Comments Add Comment

गोविन्द केसीको नयाँ माग- कर्मचारीसँग वार्ता गरिन्न, मन्त्रीस्तरीय टोली चाहियो

सरकारी वार्ता टोली झारा टार्नमात्र

जुम्लामा अनशनरत् डा. केसी ।

२ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीले कर्मचारीहरुसँग वार्ता गरेर निकास ननिस्किने ठहर गर्दै मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न सरकारसँग माग गरेका छन् ।

सरकारी टोलीसँग वार्तामा सहभागी डा. केसीपक्षका वार्ता टोली सदस्यहरुले सचिवस्तरीय वार्ता टोलीसँग वार्ता नगर्ने भन्दै मन्त्रीस्तरीय वार्ता टोली गठन गर्नुपर्ने माग अघि सारेका हुन् ।

बुधबार विज्ञप्ति जारी गरी डा. केसीले आवश्यक म्याण्डेट नै नदिई कर्मचारीमात्र सम्मिलित वार्ता टोली बनाएर झारा टार्ने काममात्र भएको बताए । सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको भन्दै केसीले अहिलेको अवस्थामा वार्ता गर्नुको औचित्य नभएको पनि बताएका छन् ।

‘त्यसैले वार्तालाई तार्किक निश्कर्षमा पुर्‍याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं । त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं’ केसीले भनेका छन् ।

डा. केसीसँग वार्ता गर्नका लागि सरकारले तीन दिनअघि शिक्षा सचिव डा. खगराज बरालको नेतृत्वमा गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

त्यसैगरी, डा. केसीको पक्षबाट डा. अभिषेकराज सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओम प्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधिहरु वार्तामा सहभागी छन् ।

डा. केसी पक्षबाट वार्तामा संलग्न भएका डा. अभिषेकराज सिंहले अनलाइनखबरसँग भने, ‘सचिवस्तरीय वार्ता टोलीमार्फत वार्ताको निकास देखिने सम्भावना न्यून देखियो । त्यसैले हाम्रो माग भनेको मन्त्रीस्तरीय वार्ता टोली गठन हुनु पर्छ भन्ने हो ।’

डा. केसीको मागको बटमलाइन भनेको संसदमा तोडमोड गरी पेश गरिएको विधयेक फिर्ता हुनुपर्छ भन्ने रहेकाले उक्त माग पूरा नभएसम्म आफूहरु वार्तामा नजाने समेत डा. सिंहले प्रष्ट पारे ।

सचिवस्तरीय वार्ताबाट निष्कर्ष निस्कने सम्भावना न्यून रहेकाले बुधबार सरकारी पक्ष र डा. केसी पक्षबीच वार्ता हुने सम्भावना न्यून रहेको सिंहले बताए । उनले भने- ‘वार्ता गर्नकै लागि मात्र हामी वार्तामा बस्दैनौं । त्यसबाट केही निस्कर्ष निस्कनुपर्‍यो ।’

यता सरकारी पक्षले भने आफूहरु आन्तरिक छलफलमै रहेका कारण आजको वार्ता कतिबेला बस्ने भन्नेमा टुङ्गो लाग्न बाँकी रहेको जनाएको छ ।

केसीको स्वास्थ्य जटिल

सरकारी पक्ष र डा. गोविन्द केसी पक्षबीच पटक-पटक भएको वार्ता असफल हुँदै गएपछि डा. केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएको छ । उनको रगतमा म्याग्नेसियाको मात्रा कम भई ‘हाईपोक्यालेमिया’को समेत समस्या देखिएको छ । त्यस्तै, चिसोका कारण उनमा फेरेन्जाइटिसको समस्या समेत देखिँदै आएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोवन्द केसी विगत १९ दिनदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत रहेका छन् । डा.केेसीको यो १५ औं अनसन हो ।

मंगलबारको वार्ता निश्कर्षविहीन

अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षबीच मंगलबार पटक-पटक बसेको वार्तासमेत असफल भएको छ । सरकारी पक्षले डा. केसीलाई जुम्लाबाट काठमाडौ ल्याउनुपर्ने माग गरेपछि वार्ता असफल भएको डा. केसी पक्षधरले बताएका छन् ।

डा. केसी पक्षका वार्ताकारहरुका अनुसार डा. केसीको प्रमुख माग भनेकै चिकित्सा शिक्षा विधयेकलाई संसदबाट हुबहु पारित गरिनु हो । तर, डा. केसीको मागप्रति सरकारी पक्ष संवेदनशील हुनुको सट्टा उनीहरुको ध्यान डा. केसीलाई काठमाडौं ल्याउनेमा मात्रै देखिएकाले पनि वार्ता असफल भएको डा. केसी पक्षले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment