछोरीको नाम के राख्ने’ भन्ने विषयले निकै सोचमग्न बनाउने गर्छ ।

बच्चाको नाम

यो प्रसंग तपाईंलाई अनौठो लाग्न सक्छ, तर अनावश्यक लाग्नेछैन । किनभने जीवनको कुनै चरणमा तपाईंले भोग्नुपर्ने, भोगिसकेको वा भोगिरहेकै कुरा हो यो ।

बच्चाको नाम के राख्ने ?

सुन्दा सामान्य लाग्छ, तर धेरै अभिभावकले अनुवभ गरेको कुरा हो कि बच्चाको नाम छनौट गर्न कति गाह्रो हुन्छ । भन्न त के भनिन्छ भने, नाममा के छ र ?

तर, त्यही नामले आमाबुबाको माथिंगल हल्लाइदिन्छ, जब बच्चाको न्वरान गर्ने बेला हुन्छ । न्वरान त हामी परम्परागत संस्कार अनुसार गर्छौं । पुरोहित वा कुनै धर्मगुरुले बच्चाको जन्म, घडी, पाला, बार, समय आदिको आधारमा नाम राखिदिन्छन् । तर, त्यस्तो नामले आमाबुबाको चित्त बुझ्दैन । आफुले जन्माएको बच्चालाई आफैले कुनै पि्रय नाम दिन चाहन्छन् उनीहरु ।

नाम भनेको बच्चाको पहिचान हो । जीवनभर उसले त्यही नाम बोकेर हिँड्छ । त्यही नामले उनी चिनिन्छन् ।

हुन त कतिपय पति-पत्नीले बच्चा गर्भमा छँदै हुनेवाला बच्चाको नाम के राख्ने भनेर मोटामोटी सूची तयार गरिसकेका हुन्छन् । अझ कतिपयले त लभ अफेयरमा रहेकै बेला पछि जन्मने बच्चालाई यस्तो नाम दिने भनेर संभावित नामहरु खोजिसक्छन् । तर, सबैको हकमा यस्तो हुँदैन ।

अर्कोतिर पतिले सिफारिस गरेको नाममा पत्नीले चित्त नबुझाउन सक्छिन् । पत्नीले खोजेको नाम पतिले अनुमोदन नगरिदिन सक्छ । त्यसैले बच्चा नाम राख्नु चानचुने वा सोचेजस्तो सजिलो कुरा चाहि होइन ।

नामको खोजी

हामीसँग हुर्किएका एउटा पुस्ता छन्, जसको नाम राम, श्याम, कृष्ण, हरी छन् । अब नयाँ जन्मने बच्चाका लागि यी नामहरु ‘डेट एक्सपायर’ भए । किनभने तपाईको टोल, छिमेकमा यस्ता नामधारी छ्यापछ्याप्ती भेटिन सक्छन् । एउटालाई बोलाउँदा, अर्कोलाई सम्बोधन हुनपुग्छ । त्यसैले आपसमा मिल्ने, जुध्ने नामहरु भन्दा पृथक नाम खोजिदिने गरिएको छ ।

आमाबुबा चाहन्छन् कि, आफ्नो बच्चाको नाम यस्तो होस्, जो उच्चाहरण गर्दा मिठासयुक्त सुनियोस् । लयात्मक लागोस् । अर्थपूर्ण होस् ।

कतिपय आमाबुबाले आफ्नै नामको पहिलो अक्षर सापटी लिएर बच्चाको नाम जुराउँछन् । कतिले गुगल सर्च गरेर बच्चाको नाम खोज्छन् । कतिले यसका लागि शब्दकोश पल्टाउन थाल्छन् । कतिले चर्चित व्यक्तित्व एवं सेलिब्रेटीको नाम आफ्नो बच्चाका लागि जुराइदिन्छन् ।

हुनपनि नाम भनेको बच्चाको पहिचान हो । जीवनभर उसले त्यही नाम बोकेर हिँड्छ । त्यही नामले उनी चिनिन्छन् । त्यही नाम लिएर उसले स्कुल भर्ना हुनेदेखि विभिन्न कामकाज गर्ने गर्छन् ।

कसरी खोज्ने राम्रो नाम ?

आफुले यस धर्तीमा पैदा गरेको बच्चालाई नाम दिने पहिलो दायित्व आमाबुबाको हुन्छ । बच्चालाई यस्तो नाम दिनुपर्छ, जो सुन्दा राम्रो लाग्छ ।

१. यस्तो नाम, जो नाम अर्थपूर्ण होस् ।

२. यस्तो नाम, जो अरुसँग हत्तपत्त नजुध्ने होस् ।

३. यस्तो नाम, जो अनर्थ नलाग्ने होस् ।

४. यस्तो नाम, जो उच्चहरण गर्न सजिलो होस् ।

५.  यस्तो नाम, जो छरितो पनि होस् ।

बच्चाको नाम राख्दा परम्परा, सामाजिक नियम, पारिवारिक रीति-रिवाजलाई पनि ध्यान राख्नुपर्छ ।

सजिलो र सरल

अहिले कतिपय आमाबुबाले पौराणिक पात्रको नामबाट बच्चाको नाम राखिदिने गर्छन्, जो आदर्श पात्र थिए । तर यस्ता कति नामहरु उच्चहरण गर्न सजिलो हुँदैन ।

कतिपय आमाबुबाले अंग्रेजी वा पश्चिमा संस्कृतिको प्रभावमा त्यही अनुसारको नाम राखिदिन्छन्, जो नेपालीमा उच्चाहरण गर्दा जिब्रो सजिलै चल्दैन ।

नाम राख्दा ख्याल गर्नुपर्ने कुरा के हो भने, बच्चाको नाम सजिलै उच्चाहरण गर्न सकियोस् । लेख्दा पनि सरल होस । पछि बच्चाको आवश्यक कागजात तयार गर्दा होस् वा प्रशासनिक काम गर्दा, सजिलो नाममा त्रुटी हुने वा कुनै पनि किसिमको झन्झट हुने भय हुँदैन । अप्ठ्यारो नामले कतिपय ठाउँमा अप्ठ्यारो नै पार्न सक्छ । बोल्न असजिलो हुने नाम राख्नु हुँदैन । ‘युनिक’ अर्थात पृथक नाम राख्ने चक्करमा बोल्नै गाह्रो हुने नाम राख्नु उपयुक्त हुँदैन ।

यस्ता गल्ती नगरौं

बच्चाको नाम कुनै स्थानको नामबाट नराखौं । कुनै प्रशिद्ध स्थान, शहर, नदीनाला आदिको नामबाट बच्चाको नाम नराखौं ।

हास्यास्पद नहोस्

आफ्ना बच्चाको नाम यस्तो पनि नराखौं कि, जसको अगाडि वा पछाडिको अक्षर थोरै थपघट गर्दा त्यसको अनर्थ नलागोस् । अर्थात हास्यास्पद नाम नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment