Comments Add Comment

धरानका तारा : सपना अलपत्र छाडेर महाप्रस्थान

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार असामयिक निधन भयो । ५२ वर्षीय सुब्बाको उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भइरहेको थियो । सोही अस्पतालमा उनको निधन भयो ।

उपमहानगरपालिकाको मेयरजस्तो जिम्मेवार पदमा रहेको जनप्रतिनिधिले स्वास्थोपचारका लागि विभिन्न अस्पतालहरुमा चाहार्नुपरेको र आर्थिक अभावकै कारण चाँडो उपचार हुन नसकी प्राण त्याग्नुपरेको स्थिति निकै दुःखदायी हो ।

सुब्बाको निधनसँगै धरानबासीले एकजना अभिभावक गुमाएका छन् । उपमहानगरपालिका नेतृत्वविहीन बनेको छ । र, धरानलाई स्मार्ट सीटी बनाउने आफ्नो सपनालाई अधुरै छाडेर विकासप्रेमी नेताले महाप्रस्थान गरेका छन् ।

धराने जनताले लोकप्रिय मत दिएर उपमहानगरको प्रमुख निर्वाचित गरेका ५२ वषर्ीय मेयर तारा सुब्बाको मृत्युको खबर कसैले स्वीकार गर्नै मानिरहेका छैनन् । सुरुमा ‘धराने जनताका लागि दुःखद खबर’ मात्रै भनेर मैले फेसबुकमा स्टाटस लेखें ।

मृत्युको खबर पाएको भए पनि मैले सिधै मेयरको नाम किटेरै फेसबुकमा लेख्न हिम्मत गर्न नसकेकै कारण घुमाउरो भाषामा लेखेको थिएँ । तर, आखिर सत्य जतिसुकै तीतो भए पनि हामी सबैले स्वीकार गर्नैपर्‍यो ।

आर्थिक अभावले उपचारमा ढिलाइ

असार १० देखि १२ गतेसम्म धरान उपमहानगरपालिकाको नगरसभा थियो । मेयर भएको हिसावले सुब्बालाई धपेडी हुनु स्वाभाविकै थियो । एकातिर नगरसभाको चटारो थियो भने अर्कोतर्फ उनी गत जेठदेखि नै हल्का बिरामी थिए ।

तर, समयमै उपचार गर्ने समय नपाउनु मात्रै होइन, उनी खाना र औषधिसमेत समयमा खान भुलेर काममा रातोदिन जोतिएका थिए ।

असार १२ गते नगरसभा त सकियो । तर, तत्काल उपचारमा जान सुब्बासँग आर्थिक अभाव थियो । यही कारण तत्कालै उनी काठमाण्डौं आउन सकिरहेका थिएनन् । पार्टीका नेता तथा एक नम्बर प्रदेशका सभामुख प्रदीप भण्डारीसँग कुराकानी गरेपछि भण्डारीकै सल्लाह र सहयोगमा उनी असार १४ गते बल्ल जहाज चढेर काठमाडौं आए ।

सुरुमा उनी ललितपुरको निदान अस्पतालमा भर्ना भए । त्यहाँ उनलाई तीन दिनसम्म आकस्मिक कक्षमा राखेर उपचार गरियो ।

निदान अस्पतालको उपचारले बिसेक नभएपछि त्यहाँबाट नर्भिक अस्पतालमा ल्याइयो । सुब्बालाई फोक्सोमा निमोनियाको संक्रमण भएको थियो । नर्भिकमा पनि उनको अवस्थामा सुधार आएन ।

दुईवटा अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई नर्भिकबाट धापासीस्थित ग्राण्डी अस्पतालमा सारियो । तर, मंगलबार त्यहाँबाट कहिल्यै धरान नफर्किने गरी उनी सदाका लागि संसारबाट विदा भए ।

मेयर पदमा ३७२ दिन

गतसाल असार २६ गते राति १० वजेर ५० मिनेट जाँदा तारा सुब्बा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतले गरेका थिए । मेयर घोषणा गरेको ठीक ३७२ दिनमा अर्थात ०७५ साउन १ गते ग्राण्डी अस्पतालका चिकित्सकले उनको निधन भएको घोषणा गरे ।

सुब्बाले २० हजार ९ सय ७५ मत पाएर चुनाव जितेका थिए । प्रतिद्वन्द्वी भन्दा ४ हजार ८ सय ५५ मतान्तरमा मेयर घोषणा हुँदा हजारौं धराने जनताले विजयोत्सव मनाएका थिए । तर, आज साउने संक्रातिका दिन उनको मृत्युको घोषणा हुँदै गर्दा धराने जनता शोकमा डुबेका छन् ।

सुनसरीमा लामो समय नेकपा एमालेको पार्टी प्रमुख एवं जनप्रतिनिधि भएर काम गरेका सुब्बालाई आर्थिक अपचलन वा अनियमितता गरेको भनेर कसैले औंल्याउन सकेनन् । विकास निर्माणको काममा सक्रिय तारालाई बरु सबैले साथ दिए । तर, कसैले कुरा काट्न नपाउने गरी उनले काम गरे । सुब्बालाई कतिपय सन्दर्भमा आर्थिक प्रसंगसँग जोडेर अन्य नेताहरुसँगै एउटै डालोमा राखेर मुछ्न खोजिए पनि त्यसले उनलाई छुन पाएन । उनी स्वच्छ छविका नेता थिए ।

जीवनको सम्पूर्ण उर्जाशील समय राजनीतिमार्फत निरन्तर जनसेवामा समर्पण गरेका तारा सुब्बाबाट समाजले सिक्नुपर्ने धेरै कुराहरु छन् । उनको यही समर्पण र निस्वार्थ लगावप्रति धराने जनताको अथाह माया र सम्मान थियो, जसका कारण उनी लोकपि्रय मतका साथ निर्वाचित मेयर बनेका थिए । तर, मेयरका रुपमा ३७२ दिनमात्रै उनले धराने जनताको सेवा गर्न पाए ।

धरानबारे यस्तो थियो उनको सपना

धरानलाई जनसहभागिताको नमूना शहर भनेर नेपालमै चिनाउने काम नेकपा एमालेले गरेको थियो । धरान सफा र पक्की सडक सबै वडामा पुगेको सहर थियो । व्यवस्थित नगरका लागि घर नम्बरिङ पनि एमाले नेतृत्वकै बेला भएको थियो । तारा सुब्बा यी सबै कामका साक्षीमात्रै होइन, प्रत्यक्ष संलग्न पनि थिए ।

आफैं मेयर भइसकेपछि उनले तत्कालका लागि तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माण, डाँडाघोपामा एयरपोर्ट निर्माणका साथै खानेपानीको दीर्घकालीन समाधान थालेका थिए ।

त्यस्तै धरानलाई स्मार्ट सिटी बनाउने, धरानका चारवटै नाकामा सांस्कृतिक पहिचानसहितको प्रवेशद्वार बनाउने, शान्तिस्तुपा निर्माण गर्ने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलव्ध गराउने र केवलकार सञ्चालन गर्नेदेखि नगरविकास लगानी बोर्ड निर्माणको सपना बुनेका थिए । शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष योजना बनाएका थिए ।

अथक राजनीतिक यात्रा

विसं. ०२३ साल माघ १८ गते तेह्रथुमको खाम्लालुङमा जन्मिएका सुब्बा ३ कक्षासम्म खाम्लालुङको कालिका प्राविमा अध्ययन गरेर ४ कक्षा अध्ययन गर्न झापाको गोलधाप झरे । त्यसबेला पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेको थियो । १३ बर्षका सुब्बा त्यही बेलादेखि विद्यार्थी आन्दोलनमा सरिक बने ।

विसं. २०३७ सालमा धरान बसाई सरेका उनले ०४० सालमा शिक्षा निकेतन माविमा कक्षा ८ मा अध्ययन गर्दैगर्दा माविमा शुल्क वृद्धि विरुद्धमा भएको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता जनाए । त्यस आन्दोलनका क्रममा गरेको भाषण नै सुब्बाको पहिलो भाषण थियो । त्यहाँबाट अनेरास्ववियुको सदस्य हुँदै धरान नगर कमिटी सदस्य बने । ०४२ सालमा एसएलसी पास गरेपछि उनी राजनीतिमा झनै सक्रिय बने ।

०४७ सालमा युवा संघको धरान नगर कमिटीबाट काम थालेका उनी सुनसरी जिल्ला कमिटी संयोजक हुँदै दुई पटक जिल्ला अध्यक्ष र दुई पटक केन्द्रीय सदस्य पनि बने । ०४८ सालमा नेकपा एमालेको धरान नगर कमिटी सदस्य बनेका उनी ०६२/०६३ को जनआन्दोलनपछि पार्टीको सचिव बने । सचिव हुँदै पार्टीमा बहुपदीय प्रणाली सुरु भएपछि लगातार तीनपटक अध्यक्ष बनेर धरान उपमहानगरपालिकामा नेकपा एमालेलाई कुशलतापूर्वक नेतृत्व गरे ।

०५१ सालमा नेकपा एमाले सरकार हुँदा सुब्बाले खेलकुद विकास समिति सुनसरीको सचिवमा नियुक्त भएर काम गरे । ०५४ सालको स्थानीय निर्वाचनमा सुब्बाको बसोवास रहेको वडा नम्बर १७ बाट वडा सदस्य विजयी बनेर जिल्ला विकास समिति सुनसरीमा इलाका नम्ब २ बाट जिविस सदस्यसमेत भए ।

जनआन्दोलनमा सक्रिय भूमिका

सुब्बा ०४० सालमा पञ्चायती व्यवस्थाविरुद्ध धरान ६ स्थित देशीलाइनमा पम्प्लेटिङ गर्नेक्रममा पक्राउ परेका थिए । ज्यानै जाने जोखिमको अवस्थामा पनि सुब्बाले विभिन्न गल्ली र चोकहरुमा जुलुसको अगुवाइ गरेका थिए । थोरै संख्यामा भए पनि जुलुसले राजा र पञ्चायतविरुद्ध नारा घन्काउथे र कुलेलम ठोक्थे ।

त्यसैगरी ०४६ सालको निरंकुश पञ्चायती शासनविरुद्ध पनि उनी त्यसैगरी लागे ।

०६२/०६३ को जनआन्दोलन ताका पार्टीको जिम्मेवारीमा आएका सुब्बाले धरानको आन्दोलनको अगुवाइ गरे । संघर्ष समितिको सचिवको जिम्मेवारीमा रहेर राजाको कदमविरुद्धको आन्दोलनको नेतृत्व उनै सुब्बाले गरेका थिए ।

हक्की नेताको छवि

करिव चार दशक राजनीतिमा सक्रिय तारा सुब्बा एमालेवृञ्मा हकी, निडर, नझुक्ने र जनताको काममा समर्पित, बोल्ड निर्णय लिन सक्ने, प्रष्ट वक्ता एवं कुशल संगठकको रुपमा परिचित थिए । भन्नुपर्ने विषयहरु बुट्टा नभरी सिधै राख्ने र आफूलाई चित्त नबुझेका कुराहरु सिधै राख्ने उनको स्वाभाव थियो ।

अरुको चित्त दुख्छ कि भनेर हुनै नसक्ने कुरा पनि हुन्छ भन्ने स्वाभाव उनमा थिएन । यही स्वभावका कारण ताराको पहिचान अन्य नेताहरुको भन्दा पृथक थियो । समकक्षी मात्रै होइन, पार्टीका माथिल्ला तहका नेताहरु पनि तारा सुब्बासँग हच्किन्थे ।

नेकपा एमाले धरानमा लामो समय नेतृत्व गरेका सुब्बाको दृढनिश्चयी र काममा लगावबाट परिचित धराने जनताले उनको यही स्वभावका कारण धरानको विकासमा सुब्बा अब्बल हुनेछन् भन्ने विश्वास राखेर उनलाई मेयरमा जिताएका थिए ।

मेयर घोषणा भइरहँदा पनि तारा सुब्बा नेकपा एमालेको धरान उपमहानगर कमिटीका अध्यक्ष थिए । उनले तेस्रो कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए । अर्थात एमाले धरानको अध्यक्षमा ह्याटि्रक गर्ने नेतामा उनैले रेकर्ड बनाएका थिए ।

अब तारा सुब्बा सदाका लागि विदा भएका छन् । उनले धरानलाई समृद्ध बनाउने जुन सपना र योजना दस्तावेजीकरण गरेका छन्, त्यसलाई पूरा गर्ने काम अब धरानबासीहरुको काँधमा छाडेर गएका छन् ।
अलविदा तारा सुब्बा ।

(स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई नेकपा सुनसरी सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment