Comments Add Comment

निशान अपहरण काण्डले झस्किएको प्रहरीलाई बालक अपहरणको ‘फेक’ सूचना

२९ साउन, काठमाडौं । काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको हत्या भएको घटनाले झस्किएको प्रहरीमा सोमबार बिहानै अर्का बालक अपहरणको खबर आयो ।

यसले प्रहरीमा ठूलै खैलाबैला मच्चियो । प्रहरीले बिहान १० बजे सूचना पाएको थियो, ‘तनहुँको शुक्लागण्डकीबाट काठमाडौं आएकी सीता महतको ९ वर्षीय छोरा अपहरणमा परे ।’

यो उजुरी सबैभन्दा पहिले महानगरीय प्रहरी वृत्त, बौद्धमा परेको थियो । लगत्तै, बौद्धका डिएसपी श्यामकुमार राईले माथिल्लो निकायमा खबर गरे । जाहेरी दिने क्रममा महिलाले भनेकी थिइन्, ‘गाडीमा आउँदा एउटै सिटमा बसेर आएका एक व्यक्तिले छोरा सिद्धान्तलाई गायब बनाए ।’

गाडीमा चिनजान भएको र बसपार्कमा झरेपछि छोरा, झोला र मोबाइल जिम्मा लगाएर शौचालय गएको बताएकी थिइन् । ‘फर्किएर आउँदा न त त्यहाँ छोरा थिए, न त ती व्यक्ति नै’, महिलाले दिएको जाहेरीमा भनिएको थियो, ‘झोला र मोबाइल पनि तिनै व्यक्तिले लगे ।’

वृत्तका एक अधिकारीका अनुसार महिलाले आफू अदालतमा अंश मुद्दा भएकाले काठमाडौं आएको समेत बताएकी थिइन् । आफूले छोरा र झोला हेर्न लगाएको व्यक्ति जोरपाटी मेडिकल कलेजमा काम गर्ने भएकाले उजुरी गर्न बौद्ध प्रहरीमा आएको उनको भनाइ थियो ।

डिएसपी राईले रिपोर्ट गर्न साथ काठमाडौं प्रहरी परिसरबाट अनुसन्धानका लागि प्रहरी परिचालित भए ।

गम्भीर प्रकृतिको घटना भएकाले महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली पनि केहीवेरमै बौद्ध वृत्त पुग्यो । महाशाखा सक्रिय भएपछि परिसरको टोली ‘ब्याक’ भयो ।

तर, अनुसन्धान थालेको केहीबेरमै ट्वीस्ट आयो । महाशाखा प्रमुख धिरजप्रताप सिंहका अनुसार सीतालाई टेकुमा ल्याएर सोधपुछ गर्दा जाहेरीमा उल्लेख गरिएको विषयसँग उनको कुरा मेल खाएन ।

यद्यपि, तत्कालै घटनाबारे निष्कर्षमा पुग्नु हतारो हुने महसुस गर्दै प्रहरीले थप अनुसन्धान जारी राख्यो । ‘मोबाइल ट्रयाक गर्ने प्रयास गर्‍यौं । एउटा नम्बरमा अझै फोन गइरहेको थियो’, सिंहले अनलाइनखबरसँग भने, ‘त्यसपछि महिलाको भनाइमा हाम्रो विश्वास क्रमशः घट्दै गयो ।’

महिलाले अंश मुद्दाका लागि काठमाडौं आएको बताएका कारण श्रीमानले नै बच्चा लगेको हुन सक्ने आंशका गर्‍यो । तर, साँझ एक जना यस्ता व्यक्ति फेला परे, जसले घटनाको सम्पूर्ण गुत्थी सुल्झाइदिए ।

‘अनुसन्धानका क्रममा पीडित भनिएकी महिलाको आफन्तलाई फेला पार्‍यौं । जसलाई भेटेपछि हाम्रो अनुमानलाई धेरै हदसम्म सही देखायो’ सिंह भन्छन्, ‘उनले महिलाको मानसिक सन्तुलन ठीक नभएको बताउँदै औषधी समेत प्रयोग गरिरहेको हामीलाई जानकारी गराए ।’

लगत्तै, प्रहरी महिलाको टोखास्थित कोठामा पुग्यो । जहाँ ‘अपहरित’ भनिएका बालक खेल्दै गरेका भेटिए ।

त्यतिञ्जेलमा रातिको ८ बजिसकेको थियो । यसअघि २४ साउनमा पनि छोरा अपहरणमा परेको भनेर गलत सूचना दिने बाबु कपनका राकेश विष्ट पक्राउ परेका थिए ।

उनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको थियो । तर, यो घटनामा महिलाको मानसिक सन्तुलन ठीक नभएको पुष्टि भएकाले उनीमाथि मुद्दा नचालाइने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment