+
+

ओली र प्रचण्डको एकै स्वर : दिन काट्न र काल फर्किन एकता गरेका होइनौं

स्मृति दिवस पुष्पलालको, चर्चा मदन भण्डारीको !

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १९:०५

७ साउन, काठमाडौं । पुष्पलाल स्मृति प्रतिष्ठानले गत वर्षहरु जस्तै यसवर्ष पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्‍यो ।

प्रमुख वक्ताहरु थिए, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड ।

मध्यान्ह साढे १२ बजेका लागि तय भएको कार्यक्रम पौने दुई हुनै लाग्दा बल्ल सुरु भयो ।

सभाहलमा कार्यकर्ता खचाखच थिए । तर, विगत भन्दा यो पटक कार्यक्रम अलि फरक थियो । कारण हो, तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले पहिलोपटक पुष्पलाल स्मृति दिवस मनाउँदै थियो ।

सहभागीहरुमा भने पुष्पलालबारे नेताहरुले के भन्लान् भन्ने भन्दा पनि डा. गोविन्द केसीको अनसन, कांग्रेसको आन्दोलनबारे कानेखुसी गरिरहेका थिए ।

नेताहरुले पनि सायद त्यसलाई बुझे र पुष्पलाल स्मृति दिवसको मञ्चलाई प्रयोग गरेर सरकारविरुद्ध आन्दोलन गरिरहेको विपक्षी कांग्रेसको चर्को आलोचना गरेका छन् ।

सुरुमा प्रचण्डले पुष्पलालबारे चर्चा गरे । तर, धेरै समय कांग्रेसलाई गाली गर्नमै खर्चिए । डा. केसीबारे बोल्दिन भन्दाभन्दै धेरै कुरा भन्न भ्याए ।

‘देशमा क्रान्ति त सम्पन्न भयो तर, प्रतिक्रान्तिको खतरा झन बढेको छ’ उनले भने, ‘क्रान्तिपछि पराजित शक्तिले प्रतिक्रान्तिका लागि अझ ठूलो शक्ति लगाउँछ । लोकतान्त्रिक भनिएको कांग्रेसले अहिले त्यसैको नेतृत्व गर्न खोज्दैछ ।’

आधा घन्टा भन्दा बढी भाषण गरेका नेकपाका अध्यक्ष प्रचण्डले पुष्पलाललाई यसरी सम्झिए । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर देशलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै त्यो पूरा गर्ने सुनौलो अवसर प्राप्त भएको बताए ।

राजतन्त्र र पार्टीभित्रकै गलत तत्वले पुष्पलाललाई नेतृत्वमा आउन नदिएको लगायतका प्रसंग कोट्याएका उनले कांग्रेसको चर्को आलोचना गरे ।

यो पढ्नुहोस् : कांग्रेसलाई प्रचण्डको प्रश्नः लासको राजनीति गर्न चाहेको हो ?

प्रचण्डपछि मञ्चमा पालो आयो प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको ।

कांग्रेसका विगत कोट्याउँदै आलोचना थालेका उनले अन्त्यपछि त्यसमै गरे । उनले सरकार सानातिना मुद्दामा अल्भिmएर नबस्ने प्रतिवद्धता भने जनाएका छन् ।

यो पढ्नुहोस्  : प्रधानमन्त्रीको सम्बोधन : कांग्रेसको चर्को आलोचना, डा. केसीलाई बहसको निम्तो

ओलीको भाषण सुनिरहेका काभ्रे घर भई हाल चावहिल बस्दै आएका एक जना नेकपाकै कार्यकर्ता भन्दै थिए, ‘बुढाले चाहिँ मैले यो गरेँ भनेर सुनाएको भए हुन्थ्यो ।’

ओली र प्रचण्डको एकै स्वर : दिन काट्ने र काल फर्किने काम गरिँदैन

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकता केवल देखावटी नभएको प्रष्टीकरण दिएका छन् ।

‘दिन काट्न र काल पर्खिनका लागि कम्युनिस्ट एकता भएको होइन । यसले विश्वमा एक खालको सन्देश दिएको छ’ प्रचण्ड भन्दै थिए, ‘नेपालमा कम्युनिस्ट आन्दोलन र भविष्य सुरक्षित गराउन बिचार निमार्णको महान अभियान पनि हो ।’

प्रचण्डको यस्तो अभिव्यक्ति दिँदा हलमा सहभागीहरुले भने परर ताली बजाएका थिए ।

दिन काट्न र काल फर्किन कम्युनिस्ट एकता नभएको प्रचण्डको भनाईलाई अझ प्रष्ट पारे ओलीले । ‘पार्टी बलियो छ, त्यही भएर सरकार पनि वलियो छ । पार्टीको नीति स्पष्ट छ, त्यही भएर सरकारको नीति स्पष्ट छ’ प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘कम्युनिस्ट एकतापछि नेकपा झन् बलियो र विधिमा प्रष्ट छ ।’

स्मृति दिवस पुष्पलालको, चर्चा मदन भण्डारीको !

सोमबार नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस । तर, राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मदन भण्डारी चर्चा पनि कम भएन ।

पुष्पलालकै सिको गर्दै जननेता मदन भण्डारीले बहुदलिय जनवाद प्रतिपादन गरेको अध्यक्ष ओलीले बताए । उनले भने, ‘पुष्पलालकै बाटोमा लागेर मौलिक विचारहरु समेत जन्मिएका छन् । त्यसलाई पनि हामी एकिकृत गर्दै अगाडि बढेका छौं ।’

त्यो भन्दा एक कदम अगाडि बढेर प्रचण्डले सबै कम्युनिस्ट पार्टीहरुलाई एकतामा आउन आग्रह गरे ।

‘विश्व कम्युनिस्ट आन्दोलनले समेत विभाजनको पीडा भोगेको छ’ उनले भने, ‘म बाँकी रहेका केही साना कम्युनिष्ट पार्टीहरुलाई पनि एकतामा आउन अपिल गर्दछु ।’ अध्यक्ष प्रचण्डले नेपालमा एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ भनेर मदन भण्डारीले भनेको र त्यसका लागि भएका केही प्रयासहरु पनि सम्झिए ।

कार्यक्रम सञ्चालनमा नयाँपन !

पुष्पलालको चर्चा गर्दै नेकपामा पार्टी कार्यालयका मुख्य सचिव कृष्णगोपाल श्रेष्ठले कार्यक्रम सुरु गरे । राष्ट्रिय गान गाएर कार्यक्रमको औपचारिक सुरुवात भएको घोषणा गरिन नयाँपन दिन खोजेका श्रेष्ठले अतिथिहरुको नाम लिने क्रममा नेकपाका महासचिव ईश्वर पोखरेल भनेपछि हलमा हाँसोको फोहोरा छुट्यो ।

आश्चर्य मान्दै सोधे किँन हाँसेको ? तत्कालै मञ्चतिर फर्किएर भने, विष्णु पौडेल । मैले त्यसो नभनेको भए तपाइर्ँहरु हाँस्नुहुदैनथ्यो त भन्दै उनले आफूलाई सच्याए । आक्रामक भाषण गर्ने श्रेष्ठले कम्युनिस्ट एकता र वर्तमान सरकारका गतिविधिबारे गलत प्रचार गर्न खोजिएको भन्दै रोष प्रकट गरे ।

नेतृ अमृता थापा मगरले पनि पार्टी कार्यलायका मुख्य सचिव श्रेष्ठकै अभिव्यक्तिलाई पच्छ्याइन् । ‘स्थानीय सरकारले कर बढायो भनेर कांग्रेसले हौवा पिट्दैछ’ उनले भनिन्, ‘आर्थिक विकास र समृद्धिको यात्रामा हामी छौं । जनताले खोजेको पनि यही हो र गुणस्तरीय तथा प्रभावकारी सेवा । त्यो प्राप्त भयो भने कर तिर्न कसैलाई कुनै प्रकारको चिन्ता हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?