+
+

फिलिपिन्सः चमक हराएको पूर्वको मोती

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०७५ साउन १२ गते १०:२६


मनिला एयरपोर्टमा ओर्लँदा बिहानै थियो । फिलिपिन्समा नेपाली पासपोर्टलाई भिसा चाहिँदैन । कुनै शुल्क पनि नलाग्ने रहेछ । अध्यागमनकी लेडी अफिसरले मेरो पासपोर्टमा इन्ट्री छाप लगाएर मीठो मुस्कानसहित फिर्ता दिइन् । म कृतज्ञतासाथ झुकेर थ्याँक्यू भन्दै बाहिर निक्लेँ ।

सडक पारिपट्टिको कफीसप भर्खर खुल्दै थियो । कफी बनेको थिएन । चियाको तलतलले ब्ल्याक टी खाएँ । शिशैशिशाको भित्ता भएको कफीसपबाट एयरपोर्टको प्रवेशद्वारमा यात्रुहरु भित्र–बाहिर गरिरहेका देखिन्थे ।

मनिला एयरपोर्टलाई निनो अक्विनो इन्टरनेशनल एयरपोर्ट भनिन्छ । यही एयरपोर्टको प्रवेशद्वारबाट बाहिरिँदा फिलोपिनो राजनीतिज्ञ निनो अक्विनोको हत्या भएको रहेछ । तानाशाह मार्कोसको सैन्य दस्ताले सन् १९८३ मा प्रवासबाट फर्किदाँ निनो अक्विनोको हत्या गरेको थियो । हाल उनकै सम्मानमा एयरपोर्टको नामाकरण गरिएको थाहा पाइयो ।

जहाँसुकै होस् एयरपोर्टबाट निक्लेर गन्तब्यतिर जान म कहिल्यै हतार गर्दिनँ । मलाई एयरपोर्टमा मानिसको चहल–पहल हेर्न मन पर्छ । मौका मिलेसम्म स्थानीय मानिसहरुसँग कुराकानी गर्छु । यसबाट नयाँ ठाउँको रहन–सहन र मानिसको बोली व्यवहारबारे थाहा हुन्छ भने कतिपय उपयोगी जानकारी पनि पाइन्छ ।

तर, एयरपोर्टमा ट्याक्सी ड्राइभरबाट चाँहि बच्नुपर्छ । शहरमा नयाँ आगन्तुकलाई चुना लाउने उनीहरुको दाउ हुन्छ । मलाई पनि ट्याक्सी ड्राइभरहरुले शहरको केन्द्र डाउनटाउन जाने बस पाइँदैन भन्दै थिए । तर, मैले बस फेला पारेँ । र, सजिलै बस चढेर मनिलाको डाउनटाउन एरिया मलातेमा पुगेँ ।

मेट्रो मनिला

मनिला शहर बाक्लो जनघनत्व भएको अस्तब्यस्त ठाउँ हो भन्ने सुनेको थिएँ । त्यसमाथि अपराध र लागूऔषधको बिगबिगी । मनिला महानगर र आसपासको क्षेत्रमा गरेर करिब दुई करोड चालीस लाख जनसंख्या छ ।

होटलको ठेगाना दिएको ठाउँमा पुग्दा बीसौं तले अपार्टमेन्ट भवन रहेछ । त्यहाँ अपार्टमेन्टको फल्याटमा सानो गेस्टहाउस चलाएका रहेछन् आनन्द नाम गरेका बनारसी इण्डियनले । हिन्दीमा हाम्रो कुराकानी शुरु भयो । आनन्द फरासिला मान्छे रहेछन् ।

गगनचुम्बी भवन, ठूल्ठूला सपिङ्ग मल, चिल्ला फराकिला सडक, फलाईओभर, मेट्रो रेललगायत सम्पन्नताका प्रतीकहरु मनिलामा भए पनि गरिबी त्यतिकै भयावह रहेछ । शहरी गरिबहरु कतै खाली ठाउँ पायो कि छाप्रो बनाइहाल्दा रहेछन् । कतिपय परिवार बालबच्चासहित ठेलागाडालाई नै घर बनाएर गुजारा गरेको पनि देखियो । सडक बालबालिका, घरबारविहीन मानिसहरु मनिलामा जतासुकै भेटिए । मनिलामा धनी र गरिबको निकै ठूलो खाडल रहेको शहर घुम्दा छर्लङ्ग देखियो ।

फिलिपिन्समा आँधी तुफान, भूकम्प, ज्वालामुखी जस्ता प्राकृतिक विपत्तिहरु आइरहन्छन् । यस्ता प्राकृतिक विपत्तिबाट विस्थापित मानिसहरु आश्रय खोज्दै शहर आउँदा मनिलामा घरबारविहीनको संख्या बढेको हुन सक्छ । वैदेशिक रोजगारीको सामाजिक प्रभावले पनि जनसंख्यालाई शहरतर्फ धकेल्छ । शिक्षा, स्वास्थ्य तथा आर्थिक अवसरको कारणले मानिस शहरतर्फ आकर्षित हुन्छन् । शहरी जनसंख्या बढनु विश्वव्यापी ट्रेन्ड नै हो ।

नेपालमा पनि शहरी जनसंख्या बढदैछ । काठमाडौं मात्र होइन, अन्य शहर पनि महानगर अर्थात मेट्रो सिटी घोषित भएका छन् । शहरी विकासका लागि पूर्वाधार मात्र बनाएर नहुने रहेछ, सबैलाई व्यवस्थित बसोबास र शहरको गरिबीलाई हटाउन सकिएन भने मनिलाजस्तै अस्तब्यस्त हुनेछ ।

उपनिवेशको चंगुलमा

एशियाको दक्षिणपूर्वमा अवस्थित टापु राष्ट्रको नाम स्पेनी राजा फिलिपको नामबाट फिलिपिन्स रहन गएको हो । यो देशको नामले नै उपनिवेशको चंगुलमा परेको जनाउँछ ।

फिलिपिन्सको याप आइलैण्डमा दुई मिटरसम्म व्यास भएको ढुङ्गाको गोलो चक्कालाई पैसाको रुपमा प्रयोग गरिन्थ्यो भन्ने मैले स्कूले किताबमा पढेको थिएँ । त्यत्रो विशाल ढुङ्गे सिक्काको चलन भएको ठाउँमा कस्ता मान्छे बस्थे होलान् भन्ने ममा बाल जिज्ञासा पैदा भएको थियो । तर, बल्ल अधबैंशे उमेरमा सन् २०१७ को फेब्रुअरी महिना फिलिपिन्स भ्रमण गर्ने एउटा बहाना मिलेको थियो । भ्रमण तय भएपछि फिलिपिन्सबारे मेरो जिज्ञासा तीब्र भयो ।

यूरोपियन सामुन्द्रिक यात्रीले साह्रौं शताब्दीको मध्यतिर फिलिपिन्समा पाइला राखे पनि त्यहाँका टापुहरुमा हजारौं वर्ष अघिदेखि मानव बसोबास रहेको तथ्य पाइन्छ । इजरायली इतिहासकार युवल हरारीको विश्वचर्चित पुस्तक “सेपियन अ ब्रिफ हिस्ट्री अफ म्यानकाइन्ड” मा मानवको प्रजाति अफ्रिकामा उत्पत्ति भएर पृथ्वीको कुनाकुनासम्म फैलिएको रोचक कथा छ ।

हरारीका अनुसार मानिस जुनसुकै ठाउँको बासिन्दा भए पनि जरो पहिल्याउँदै जाँदा करिब सत्तरी हजार वर्ष पछाडि पूर्वी अफ्रिकामा गएर टुङ्गिन्छ । मानिसको झुण्ड कुन ठाउँमा पहिले को पुग्यो भन्ने मात्र फरक हो । भूगोल र हावापानीको प्रभावले विभिन्न ठाउँहरुमा विभिन्न वर्ण, जातीय समूह, धर्म, भाषा, संस्कारको विकास भएको रहेछ । तर, पुरानोलाई नयाँ आउनेले अधीनस्थ गर्न खोज्दोरहेछ ।

विश्व इतिहासको यो घटनाचक्रबाट फिलिपिन्स अछुतो रहेन । करिब ७ हजार टापुहरुको समूहले बनेको यो देशमा प्राचीनकालमा भारतीय हिन्दू प्रभाव पनि पुगेको थियो । चौधौं शताब्दीमा इस्लामिक प्रभावले छोयो । जुन प्रभाव फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दनाओमा अझै छदैँछ ।

सोह्रौं शताब्दीदेखि फिलिपिन्समा स्पेनले उपनिवेश कायम गर्‍याे । उपनिवेश भनेको आर्थिक र राजनीतिक सत्ता कब्जा गर्नु मात्र होइन, धार्मिक तथा सांस्कृतिक रुपान्तरण पनि हो । फिलिपिन्समा स्पेनको ३३३ वर्ष लामो उपनिवेशी शासन सन् १८९८ सम्म रह्योे । धान रोप्ने, माछा मार्ने, नाचगान गरेर रमाउने टापुबासीहरुको सर्लक्कै क्रिश्चियनकरण गरियो । युरोपियन रक्तमिश्रणबाट जन्मिनेले मात्र होइन, कतिपय फिलिपिनोका पूर्वजले चर्चको पादरीबाट पनि यूरोपियन थर ग्रहण गरेका रहेछन् ।

स्वाधीनता आन्दोलन त शुरु भयो । तर, स्पेनिस उपनिवेशको पञ्जाबाट फुत्किएको फिलिपिन्स फेरि करिब ५० वर्ष अमेरिकाको उपनिवेश बन्न पुग्यो । दोश्रो विश्वयुद्धमा जापानको पालो आयो, अमेरिका लखेटियो ।

विश्वयुद्धको समाप्तिपश्चात सन १९४६ मा फिलिपिन्स संयुक्त राष्ट्र संघको सदस्य बन्दै स्वतन्त्र मुलुक बन्यो । फिलिपिन्सले राजनीतिक स्वतन्त्रता प्राप्त गरे पनि उपनिवेशकालको धार्मिक तथा सांस्कृतिक विरासत अहिले पनि बोकिरहेको छ ।

करिब १० करोड जनसंख्या भएको फिलिपिन्समा ९२ प्रतिशत क्रिश्चियन धर्मावलम्बी छन् । अंग्रेजी सरकारी कामकाजको भाषा हो । यद्यपि टगलग भाषा पनि प्रयोग हुन्छ । फिलिपिनीहरु आफूलाई पिनयो भन्दा रहेछन् । मलाई पिनयो शब्द प्रिय लाग्यो ।

समुन्द्र किनारका सम्झना

म बसेको ठाउँ मलातेबाट समुन्द्री किनार नजिकै थियो । मनिला टेकेको दिन नै दिउँसो म घुम्न निस्किएँ । पैदल घुम्दै समुन्द्रको किनारैकिनार फराकिलो सडक, दायाँबायाँ रुखविरुवा र स–साना पार्क जस्ता ठाउँहरुमा पुगेँ । पार्कको बेन्चमा बसेर पत्रिका पढिरहेको रामोन म्यागासेसको शालिकलाई भेटेँ । सडकको अर्कोपट्टि म्यागासेसे भवन रहेछ । जहाँबाट एशियाको नोबल प्राइज भनिने म्यागासेसे पुरस्कार दिइन्छ ।

म्यागासेसेको नाम सुने पनि उनीबारे मलाई थाहा थिएन । सय मिटर दुरीमा रहेको त्यस भवनमा म्यागासेसेबारे जिज्ञाशु मन लिएर पुगेँ । रामोन म्यागासेसेको ठूलो शालिकसहित उनको संक्षिप्त जीवनी र महत्वपूर्ण कार्यको विवरण भित्तामा लेखिएको रहेछ । उनी फिलिपिन्सका पूर्व राष्ट्रपति हुन् । पदमै रहँदा विमान दुघर्टनामा परेर सन् १९५७ मा उनको निधन भएको रहेछ ।

समुन्द्रको छालसँगै टहलिदैँ म घुमेको त्यो ठाउँ मनिला बेको किनार रहेछ । त्यो ठाउँमा बन्दरगाह पनि छ । फिलिपिन्सको विभिन्न टापुहरुमा जाने यात्रु पानीजहाज र केही उता अन्तर्राष्ट्रिय मालवाहक पानीजहाज रोकिने ठाउँ । लाओसमा मेकङ्ग नदीको जस्तो होइन, साँच्चिकै पानीजहाज !

मनिलाको बन्दरगाहमा प्राचीनकालदेखि व्यापारिक पानीजहाजको आवत–जावत हुँदै आएको छ । प्रशान्त महासागरको पश्चिमी सीमामा अवस्थित फिलिपिन्सको सामरिक महत्व बुझेर नै अमेरिकी साम्राज्यवादी शक्तिले यहाँ कब्जा जमाएको थियो । मनिला बेमा विभिन्न सामुन्द्रिक लडाईंहरु भएको पनि इतिहासमा भेटिन्छ ।

यताउता घुमेर थकाई लागेपछि एक ठाउँमा पलेटी कसेर बसेँ । दिन ढल्दै गएपछि मानिसको चहल–पहल बढदै गयो । मनिला बेको किनारमा जगिङ्ग, साइक्लिङ्ग, व्यायाम गर्ने, डेटिङ्गमा आउनेदेखि घरबारविहिन मानिसको पनि चहलपहल हुने रहेछ । ठेलागाडामा खानेकुरा र सस्ता सामाग्री बेच्नेहरु उत्तिकै हुने रहेछन् ।

सूर्यास्त हुन लागेकोले समुन्द्रमा डुब्दै गरेको घामको फोटो खिच्दै थिएँ । भोक लागेर किनेको केही खानेकुरा छेउमा थियो । म आफ्नै सुरमा थिएँ । एक्कासी दुईतिरबाट सडक बालकहरुले मलाई झम्टिए । मैले झड्कार्दा दुईजना पछारिए । तिनीहरुले क्यामेरा खोस्न खोजेका थिए कि खानेकुरा, थाहा भएन । म त्यहाँबाट उठेर हिँडे । पहिलो दिन नै यस्तो छ, एक हप्ता मनिलामा कसरी बिताउने होला भन्ने मलाई चिन्ता लाग्यो ।

म पटक–पटक समुन्द्री किनारतर्फ डुल्न गएँ । भूपरिवेष्ठित देशको बासिन्दा भएर होला, समुन्द्री किनारमा टहलिँदा रमाइलो लाग्छ । त्यहाँ नजिकै बालुवाको किनार (बिच) छैन । किनारासम्म समुन्द्र गहिरिएको छ ।

एक दिन मेट्रो रेल चढेर अन्तिम स्टपमा ओर्लें । त्यहाँबाट गाडी चढेर मल अफ एशिया गएँ । त्यो सपिङ्ग मलहरुको एउटा छुट्टै नगर रहेछ । कुनै सपिङ्ग नगरे पनि कुनाकाप्चा घुमेँ ।

मनिलामा समुन्द्रको किनार नजिकै रिजाल पार्क छ । जोस रिजालको स्मृतिका यो पार्क बनाइएको थाहा पाएँ । तर, मैले जोस रिजालको नाम सुनेको थिइन । फिलिपिनो रिजाल को होला ? पार्क घुम्दा थाहा पाएँ– जोस रिजाल फिलिपिन्सको नेशनल हिरो रहेछन् । उनीसँग सम्बन्धित जानकारी तथा सामग्रीहरु पनि पार्कमा प्रदर्शन गरिएको छ । आँखाको डाक्टर जोस रिजाल, कवि तथा लेखक पनि रहेछन् । स्पेनी उपनिवेशविरुद्ध संघर्ष गर्दा उनी शहीद भएका रहेछन् । हाल पार्क भएकै ठाउँमा उनलाई ३५ वर्षको उमेरमा गोली हानी मृत्युदण्ड दिइएको रहेछ । पार्क निकै सुन्दर, सफा र व्यवस्थित छ । तर, त्यो दुखद कुरा थाहा पाउँदा मुटु ढक्क फुलेर आयो ।

स्वाधीनता संग्रामका महान शहीद जोस रिजाललाई मनमनै श्रदाञ्जली दिएर पार्कबाट निस्केँ ।

विश्वविद्यालय जस्तो बैंक

नेपालको विकाशमा सघाउँदै आएको एशियाली विकाश बैंकको मुख्यालय मनिलामै छ । छोटकरीमा एडीबी भनिने यस संस्थाको ऋण तथा अनुदानबाट नेपालमा सञ्चालित परियोजनामा मैले पनि सानोतिनो भूमिकामा संग्लन हुने मौका पाएको छु । विदेशी दातृनिकायको मान्छे भनेपछि नेपालमा उनीहरुको मानमनितो हुने नै भयो । मलाईचाँहि यी विदेशीहरु हाम्रा लागिभन्दा पनि आफ्नै लागि आएका हुन् जस्तो लाग्थ्यो । तिनीहरुको हेड अफिसमा कुनै दिन पुगुँला भन्ने मैले सोचेको थिइनँ । तीनदिने एउटा कार्यक्रममा सहभागी हुन म त्यहाँ पुग्दै थिएँ । कसैले मलाई खर्च दिएर पठाएको होइन, आफ्नै लहडमा गएको थिएँ ।

एडिबी भवनभित्र छिर्दा कुनै फाइभ स्टार होटलमा छिरेजस्तो लाग्यो । करिब ४० देशबाट आएका ३०० भन्दा बढी सहभागी रहेछन् । कार्यक्रमको विषय थियो– विकास परियोजना सञ्चालन गर्दा स्थानीय जनतालाई थातथलोबाट स्थानन्तरण र जीविकाको सवाल । नेपालमा मात्र गाह्रो होला भनेको त अरु देशमा पनि उस्तै समस्या रहेछन् । विभिन्न सहभागीहरुका अनुभव चाखलाग्दो थियो ।

नेपालबाट म बाहेक अन्य दुईजना सहभागी थिए । एकजना परिचित, हाल एडीबीमा कार्यरत नेपालीसँग पनि भेट भयो । उनलाई त्यहाँ देख्न पाउँदा मलाई गर्व लाग्यो । कार्यक्रम अवधिभर बेलायती समाजशास्त्री जोहन पिलग्रिमसँग बढी हेलमेल भयो । ८० वर्षे उमेरमा जोहनको सक्रिय सहभागिता देखेर मलाई ऊर्जावान बनिरहन प्रेरणा मिल्यो ।

एडीबीको मुख्यालयमा बैठक, सेमिनार, तालिम नियमित चल्दोरहेछ । जागिर दिएर राखेका विज्ञहरु पढ्ने, लेख्ने र नयाँ ज्ञान हासिल गर्ने काममा लागिरहँदा रहेछन् । तिनीहरुका लागि मुख्यालयभित्र आवास, क्यान्टिन, लाइब्रेरीलगायतको सुविधा हुँदोरहेछ । मलाई एडीबी भनेको साहूकार संस्था मात्र जस्तो लाग्थ्यो । त्यहाँ प्रोफेसरजस्ता मानिसहरुको बाहुल्य देखेँ । ‘आइडियाज रुल द वल्र्ड’ अर्थात विचारले संसारलाई सञ्चालन गर्छ भन्ने पढेको थिएँ । त्यसैले होला– पैसाको भकारी भएको एडीबीले ज्ञानलाई महत्व दिएको । समग्रमा, एडीबीको मुख्यालय बैंक होइन, विश्वविद्यालय जस्तो लाग्यो ।

जिपनीको जगजगी

मनिलाको सडकमा जिपनीको जगजगी रहेछ । हेर्दा क्लासिक मोडलको देखिने जिपनी प्रायजसो रातो र कुनै रंगीचंगी पनि हुने रहेछ । दोश्रो विश्वयुद्ध पश्चात अमेरिकनले छोडेका जीपलाई मोडिफाई गरी यात्रु बोक्न थालिएको रहेछ । त्यसैलाई जिपनी भनिदोँ रहेछ । सुविधाजनक नभए पनि, छोटो दुरीमा सस्तो भएकाले सार्वजनिक सवारीसाधनका रुपमा जिपनी लोकप्रिय रहेछ ।

मनिला शहरको उत्तर–दक्षिण मेट्रो रेल चल्छ । मेट्रो रेल चढ्ने हरेक यात्रुले स्टेशनमा एक्स रे चेकिङ्ग पार गर्नुपर्छ । यात्रुको झोला खोलखाल पारेर पुलिसले चेक गर्छ । मेट्रो रेलमा थामी नसक्नु भीड हुन्छ । त्यसमाथि चेकिङ्गले दिक्दार पार्छ । फिलिपिन्सका केही क्षेत्रहरुमा विगत लामो समयदेखि कम्युनिस्ट गुरिल्ला तथा मुस्लिम पृथकतावादीको सशस्त्र आन्दोलन चलिरहेको छ । तिनैको डर र अपराध नियन्त्रण गर्नका लागि यो चेकिङ्ग गरिएको होला ।

मनिलामा मेट्रो रेल भए पनि सार्वजनिक यातायात सहज छैन । यातायात पूर्वाधार थप गरे पनि जनघनत्वको बढदो चापले सार्वजनिक यातायात सहज र व्यवस्थित छैन । काठमाडौंमा पनि मेट्रो रेलको चर्चा चुलिएको छ । मेट्रो रेल बन्यो भने राम्रै होला, तर शहरी योजना बनाउँदा जनघनत्वको चापलाई विकेन्द्रित गर्नेतर्फ पनि ध्यान दिनुपर्ने हो कि जस्तो लाग्यो ।

एकपटक जिपनी चढदा ड्राइभरसँगैको अगाडि सिटमा झयालपट्टि बसेको थिएँ । ओलर्नुपर्ने ठाउँमा ड्राइभरलाई ईशारा गरेपछि जिपनीले जहाँ पनि रोकिदिन्छ । जिपनीलाई ट्राफिक नियमको बालै मतलब नहुने रहेछ ।

जिपनी रोकेर ओर्लन ढोका खोल्दा पछाडिबाट आइरहेको साइकल ड्याम्म ठोकिएर लड्यो । हत्त न पत्त साइकलबाट लड्ने मानिसलाई उठाउन खोज्दा ऊ निकै घाइते भएजसरी अररो पर्‍याे । बुढीऔंलामा सानो घाऊ लागेर अतिकति खुन आएको रहेछ । ब्यस्त सडकमा भीड जम्मा भैहाल्यो । फिलोपिनो पेसो एक सयको नोट उसको हातमा थमाएर बल्लबल्ल म त्यहाँबाट उम्कें ।

फिलिपिन्सको सडकमा दायाँ लेनको प्रचलन छ । हामी वाँया लेनमा अभ्यस्त भएका नेपालीले होशियार हुनुपर्ने रहेछ । कहिलेकाँही फुटपाथमा हिँड्दा पनि विपरीत दिशाबाट आएका मानिससँग ठोकिन्छ ।

सरकारले जिपनीलाई मनिलाबाट फेज आउट गर्न खोज्दा कडा आन्दोलन भएछ । अहिले पनि विरोधस्वरुप जिपनीले कालोझण्डा फर्फराएका थिए । कसैले नो फेज आउट लेखेका थिए ।

अमेरिकी शिक्षा

फिलिपिन्स भ्रमणमा मेरो चासोको विषय यहाँको शिक्षा प्रणाली पनि थियो । काठमाडौंको चौकचौक, गल्लीगल्लीमा विदेश अध्ययनको विज्ञापन देख्न पाइन्छ । पत्रपत्रिकामा छ्यापछ्याप्ती विज्ञापन आइरहेको हुन्छ । त्यस्ता विज्ञापनमा फिलिपिन्स पनि लेखिएको देख्थेँ । त्यसैले फिलिपिन्सका कलेज, विश्वविद्यालय, शैक्षिक गुणस्तर, पढाई खर्च कस्तो रहेछ भनेर जान्न म उत्सुक थिएँ ।

फिलिपिन्समा सन् १६११ मा पहिलो विश्वविद्यालय स्थापना भएको रहेछ । फिलिपिन्सको शैक्षिक विकासमा क्रिश्चियन मिसनरीको योगदान रह्यो । अमेरिकी शासनकालमा आएर अमेरिकी शैक्षिक प्रणाली अपनाइयो । फिलिपिन्सको साक्षरता दर ९५ प्रतिशत रहेछ । अधिकाँश फिलिपिनोले अंग्रेजी भाषा बुझछन्, बोल्छन् । वास्तवमा फिलिपिन्सलाई अंग्रेजीभाषी देशभन्दा फरक पर्दैन ।

म बसेको ठाउँ नजिक मलाते  डे स्याले विश्वविद्यालयको पुरानो शैलीको विशाल भव्य भवन थियो । फिलिपिन्समा विश्वविद्यालय र कलेज गरी दुई हजार भन्दा बढी शैक्षिक संस्था रहेको थाहा पाइयो । विश्वविद्यालय पनि आईएसओ सर्टिफाइड हुँदारहेछन् भन्ने पनि मैले फिलिपिन्सबाटै थाहा पाएँ ।

एक साँझ मेडिकल साइन्समा मास्टर्स गर्दै गरेका दुई नेपाली युवा डाक्टरसँग मेरो भेटघाट भयो । उनीहरुका अनुसार मनिलामा करिब १५० जना नेपाली विद्यार्थी अध्ययनरत छन् । मनिलाजस्तो ठूलो शहरमा अलिक महङ्गो हुने भएकाले फिलिपिन्सका अन्य ठाउँहरुमा धेरै नेपालीहरु अध्ययन गरिरहेको पनि ती डाक्टर भाइहरुले बताए । फिलिपिन्समा करिब २ हजार नेपाली विद्यार्थीहरु हाल अध्ययनरत रहेको अनुमान रहेछ ।

खासगरी नेपाली विद्यार्थी मेडिकल पढ्न फिलिपिन्स आउँछन् । गुणस्तरीय शिक्षा, कम खर्चिलो र सहज भिसा प्रक्रियाले फिलिपिन्समा विद्यार्थी आकर्षित हुँदा रहेछन् । तर, मेडिकल पढ्न आउनेले मेडिकल काउन्सिल, शिक्षा मन्त्रालयलगायतका प्रक्रिया पूरा गरेर आउनुपर्ने रहेछ । नेपालमा मेडिकल पढ्न एकैपटक शुरुमै ठूलो रकम बुझाउनुपर्छ । तर, यता सेमेस्टर अनुसार अलिअलि गरेर पैसा बुझाउन मिल्ने र शुल्क पनि नेपालीको भन्दा आधा नै सस्तो रहेको बुझियो ।

तर, कन्सल्टेन्सीको फन्दामा परेर नेपाली विद्यार्थी ठगिन्छन् पनि । त्यसैले कन्सल्टेन्सीको चक्करमा पर्नुभन्दा सोझै कलेजमा सम्पर्क गर्नु वेश हुन्छ । फिलिपिनो कन्सुलेटमा अन्य आवश्यक कुरा जानकारी लिन सकिन्छ ।

मेडिकल मात्र होइन अन्य विषय पढ्नलाई पनि फिलिपिन्स उत्तम गन्तव्य हो । नेपालमा अहिले विदेशमा पढ्न जाने फेशन नै भएको छ । नेपालमै विकल्प हुँदाहुँदै पनि छोराछोरीले अभिभावकलाई विदेश पढछु भनेर हत्ते गर्छन् । कलेज शुल्क सस्तो, खान बस्न काठमाडौंको हाराहारीमा खर्च, भात खाने चलन, रमणीय प्राकृतिक ठाउँ र हावापानी नेपाली विद्यार्थीका लागि अनुकुल पक्ष हो । मेरो फिलिपिन्स भ्रमणमा त्यहाँको शिक्षाबारे यही बुझाइरह्यो ।

महामहिम राष्ट्रपति

अस्कलमा आईएस्सी पढ्दाका एकजना सहपाठीसँग धेरैपछि भेट हुँदा उनले तिमी त फिलिपिन्सको तत्कालीन राष्ट्रपति जोसेफ इस्ट्राडा जस्तै देखिन्छौ भनेको थियो । राष्ट्रपतिजस्तो व्यक्तित्वसँग दाँजेकोमा त्यो साथीलाई प्रत्युत्तरमा धन्यवाद दिएको थिएँ । मैले भ्रमण गर्दा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतोर्ते थिए, हाल पनि छन् ।

वकालत पेशाबाट राजनीतिमा आएका डुतोर्तेको राष्ट्रवादी छवि रहेछ । फिलिपिन्सको डभाओ शहरमा मेयर हुँदा अपराधी र लागूऔषध कारोबारीप्रति निर्मम कार्वाही चलाएर उनी लोकप्रिय भएका रहेछन् ।

राष्ट्रपति भएपछि डुतोर्तेले अपराधी र लागूऔषध कारोबारीको सफाया गर्ने देशब्यापी अभियान चलाएका छन् । म गएका बेला डुतोर्तेको राष्ट्रपतिकाल आठौं महिनामा चलिरहँदा करिब ७ हजार अपराधी र लागूऔषध कारोबारीलाई इन्काउन्टर गरी मारिसकिएको थियो ।

म नयाँ ठाउँ घुम्न जाँदा पाएसम्म स्थानीय पत्रिका किनेर पढछु । मनिलाको स्थानीय पत्रिकामा इन्काउन्टर गरिएका समाचार दिनहुँ हुन्थे । गुगलेश्वर महादेवलाई सोध्दा थाहा पाएँ– अपराधी तथा लागूऔषध कारोबारीको सफाया अभियान फिलिपिन्समा जारी छ । अहिले ती मारिनेको संख्या १३ हजार पुगेको रहेछ ।

अमेरिकी संविधानको अनुशरण गरिएको फिलिपिन्समा राष्ट्रपति नै राज्य प्रमुख, सरकार प्रमुख र सेनाको सर्वोच्च कमाण्डर हुन्छ । जनताको प्रत्यक्ष मतबाट कार्यकारी राष्ट्रपति चुनिन्छ, ६ वर्षका लागि । तर, कुनै व्यक्ति एकपटक भन्दा बढी राष्ट्रपतिमा चुनिन पाउँदैन ।

फिलिपिन्समा सानातिना राजनीतिक आन्दोलन, धर्ना, हडताल भैराख्छ । त्यसैले होला, एयरपोर्टको प्रवेशद्वारमै लेखिएको मैले देखेको थिएँ– विदेशी पर्यटकले यहाँको राजनीतिक कार्यक्रममा सहभागी नहुनु, अन्यथा कडा कार्वाही हुनेछ ।

फिलिपिन्समा लागूऔषधको साँच्चै समस्या रहेछ । चकलेटजस्तो जहाँतहीँ किनबेच हुने । डुतोर्तेको अभियानपछि कमी आएको रहेछ । तर, गैरन्यायिक हत्याको मानवअधिकारवादीबाट विरोध पनि भैरहेको थियो । विरोध गर्ने विपक्षी सिनेटर लैला डि लिमालाई पक्राउ गरिएको समाचार टेलिभिजनको ब्रेकिङ्ग न्यूजमा पढेँ ।

डुतोर्तेलाई मानवअधिकार हननसम्बन्धी देशविदेशबाट आरोप तथा दबाव आउने गरेको रहेछ । उमेर ७० वर्ष कटेका भए पनि डुतोर्ते कसैको पर्वाह नगर्ने र कडा स्वाभावका । यत्तिसम्म कि डभाओमा मेयर हुँदा ध्रुमपान निषेधित स्थानमा चुरोट खाने पर्यटकलाई चुरोटको ठुटा टिपेर चपाउन लगाएका रहेछन् । यस्ता कुराले झन उनको लोकप्रियता बढेको रहेछ । त्यसैले सन् २०१६ को चुनावमा डुतोर्ते राष्ट्रपति बन्न सफल भएका रहेछन् ।

लागूऔषध कारोबारी, हत्यारा, बलात्कारी, डकैती जस्ता संगीन अपराध गर्नेलाई मृत्युदण्ड दिने कानून बनाउनुपर्छ भन्ने उनको चुनावी मुद्दा नै रहेछ । डुर्तोतेले आफ्ना भ्रष्ट कर्मचारीलाई तह लगाउन पनि कदम चालेका रहेछन् ।

फिलिपिन्सको आन्तरिक राजनीतिमा विगत लामो समयदेखि अमेरिकी प्रभाव छ । विगतका फिलोपिनो राष्ट्रपतिहरु भन्दा फरक रवैया अपनाउँदै डुतोर्ते चाँहि चीन र रुसतिर फर्किएका छन् । उनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई अश्लील गाली गर्नसमेत समेत बाँकी राखेनन् ।

ड्रग वारमा गैरन्यायिक हत्या भएको विषयमा ओबामाले छलफल गर्न खोज्दा डुतोर्ते बिच्किएका रहेछन् । उनको जवाफ थियो– म अमेरिकी कठपुतली होइन, म आफ्ना जनताबाहेक कसैप्रति जवाफदेही छुइनँ । आखिर पछि ओबामा र डुतोर्तेबीच अनौपचारिक भेटघाट भएछ । जथाभावी बोल्दा अन्य धेरै विषय÷प्रसङ्गमा पनि उनी आलोचित भएका रहेछन् ।

महामहिम राष्ट्रपति डुतोर्तेबारे जानकारी बटुल्दै जाँदा उनी सच्चा देशभक्त नेता हुन् भन्ने मैले बुझेँ । तर, फरकखालको उनको शैली छ । उनी सरप्राइज भिजिटमा पनि निक्लँदा रहेछन् । मनिला बसुन्जेल डुतोर्तेसँग जम्काभेट त हुने होइन भन्ने मलाई कताकता लागिरहन्थ्यो !

मस्तराम जिन्दगी

मनिलाको सडकमा डुल्दा प्रायः जतासुकै चर्को संगीत बजेको सुनिन्थ्यो । ठेलागाडामा व्यापार गर्नेले पनि म्युजिक घन्काएकै हुन्थ्यो । फुटपाथका मगन्ते समेत कानमा ईयरफोन लगाएर संगीतमा झुमिरहेका देखिन्थे । संगीत सबैलाई मनपर्ने विषय हो । तर, प्रायः फिलिपिनोलाई संगीत बेगर भात नै रुच्दैन रहेछ ।

वास्तवमा फिलिपिनो जीवनशैली बुझ्दै जाँदा कमाऊ, खाऊपिऊ, मोज गर भन्ने मान्यतालाई अंगीकार गरेजस्तो लाग्यो । पैसा हुन्जेल खर्च गर्ने, भोलिलाई नसोच्ने । टाट भएपछि आफूसँग भएको सबै बेच्ने, यहाँसम्म कि कतिले त आफ्नै शरीर पनि । सुनचाँदीका गरगहना, पेन्सनपट्टा आदि धरौटी राखेर ऋण सापटी दिने धन्दा पनि राम्ररी चलेको देखियो ।

एक करोडभन्दा बढी फिलिपिनो नागरिक वैदेशिक रोजगारका लागि संसारभरि पुगेका छन् । तिनीहरुले सन् २०१६ मा २७ अर्ब अमेरिकी डलर रेमिटेन्स पठाएको तथ्यांक रहेछ । फिलिपिन्सको अर्थतन्त्रमा रेमिटेन्सको महत्वपूर्ण हिस्सा छ । जब अर्थतन्त्र रेमिटेन्समुखी हुन्छ, त्यसको सामाजिक दुष्प्रभाव देखिन्छ । उपभोक्तावादी संस्कृतिले प्रश्रय पाउँछ । अमेरिकी प्रभावले पनि होला, फिलोपिनोहरु सकेसम्म मीठो खाने, राम्रो लाउने, भोलिको चिन्ता नगर्ने मस्तराम जिन्दगी बाँच्दा रहेछन् भन्ने मलाई अनुभूति भयो ।

नेपालको अर्थतन्त्र पनि रेमिटेन्समा टिकेको छ । लोग्नेले विदेशमा तरतरी पसिना चुहाएर कमाएको पैसाले, यता श्रीमती पार्टी प्यालेसमा तीजको दर खाएर नाच्ने संस्कार हुर्कंदै गएको छ । रेमिटेन्सको पैसा उपभोगमा नै सकिने गरेको छ ।

नेपाल सरकारको जस्तै फिलिपिन्स सरकारले वैदेशिक रोजगारमा नागरिकलाई प्रोत्साहित गर्ने नीति लिएको रहेछ । मलाई लाग्छ– रेमिटेन्समा निर्भर मस्तराम फिलिपिनो प्रवृतिजस्तै नेपाली समाज पनि त्यही दिशातर्फ अघि बढिरहेको त छैन ?

प्रगतिमा चुकेको देश

कुनैबेला छिमेकी मुलुकहरुको तुलनामा फिलिपिन्स विकसित र समृद्ध मुलुक मानिन्थ्यो । त्यसैले नै फिलिपिन्सलाई पूर्वको मोती भनिएको हो । तर, जापान, कोरिया कहाँबाट कहाँ पुगे, अन्य छिमेकी देशहरु पनि प्रगतिपथमा लम्किए भने फिलिपिन्सचाहिँ चुक्यो ।

भियतनाम र फिलिपिन्सको क्षेत्रफल र जनसँख्या झण्डै बराबर जस्तो छ । सन् २०१६ मा भियतनामले १७६ अर्ब डलरको वस्तु विदेश निर्यात गर्दा फिलिपिन्सले ५६ अर्ब डलरको निर्यात गरेको रहेछ । फिलिपिन्सको करिब एक चौथाई जनता गरिबीको रेखामुनि रहँदा भियतनाममा ८ प्रतिशत जनता गरिब छन् । यो तथ्यांकले आसियान क्षेत्रमा फिलिपिन्सको अवस्था दर्शाउँछ ।

देश किन बनेन भनेर नेपालमा चर्चा हुन्छ । जापान, कोरियाको उदाहरण दिइन्छ । तर, फिलिपिन्सजस्तो प्रगतिमा चुकेको देशबाट पनि हामी शिक्षा लिन सक्छौं । उपनिवेश शासन अलि पुरानो कुरा भैसक्यो, त्यसलाई खासै दोष जाँदैन ।

स्पेनिश लगायत अन्य यूरोपियनहरु मूलतः व्यापारी थिए । व्यापारमा एकाधिकार कायम गर्न उनीहरुले स्थानीय शासनसत्ता कब्जा गरे, श्रोतसाधन दोहन गरे, सम्पत्ति आफनै मुलुक लगे ।

समयले कोल्टे फेरेपछि उनीहरुको उपनिवेश सकियो । अमेरिकनहरु आए, दोश्रो विश्वयुद्ध भयो, समयले फेरि कोल्टे फेर्‍याे ।

सन् १९४६ मा फिलिपिन्स स्वतन्त्र भयो । त्यसपछि के उसले गर्‍याे त ?

स्वतन्त्रताको लगत्तै फिलिपिन्सले प्रगतिको बाटो समात्न खोजेको रहेछ । तर, सन १९६५ मा फर्डिनान्ड मार्कोस चुनाव जितेर सत्तामा आएपछि भ्रष्ट तानाशाहीले २१ वर्ष फिलिपिन्सलाई गाँज्यो । मार्कोसले भ्रष्टाचार गरेको अर्बौ डलर विदेश लगेर थुपारे । भ्रष्टाचार संस्थागत भयो ।

मार्कोसपछि चुनावबाट राष्ट्रपतिहरु फेरिए । तर, पूर्वाधार विकास र औद्योगिकीकरणतर्फ देश अघि बढेन । जनता निराश भए । युवा विदेशिए । उत्पादन वृद्धि भएन । देश परनिर्भर बन्यो ।

सबैभन्दा ठूलो कुराचाँहि फिलिपिन्समा नैतिक मूल्यमान्यताको गिरावट भएछ । नैतिक मूल्य मान्यतामा गिरेको समाजले प्रगति गर्न नसक्ने रहेछ । भ्रष्टाचार र कुशासन भन्नु नै नैतिक मूल्यहीनताको क्रियात्मक रुप हो ।

विकास र समृद्धि दुईचार दशक अर्थात एकै पुस्तामा सम्भव छ भन्ने अन्य देशहरुले प्रमाणित गरिसके । देशभक्तिपूर्ण उच्च नैतिक मूल्यमान्यताले मात्रै देशमा विकास र समृद्धि ल्याउन सक्छ । नेतृत्व पनि त्यही समाजबाट जन्मिने हो । यसैकारणले पूर्वको मोती भनिने फिलिपिन्स अहिले कौडीमा परिणत भएको छ ।

नेपाल किन बनेन भन्ने विषयमा यो दृष्टान्त लागू हुन सक्छ । अरु कसैलाई दोष दिनुभन्दा आफूले आफैंलाई जिम्मेवार ठहराएर सुध्रिन सक्यौं भने मात्रै देश सुध्रन्छ भन्ने फिलिपिन्सबाट शिक्षा लिन सकिन्छ ।

यो पनि पढ्नुहोस्

भूपरिवेष्ठित देश लाओसमा पानीजहाज

भियतनामः नीलो ड्रागनको देशमा डुल्दा

 

लेखकको बारेमा
मिलन मनुवा दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?