+

दाँतमा किरा किन लाग्छ ? बालबालिकाको दाँतको सुरक्षा कसरी गर्ने ?

२०७५ असार  २९ गते १३:०९ २०७५ असार २९ गते १३:०९
दाँतमा किरा किन लाग्छ ? बालबालिकाको दाँतको सुरक्षा कसरी गर्ने ?

आधुनिकताका नाममा डब्बा बन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा झण्डै दोब्बर छ ।

सहरी क्षेत्रको ७० देखि ८० सम्म र ग्रामीण क्षेत्रका स्कुलमा ३० देखि ३५ प्रतिशतसम्म बालबालिकाको दाँत किराले खाएको छ ।

नेपालमा गरिएका दन्त स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनलाई औल्याउँने हो भने औसतमा नेपालका ५५ देखि ६० प्रतिसतसम्म बालबालिकाको दाँत किराले खाएको छ ।

दन्तरोग विशेषज्ञहरूका अनुसार, दाँत सड्दा त्यसको सतहमा हुने प्वाल क्याभिटी हो । बोलिचालिको भाषामा यसलाई दाँतमा किरा लाग्नु वा दाँत किराले खानुसमेत भनिन्छ ।

दाँतमा भएको सूक्ष्म प्वाललाई उपचार नगरी छोड्दा त्यहाँ भोजनका कणहरू जम्मा हुन थाल्छन् ।

धेरैजसो रोगीलाई खाना दाँतमा टाँस्सिने समस्या हुन्छ । प्वाल (क्याभिटी)लाई उपचार नगर्दा, अझ संवेदनशीलता बढेपछि रोगीको दाँतसमेत दुख्न थाल्छ । प्वाल जरोसम्म पुग्नाले र गहिरो हुनाले अमिलो, चिसो पानी, न्यानो पदार्थ, पिउँदा वा चपाउँदा पीडा सुरु हुन्छ ।

यदी दाँतमा कालो खैरो दाग छ र दाँत दुख्छ भने दाँतमा किरा लागेको हुन सक्छ । यस्तो बेला दन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

हाम्रो मुलुकमा बालबालिकाको दाँत किराले खाने समस्या दन्त स्वास्थ्यमा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा गिजाको समस्या देखिएको छ  । गिजाको समस्याचाहिँ वयस्कहरूमा बढी हुन्छ ।

यसकारण लाग्छ दाँतमा किरा

विश्व स्वास्थ्य संगठनका अनुसार, औद्योगिक राष्ट्रहरूका ७० देखि ९५ प्रतिशतसम्म बाल- बालिकाको दाँतमा किरा लाग्ने गरेको छ ।

१२ वर्षमुनिका बालबालिकाको दाँत सड्ने समस्या प्रमुख रूपमा देखिएको औंल्याइएको छ । खानपानमा जागरणको अभाव, बालबालिकालाई दुध चुसाउने शैली, दूध पिएपछि मुख सफा नगर्ने बानी, चकलेट आदिले गर्दा यो समस्या बढ्दो छ ।

खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकाकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ ।

ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको र्‍यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ ।

यदी धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले  दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा किरा लाग्नु हो ।

दाँतमा किरा लाग्ने समस्या विकराल रूपमा देखिनुको कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा आएको परिवर्तन, चिउरा, मकै, भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थको बढी उपयोग गर्नु नै हो ।

बालबालिकामा दाँत सड्ने समस्याको मुख्य कारण पाउरोटी, बिस्कुट आदिको सेवन र अत्यधिक गुलिया खाद्यहरु चक्लेट मिठाइ आदि रहेको छ ।

पाउरोटी, चकलेट लगायत दाँतमा टास्सिने खाद्य पदार्थको बढी प्रयोगले किरा लाग्ने समस्या बढ्दो छ ।

दाँतमा किरा लाग्नबाट कसरी रोक्ने ?

दाँतमा किरा लाग्न नदिन बचाउका केही उपाएहरु अत्यन्त महत्त्वपूर्ण रहेको दन्तरोग बिशेषज्ञहरू बताउँछन् ।

बालबालिकालाई उचित बानी व्यवहार, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा सिकाएर कीरा लाग्ने समस्या ५० देखि ६० प्रतिशतसम्म घटाउन सकिन्छ ।

राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माझ्नुर्ने डाक्टरहरू सुझाउँछन् । खाना खाएपछि मुख पानीले कुल्ला गर्नु पनि मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।

बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ ।

दाँतमा अड्किएका खानाका कण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा किरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन ।

प्रत्येक स्कुलले बालबालिकालाई बिहान-बेलुका दाँत माझ्न प्रेरित गर्नुपर्नेमा चिकित्सकहरूको जोड छ ।  नरम ब्रसमा फ्लोराइड भएको टुथपेस्ट हालेर दाँत माझ्नु राम्रो हुन्छ ।

बालबालिकाको दाँत मुखमा टुसाउने बित्तिकैदेखि नरम कपासले पुछ्ने गर्नुपर्छ ।

दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुई/चार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ ।

दूधे दाँत देखि नै मुख स्वास्थ्यमा विचार पुर्‍याउनुपर्छ । बालबालिकालार्इ छ वर्षपछि नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ लैजानुपर्छ ।

(ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी दन्तरोग बिशेषज्ञ डा. सितल श्रेष्ठसँगको कुराकानिमा आधारित )

लेखक
सितल श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग