Comments Add Comment

प्रधानमन्त्री ओली र प्रचण्डले गरे आदित्यको प्रशंसा

५ साउन, काठमाडौं । केही समयदेखि गुमनाम रहेका अद्भुत क्षमताका बालक आदित्य दाहाल शनिबार सार्वजनिक कार्यक्रममा देखिए भए । उनी आफ्नै पुतक ‘कलियुगको आदित्य ज्योतिपथ’को लोकार्पण समारोहमा सहभागी भएका हुन् ।

शारीरिक रुपमा अशक्त आदित्यलाई आमा ईश्वराले काखमा लिएर मञ्चमा राखेकी थिइन् । मञ्चमा थिए प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानसेनापति राजेन्द्र क्षेत्री, संस्कृतिविद सत्यमोहन जोशीलगायत ।

प्रधानमन्त्री ओलीले कुनै स्रोत र गुरुबिना आदित्यमा प्रकट भएको ज्ञान ठूलो आश्चर्यको विषय भएको बताए । उनले भने, ‘स्कुल नगएको, कसैले नपढाएको एउटा बालकले लेखेको पुस्तकको लोकार्पण आफैंमा एउटा अनौठो परिघटना हो ।’

आदित्यको अद्भूत क्षमता वैज्ञानिक खोज र अनुसन्धानको विषय भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका निम्ति सरकारका तर्फबाट आफूले पहल गर्नेसमेत उल्लेख गरे । उनले आदित्यमा देखिएको क्षमताको सदुपयोग हुनुपर्ने चर्चा गर्दै उनलाई व्यक्तिका भविष्यवाणी गर्नमा सिमित नराख्न आग्रह गरे ।

‘मेरो बिहे कहिले होला ? मैले छोरा पाउँछु कि छोरी ? मेरी छोरी पास होली कि फेल ? यस्ता प्रश्नहरुबाट उहाँलाई दुःख नदिऔं’ उनले अघि भने, ‘म प्रधानमन्त्री कहिलेसम्म हुन्छु भनेर मैले सोध्ने अनि म प्रधानमन्त्री कहिले हुन्छु भनेर अर्कोले सोध्ने गरेर उहाँको क्षमताको सदुपयोग हुँदैन । उहाँबाट स्वतस्फुर्त भाव एवं देश र समाज उपयोगी सन्देशहरु प्रकट हुने वातावरण बनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले आदित्यको क्षमता पछि गएर लोप नहोस् भन्ने कामना समेत गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले आदित्यको अद्भुत क्षमता आफूहरुजस्ता भौतिकवादीहरुका निम्ति ठूलो प्रश्नवाचक चिन्ह बनेको बताए । आदित्यलाई ‘अद्वितीय प्रतिभा र विलक्षण ज्ञानका मूर्ति’को संज्ञा दिँदै उनले भने, ‘धेरै पुस्तक लोकार्पण कार्यक्रममा सहभागी भइयो, तर आजको कार्यक्रम आफैंमा अद्भूत छ ।’

पुस्तकले आदित्यको विषयमा बुझ्न र विश्लेषण गर्न सहज बनेको भन्दै प्रचण्डले उनको चमत्कारिक क्षमता अध्ययन-अनुसन्धानको विषय भएको बताए । ‘उहाँको अलौकिक ज्ञानको विश्लेषण कसरी गर्ने भन्ने हामी भौतिकवादीहरुमाथि चुनौति आएको छ’ नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले भने ।

आदित्यको चमत्कारिक क्षमतामा विश्वास गर्नुको अर्थ भगवान मान्ने वा मुर्ति पुजा गर्नेतर्फ फर्किनु नभएको उनले प्रष्ट पारे । ‘बालज्ञानी आदित्य स्वयम्ले पनि धर्ममा भन्दा कर्ममा जोड दिनुभएको छ, कर्म गर्न छोडेर मेरो पछि लाग भन्नुभएको छैन, भगवान र मुर्ति पूजा गर्न निर्देशन दिनुभएको छैन,’ प्रचण्डले भने ।

नेपाल ज्ञानप्राप्तिको उर्वरभूमि भएको भन्दै प्रचण्डले भगवान गौतम बुद्ध जस्तै प्रतिभाका रुपमा आदित्यको जन्म भएको बताए । ‘सायद यो भूमिमा प्रकृतिका तरंगहरु छन्, आध्यात्मिक चिन्तन र ज्ञान प्राप्तिका दृष्टिकोणले हाम्रो भूमि भिन्न छ,’ उनले भने ।

संस्कृतिविद सत्यमोहन जोशीले आदित्यको क्षमता पत्याइनसक्नु भएको बताएका छन् ।

‘कलियुगको आदित्य ज्योतिपथ’ पुस्तक आठ वर्षीय आदित्यको परिकल्पना र डिजाइनमा तयार भएको हो । पुस्तकको नामाकरण, विषयसूची, कभर डिजाइनदेखि लिएर केही अशंको लेखन र अन्तिम सम्पादनसमेत उनीबाटै भएको छ । २१८ पेजको पुस्तकमा पाँच खण्ड छन् । पुस्तकमा प्रधानमन्त्री ओलीदेखि पत्रकार विजयकुमार पाण्डेसम्मका आदित्यप्रतिका अनुभूतिहरु पनि समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment