Comments Add Comment

गाउँमै अगरबत्ती बनाउँदै सखुवा प्रसौनीका महिला

सानो उद्योगकै रुपमा विकास गर्ने तयारी

२५ साउन, वीरगञ्ज । सीप नहुँदा पर्साको सखुवा प्रसौनी गाउँपालिका-२ की प्रेमा देविराम फुर्सदको समयमा त्यसै बस्दै आएकी थिइन । तर, पछिल्लो समयमा उनको व्यस्तता बढेको छ । किनकी उनको हातमा सीप छ । त्यो पनि आयमुलक । अगरबत्ती बनाउने सीप सिकेपछि उनको दैनिकी फेरिएको छ ।

प्रेमादेविको गाउँका महिला फुर्सदको समयमा भेला भएर कुराकानी मात्रै गर्दैनन् । अगरबत्ती बनाएर बेच्छन् । प्रेमा जस्तै आयमुलक सीप सिकेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिका दिलित, विपन्न एवं पछाडि परेका समुदायको महिलामा उत्साह देखिएको छ । सामहिक रुपमा अगरबत्ती बनाउँदा कुराकानीसँगै काम पनि भईरहेको बताउँछिन्, प्रेमा देवी ।

‘१२ सयको समान किनेर ल्याएका थियौं, सबै मिलेर बनायौं, १८ सयको बिक्रि भयो । तर अझै मसला बाँकी नै छ,’ उनले भनिन्, ‘पढ्न जाने छोरा छोरीको टिफिनका लागि १०/२० रुपैयाँ दिन सकिन्छ, टिका चुरा किन्नका लागि श्रीमानसँग पैसा माग्नु पर्दैन ।’

उनीहरुले बनाउने गरेको अगरबत्ती स्थानीय स्तरमै बिक्री हुने गरेको छ । एक दर्जन वटा प्याकेट मिलाएर बनाइएको एक लहरी १ सय २० रुपैयाँमा बिक्री हुने गरेको समूहमै आवद्ध संगीता देवीले बताइन् । ‘सबै काम गरेर एक घण्टा बस्दा पनि १ सय वटा भन्दा बढी नै बन्छ । दिनभर बस्दा धेरै बनाउन सकिन्छ,’ उनले भनिन्, ‘घरको काम पनि हुन्छ, आय आर्जन पनि भईरहेको छ । एकदमै लाभदायक देखिएको छ ।’

गाउँका पाँच जनाले तालिममा सिकेर आएपछि उनीहरुले गाउँ घरका अरु १५ जना महिलालाई अगरबत्ती बनाउन सिकाइसकेका छन् । त्यति मात्रै नभएर परिवारको एक सदस्यले सिकेको भएपनि घरका सदस्य सबैले अगरबत्ती बनाउन थालेका छन् ।

गढीमाई नागरिक सचेतना केन्द्रकी लक्ष्मीदेवि चौधरी घरको काम गर्ने महिलाहरुलाई अगरबत्ती बनाउने तालिम लाभदायक देखिएको बताउँछिन् । ‘घरको काम पनि हुन्छ, अगरबत्ती बनाउने काम हुन्छ । अगरबत्ती बनाएर गाउँघरमै बेचिन्छ,’ उनले भनिन्, ‘छोराछोरीसँग पैसा माग्छन्, श्रीमानसँग पैसा माग्न जाँदा दुईचार वटा कुरा सुन्नुपर्ने हुन्छ । हरदम कहाँबाट पैसा दिन्छन् । हामी त स्वरोजगार भएका छौं । त्यसैबाट समस्या टरिरहेको छ ।’

बेलायत सरकारको सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको सामुदायिक विकास कार्यक्रम सिडपीले पर्सा जिल्लामा २ सय ६१ नागरिक सचेतना केन्द्र गठन गरेको छ ।

प्रत्येक समूहलाई १/१ लाख दिएर आयआर्जनका कामहरु गर्न प्रोत्साहन गरेको छ । सीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ । सोही क्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नं २ का ३१ जना र धोविनी गाउँपालिकामा ३० जनालाई अगरबत्ती बनाउने तालिम दिएको हो । तालिमपछि महिलाहरु स्वरोजगार बनुन भन्ने उद्देश्यले संस्थाले स्टिक, जिंक पाउडर, आरा, प्लाष्टिक सिलर मेशिन प्रदान गरेको छ ।

सामुदायिक विकास कार्यक्रम पर्सा जिल्ला संयोजक शोभा महतो उत्साहित महिलाहरुलाई गाउँपालिकाबाट सहयोग दिलाउने प्रयास भईरहेको बताइन् । ‘ अगरबत्ती बनाउने तालिममा सहभागी महिला दिदिबहिनीहरु निकै नै उत्साहित देखिएका छन्,’ उनले भनिन्, ‘उनीहरुको उत्साह थप बढाउनका लागि गाउँपालिकासँग समन्वय भइरहेको छ । यसलाई सानो उद्योगको रुपमा दर्ता गरेर गाउँपालिकाको नाममा अगरबत्ती निकाल्नेबारे छलफल भईरहेको छ ।’

महिला समूहको सक्रियतालाई देखेर गाउँपालिका कार्यालयले समेत सहयोग गर्ने आश्वासन दिएको छ । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जयसवालले महिला सशक्तिकरणका लागि गाउँपालिका तत्पर रहेको बताए । ‘२ नं वडाका महिला दिदिबहिनीहरुले अगरबत्ती बनाएर बेच्दै हुनुहुन्छ । त्यो राम्रो काम हो । उहाँहरुलाई आवश्यक सहयोग गर्ने वाचा मैले दिएको छु,’ उनले भने, ‘अगरबत्ती बनाउन जे जे चाहिन्छ, उद्योग नै स्थापना गर्ने भएपनि गाउँपालिका सहयोग गर्न तयार छ, तयारीे अगरबत्ती किन्ने र बिक्रि गर्ने जिम्मा पनि गाउँपालिकाले नै लिन्छ ।’

उनले महिला सशक्तिकरणका लागि गाउँपालिकाले विशेष कार्यक्रम ल्याउन आवश्यक वजेट नै विनियोजन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment