Comments Add Comment

क्रिकेट विवाद : मुद्दा फिर्ता लिन र तदर्थ समिति भंग गर्न स्वतन्त्र समूहको आग्रह

२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघको चुनाव गराउने जिम्मेवारी पाएको स्वतन्त्र समितिले काम थालेको छ ।

सोमबार काठमाडौंमा बसेको स्वतन्त्र समूहको पहिलो बैठकले आफ्नो कार्यादेश (टीओआर) पनि बनाएको छ ।

स्वतन्त्र समितिमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट आन्तरिक लेखा प्रमुख मुहम्मद अली अस्लाम, स्ट्राजेटिक प्रोजेक्ट्स अमर शेख र फाइनान्स र अप्रेसन अफिसर-एसिया नितिशा कोथारी छन् भने तत्कालीन निर्वाचित क्यानबाट ठाकुरप्रताप (रइस) थापा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एलबी थापा छन् ।

समितिका सबै सदस्य क्रिकेटमा देखिएका गतिरोध फुकाउन सहमत भएको सदस्य एलबी थापाले जानकारी दिए ।

बैठकले निर्वाचित क्यानलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता दिन र राखेपलाई तदर्थ समिति भंग गर्न आग्रह गरेको छ । क्रिकेट संघको चतुरबहादुर चन्द नेतृत्वको समूहले चुनाव गरेपछि राखेपले त्यसलाई बैधानिकता दिन अस्वीकार गर्‍यो र विनयराज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाएको थियो ।

त्यसविरुद्ध चन्द समूह सर्वोच्चमा गयो । यो मुद्दा अझै विचाराधीन छ । तर, यही विवादले उग्र रुप लिँदा आईसीसीले झण्डै २५ महिना अगाडि नेपाल क्रिकेट संघलाई निलम्बन गर्‍यो । यद्यपि पछिल्लो समय आईसीसी पहलमा नयाँ विधान बनेर त्यसअनुसार नेतृत्व चयनका लागि स्वतन्त्र समितिले बनेर काम थालिएको छ ।

समितिले चुनाव भएका ३७ जिल्लाबाट कागजपत्र मगाएको छ । सोमबारको बैठकले यसको चेकलिस्ट बनाउन कानुनी सल्लाहकारलाई दिएको छ । ‘प्रमाण पुगेर आएको छ भने स्वीकार हुन्छ । पुगेको छैन भने अस्वीकार हुन्छ’ सदस्य रइस थापाले भने, ‘१०/१५ दिनमा चेकलिस्ट बनेपछि समितिको अर्को बैठकमा पेश हुन्छ ।’

यो अवधिमा नै मुद्दा फिर्ता र तदर्थ समिति भंग गर्नुपर्ने समितिको निर्णय छ । साथै समितिको आगामी बैठकले चेकलिस्टका आधार कुन जिल्लामा पुनः चुनाव गर्ने नगर्नेबारे निर्णय लिनेछ ।

क्रिकेट संघको ३९ जिल्ला मध्ये ३७ मा आईसीसीले स्वीकार नगरेको दोस्रो संशोधनअनुसार नै चुनाव भएको छ ।

तर, तेस्रो संशोधनमा सदस्यताको मापदण्ड नै हेरफेर भएकाले कुन मापदण्डलाई आधार मान्ने भन्ने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment