News Summary
Generated by OK AI. Editorially reviewed.- बुढीगण्डकी र स्यार खोलाको बाढीले गोरखा–धादिङमा विद्युत् वितरण प्रणाली र जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि मर्मत तथा पुनर्स्थापना तीव्र गरिएको छ।
- आरुघाट–३ केउरपानी र ढुंगेमा दुई ट्रान्स्फर्मर चार्ज गर्ने तयारी भइरहेको छ, भने सोती, लिदिङ, स्यामराङ र धार्चेमा लाइन अवरुद्ध छ।
- बाढीले ७० भन्दा बढी उच्च भोल्टेज पोल र अन्य संरचना क्षति गरे पनि प्राधिकरणले केही क्षेत्रमा सेवा सुरु गरी यसै हप्ताभित्र सबै ठाउँमा विद्युत् सञ्चालन गर्ने लक्ष्य राखेको छ।
२६ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको जनाएको छ ।
सोमबार आरुघाट गाउँपालिका–३, केउरपानी र ढुंगेमा गरी दुइटा ट्रान्स्फर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण आरुघाट वितरण केन्द्र गोरखाका अनुसार हालसम्म यस वितरण केन्द्र अन्तर्गत आरुघाट गाउँपालिका–३ सोती, लिदिङ र स्यामराङका तीन वटा ट्रार्न्स्फमर र धार्चेका पूरै क्षेत्रमा लाइन अवरुद्ध छ ।
बाँकी क्षेत्रमा लाइन सुरु भइसकेको छ । कर्मचारी बिहानै कार्यस्थलमा पुगे पनि सडक दिउँसो ३ बजेमात्र खुलेकाले काम अवरुद्ध हुन गएको हो ।
‘अझै रातिसम्म आरुघाटका सम्पूर्ण क्षेत्र चार्ज गर्ने प्रयास जारी रहने छ, सडक जति खुल्दै जान्छ, सोही अनुसार लाइन मर्मत गरी सुरु गर्दै जाने छौं,’ आरुघाट वितरण केन्द्रले भनेको छ ।
मन्त्रालयका अनुसार बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट), माछा खोला (१६ मेगावाट) लगायत जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ ।
त्यसैगरी गोरखा धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज पोलसहित सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा वितरण लाइनका पोलमा क्षति पुगेको छ ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजार क्षेत्रमा समेत न्यून भोल्टेजका ६ वटा पोलमा क्षति पुगेको छ ।
मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीले अवरुद्ध भएलगत्तै प्राधिकरणले विद्युत् सेवा सुरु गर्न काम थालेको थियो । करिब १० घण्टामै भीमसेन थापा गाउँपालिका वडा नम्बर २, ३ र ४ मा विद्युत् सेवा सुरु भएको थियो ।
यसैगरी आरुघाट बजार सहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुन: सञ्चालनमा आएको थियो । मन्त्रालयले यसै हप्ताभित्र सबै ठाउँमा विद्युत् सेवा सुरु गर्ने गरी काम भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4