+
+
Shares

मोदीलाई भेट्दा ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३० गते ११:५३

३० साउन, काठमाडौं । आफ्नो गैरजिम्मेवार अभिव्यक्तिको कारणले बारम्बार विवादमा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको पनि उच्चारण बिगारेर बोलेको खुलासा भएको छ ।

राजनीतिक समाचार प्रकाशन गर्ने अमेरिकी पोर्टल पोलिटिकोले यस्तो खुलासा गरेको हो । पोलिटिकोका अनुसार ट्रम्पले गत वर्ष भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि तयारीको क्रममा नेपालको उच्चारण बिगारेर ‘निप्पल’ भनेका थिए ।

पोलिटिकोले गत सोमबारमा प्रकाशित गरेको रिपोर्टमा ट्रम्पले मोदीसँग ह्वाइटहाउसमा भएको भेटमा नेपालको नक्सा हेरेर नाम उच्चारण गर्ने क्रममा ‘निप्पल’ भनेको स्रोतलाई उद्धृत गर्दै लेखिएको छ । जसले अर्कै अर्थ दिन्छ ।

त्यस्तै, उनले अर्को दक्षिण एसियाली देश भुटानलाई भने ‘बटन’ भनेको पनि पोलिटिकोले उल्लेख गरेको छ ।

उनले केही समय हाइटी, एलसाल्भाडोर र केही अफ्रिकी देशहरुलाई इंगित गर्दै ‘सिटहोल’ भनेका थिए । जसले धेरै विवाद निम्त्याएपछि उनले ट्विटरबाट माफी मागेका थिए ।

सोमबार प्रकाशित पोलिटिकोको रिपोर्टमा ट्रम्पको कुटनीतिक त्रुटीहरुको सूची नै राखिएको छ । जसमा उनको अजिब हर्कतहरु र भद्दा चुटकिलाहरु पनि समावेश छन् ।

उनले एकपटक भारतीय प्रधानमन्त्री मोदीको लागि आफूले जोडी खोजिदिने भनेर पनि व्यङ्ग्य गरेका थिए । उनले एक अवसरमा हिन्दी लवजको नक्कल गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मजाक समेत उडाएका थिए ।

त्यस्तै उनले धेरै विश्व नेताहरुलाई मध्यरातमा फोन गर्ने गरेको पनि स्रोतलाई उल्लेख गर्दै पोलिटिकोले लेखेको छ ।

ट्रम्प निकट स्रोतलाई उद्धृत गर्दै पोलिटिकोले लेखेको छ, ‘कसैलाई फोन गर्न मन लागेमा उनी तत्कालै फोन लगाउँछन्, उनी समय कति भएको छ वा कसलाई फोन गर्दैछु भन्ने कहिल्यै पनि सोच्दैनन् ।’

ह्वाइट हाउसका एक अधिकारीले भने ट्रम्पले कहिल्यै पनि नेपाल र भुटानको उच्चारण नबिगारेको दाबी गरेका छन् । राष्ट्रिय सुरक्षा परिषदका एक अधिकारीले पनि ट्रम्पले आफूलाई उच्चारण गर्न नआउने शब्द र नामहरुलाई त्यत्तिकै छोडिदिने बताएका छन् ।

तर, बैठकमा उपस्थित अरुले भने ट्रम्पले नेपाल र भुटानको नाम उच्चारण गर्दा त्रुटी मात्रै नभएको बताएका छन् । पोलिटिकोका अनुसार उनीहरुले राष्ट्रपतिलाई नेपाल र भुटान कहाँ छन् भन्ने बारेमा पनि थाहा नभएको बताएका छन् ।

‘उनले यी दुवै भारतको हिस्सा होलान् भनेर सोचेका थिए,’ बैठकको बारेमा जानकारी दिँदै एक व्यक्तिले भने, ‘उनलाई यी अन्य देशको बिचमा यो के चीज हो भन्ने लागेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?