Comments Add Comment

सुन तस्करीको छानविन निष्कर्ष उन्मुख, अझै भेटिएन राजनीतिक कनेक्सन

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे । फाइल फोटो

११ असार, काठमाडौं । उच्चस्तरीय समितिले सुन तस्करीबारे गरिरहेको छानविन निष्कर्ष उन्मुख भएको छ ।

तर, हराएको भनिएको साढे ३३ किलो सुन अझै भेटिएको छैन भने सुन तस्करीमा भएकाे मानिएको राजनीतिक कनेक्सनको पनि प्रमाण हात लागेको छैन ।

तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन हराएपछि चुणमणि उप्रेती ‘गोरे’ समूहले यातना दिने क्रमम सनम शाक्यको हत्या भएपछि यसबारे प्रहरीले अनुसन्धान थालेको थियो । त्यसमा प्रहरी अधिकारीकै भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले छानविन समिति बनायो । र, सुन तस्करीको ठूलो र्‍याकेट पर्दाफास भयो ।

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्व बनेको समितिले पछिल्ला ४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकाल्दै मुद्दा चलाएको छ ।

गृह मन्त्रालयका सह–सचिव एवं समितिका संयोजक ईश्वर पौडेलले अनलाइनखबरसँग कुरा गर्दै सुन प्रकरणको अनुसन्धान उत्तरार्द्धतर्फ पुगेको बताएका छन्

यसमा प्रहरीका उच्च अधिकारीहरु पनि छन् । जिल्ला अदालतमा मुद्दा चलिरहँदा पनि अभियुक्तहरु पक्राउ पर्ने क्रम रोकिएको छैन ।

मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे र चर्चित हुन्डी कारोबारी एवं व्यवसायी विमल पोद्दारलाई पक्राउ गर्नुलाई समितिको सफलताको रुपमा हेरिएको छ ।

एक अधिकारीका अनुसार सुन तस्करीको र्‍याकेटमाथि जारी अनुसन्धान ८० प्रतिशत सकिएको छ । गृह मन्त्रालयका सह–सचिव एवं समितिका संयोजक पौडेलले पनि अनलाइनखबरसँग कुरा गर्दै सुन प्रकरणको अनुसन्धान उत्तरार्द्धतर्फ पुगेको बताएका छन् ।

राजनीतिक कनेक्सन भेटिएला ?

हुन त उच्चस्तरीय छानविन समितिको म्याद अझै १९ दिन छ । तर, अब थप कनेक्सन खोतल्ने भन्दा अनुसन्धानलाई निष्कर्षतिर पुर्‍याउने समितिको तयारी छ ।

सुन तस्करीमा मुख्य व्यवस्थापक उर्लाबारीका गोरे नै भएको अनुसन्धान टोलीको निष्कर्ष छ । तर, लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल अझै फरार छन् ।

त्यति मात्र होइन, ३८ क्वीन्टल सुन तस्करीमा राजनीतिक संरक्षण थियो कि थिएन भन्ने खुलेको छैन ।

अनौपचारिक सम्वादहरुमा छानविन समितिका अधिकारीहरु पनि सुन तस्करीमा ठूला व्यवसायीदेखि नेताहरुकै संलग्नता छैन भन्न सक्दैनन्

धेरैले यत्रो परिणाममा भएको सुन तस्करीमा सुरक्षा निकाय र राजनीतिक नेतृत्वकै पनि संलग्नता हुनसक्छ भन्ने आशंका व्यक्त गर्छन् । तर, गोरे वा अरु कुनै अभियुक्तले पनि त्यसको कुनै सुराक वा प्रमाण अनुसन्धान समितिलाई दिएका छैनन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले केही समयअघि छिट्टै ठूला माछा पक्राउ पर्ने बताएका थिए । अनौपचारिक सम्वादहरुमा छानविन समितिका अधिकारीहरु पनि सुन तस्करीमा ठूला व्यवसायीदेखि नेताहरुकै संलग्नता छैन भन्न सक्दैनन् ।

तर, अहिलेसम्म समितिले ठूला माछाबारे बलियो तथ्य र प्रमाण हात पार्न सकेको छैन ।

आखिर गृहमन्त्रीले भन्न खोजेका ठूला माछा राजनीतिक दलसँग सम्बद्ध व्यक्ति नै हुन् त ? यो प्रश्नमा समितिका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘सुन तस्करीको जालो राजनीतिक नेतृत्वसम्म रहेको धेरैको आशंका रहेपनि हामीले अहिलेसम्म गतिलो कनेक्सन भेटेका छैनौं ।’

अब गोरे र फरार रहेका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवाललाई नै ठूला माछाका रुपमा प्रस्तुत गरेर अनुसन्धान टुंग्याउने त होइन भन्ने आशंका बढेको छ ।

हुन्डी कारोबारी पोद्दारले के बयान दिए ?

हुन्डी कारोबारी विमल पोद्दारको ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवालसँग साझेदारी रहेको समितिको दाबी छ ।

उनले तस्करीको रकम विदेशमा रहेका एजेन्टसम्म पुर्‍याउन सघाएको तथ्य समितिले फेला पारेको छ ।

‘हामीले उनलाई हुन्डी कारोबारीको रुपमा भन्दा सुन तस्करी प्रकरणका एक साझेदारको रुपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हौं’, समितिका एक सदस्य भन्छन्, ‘उनी तस्करीमा एकअर्कालाई रकम पठाइदिने माध्यम बनेका थिए । उनका थप विगतहरु हामी केलाइरहेका छौं ।’

पोद्दारको बयान गृह मन्त्रालयमा जारी छ । उनले प्रहरीकै उच्च अधिकारीहरुलाई साथमा लिएर आफूले काम गरेको भनेका छन् । तर, ठोस प्रमाण भेटिएको छैन ।

मुख्य लगानीकर्ता समातिएलान् ?

प्रहरीले छापा मारेको अग्रवालको घर र इन्सेटमा अग्रवाल ।

समितिले अहिले पनि मुख्य लगानीकर्ता एमकेलाई पक्राउ गर्न लगातार प्रयास गरिरहेको छ । अग्रवाल भारतमा लुकेर बसेको सूचना छ । उनको मुख्य लगानीमा तस्करी भएको सुन अधिकांश भारतमा खपत हुने गरेको थियो ।

मुख्य अभियुक्त गोरेले समेत अग्रवालले सुनमा लगानी गर्न भारतीयसँग सेटिङ मिलाएको दाबी गरेका थिए । स्रोतका अनुसार अग्रवालको खास घर सुनसरीको धरान उपमहानगरपालिका–३ भए पनि उनको भारतमा समेत घर भएको दाबी गरिन्छ ।

उनीले त्यहाँ रासन कार्ड समेत लिएको बताइएको छ ।

काठमाडौं, अनामनगरमा उनले बनाएको घर भने तस्करीका संलग्न भरियाहरुलाई ‘तालिम’ दिन प्रयोग हुने गरेको भेटिएको थियो ।

२५ जेठमा उनको घरमा छानविन समितिले छापा मार्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन ओसार्न प्रयोग हुने ज्याकेट, सुन राख्ने खाली डिब्बा बरामद गरेको थियो ।

यो पनि पढ्नुस् 

शून्य किलो सुनकाण्ड ! गृहमन्त्रीभन्दा ‘गोरे ग्याङ’ बलियो !

सुन तस्करीका ठूला माछा समात्न कांग्रेस नेताको चुनौती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment